अर्बपति हिन्दुजा परिवारमाथि मानव तस्करीको मुद्दा: कामदारलाई भन्दा धेरै खर्च कुकुरलाई



युकेको सर्वाधिक धनी भनेर चिनिएका भारतीय मूलका हिन्दुजा परिवारका सदस्यहरुमाथि शोषण र मानव तस्करीको मुद्दा जेनेभामा चलिरहेको छ । विभिन्न ११ क्षेत्रमा लगानी गरेका हिन्दुजा दाजुभाइहरुको सम्पत्ति १ सय अर्ब डलर सम्पत्ति छ । भारतबाट इरान हुँदै बेलायत पुगेर अन्तर्राष्ट्रिय स्तरमा व्यवसाय फैलाएका हिन्दुजा परिवार को हुन्?

एजेन्सी । बेलायतको सर्वाधिक धनी हिन्दुजा परिवारका चार सदस्यहरुमाथि स्विजरल्याण्डको जेनेभामा मुद्दा चलिरहेको छ । उनीहरुले आफ्ना घरेलु कामदारका लागि भन्दा धेरै पैसा कुकुरलाई खर्च गरेको भन्दै उनीहरुमाथि मुद्दा दायर भएको हो ।

हिन्दुजा परिवारको सम्पत्ति करिब ४७ अर्ब डलर रहेको बताइन्छ । उनीहरुमाथि हाल जेनेभामा शोषण र मानव तस्करीको मुद्दा चलिरहेको हो । उनीहरुमाथि बालबालिका र परिवारका लागि भारतबाट नोकर (घरेलु कामदार) लिएर गएको पनि आरोप लगाइएको छ ।

जेनेभामा अर्बपतिहरुको क्षेत्रमा यो परिवारको एक भिल्ला पनि रहेको बताइन्छ । यससँगै हिन्दुजा परिवारका सदस्यहरु प्रकाश हिन्दुजा, कमल हिन्दुजा, उनका छोरा अजय र बुहारी नम्रताले आफ्ना कामदारहरुको पासपोर्ट कब्जा गरेर नियन्त्रण गरिराखेको पनि आरोप लागेको छ ।

साथै ती घरेलु कामदारलाई दिनमा १८ घण्टा काम गरेवापत प्रतिदिन ८ डलर मात्रै भुक्तान गरेको र उनीहरुलाई घर बाहिर जाने पनि अनुमति मुस्किलले दिने गरिएको उजुरीमा छ ।

यद्यपि गत हप्ता शोषणको विषयलाई लिएर आर्थिक सम्झौता भएको बुझिएको छ । तर हिन्दुजा परिवारमाथि मानव तस्करीको मुद्दा भने चलिरहेको छ । तस्करीको मुद्दालाई स्विजरल्याण्डमा गम्भीर अपराधको सूचीमा राखिन्छ ।

हिन्दुजा परिवारले भने आफूमाथिको आरोप अस्विकार गर्दै आएको छ । हिन्दुजा परिवारका वकिलका अनुसार शोषणको मुद्दामा गत हप्ता नै सम्झौता भएको थियो । तर कामदारलाई न्युन ज्याला दिइएको आरोप अस्विकार गर्दै वकिलले पनि यसलाई फरक सन्दर्भमा हेर्नुपर्ने तर्क गरे । जवकि कामदारहरुलाई खाना र बस्ने सुविधा पनि दिइएको भन्दै न्युन ज्यालाको आरोप उचित नभएको बताए ।

साथै कामदारहरु परिवारका बालबालिकाहरुको साथमा बसेर फिल्म हेर्नुलाई निर्धारित समयभन्दा धेरै काम गरेको रुपमा मान्न नसकिने तर्क गरेका छन् । हिन्दुजा परिवारमा पहिले नै काम गरिसकेका केही घरेलु कामदारहरुले भने आफूहरुसँग उक्त परिवारले राम्रो व्यवहार गरेको प्रतिक्रिया दिएका छन् । र कामको सम्मान पनि पाएको उनीहरुको प्रतिक्रिया छ ।

अन्तर्राष्ट्रिय संगठनहरुको हब तथा अर्बपतिहरुको क्षेत्र मानिने जेनेभामा यस्ता शोषणका मुद्दा बाहिर आएको यो पहिलो भने होइन । २००८ मा लिबियाका पूर्वतानाशाह मुअम्मार गद्दाफीका छोरा हनीबल गद्दाफीलाई एक पाँचतारे होटलबाट गिरफ्तार गरिएको थियो । हनीबल र उनकी पत्नीमाथि घरेलु कामदारहरुलाई कुटपिट गरेको आरोप लागेको थियो ।

को हुन् हिन्दुजा परिवार ?

हिन्दुजा परिवार एक भारतीय अन्तर्राष्ट्रिय समूह हो । जसको अटोमोबाइल कम्पनी, तेल तथा रसायन, बैंकिङ, आईटी र आईटीईएस, साइबर सुरक्षा, स्वास्थ्य सेवा, ब्यापार, पूर्वाधार, ऊर्जा, घरजग्गा लगायत ११ क्षेत्रमा ठूलो लगानी छ ।

हिन्दुजा परिवारका दाजुभाइहरुको विश्वभर करिब १ सय अर्ब अमेरिकी डलर सम्पत्ति रहेको बताइन्छ । अमेरिकामा मात्रै उनीहरुको करिब ५ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ ।

२०२२ मा उनीहरुको कुल सम्पत्ति ३२ अर्ब अमेरिकी डलर थियो । अर्थात् उनीहरु युकेको सबैभन्दा धनीको रुपमा चिनिएका थिए । २०२३ मा भने हिन्दुजा परिवारका प्रमुख व्यक्ति श्रीचन्द हिन्दुजाको मृत्यु भएको थियो ।

भारतको सिन्धी परिवारका परमानन्द दीपचन्द हिन्दुजाले सन् १९१४ मा यो समूह स्थापित गरेका थिए । प्रारम्भिक रुपमा तत्कालीन भारत तथा हालको पाकिस्तानमा पर्ने शिकापुर र भारतको मुम्बइबाट सुरु गरेको कम्पनीलाई सन् १९१९ मा इरानमा सञ्चालन गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो व्यवसाय विस्तार गरेका थिए । र उनको कम्पनीको मुख्यालय नै १९७९ सम्म इरानमै रह्यो । तर इस्लामिक क्रान्तिसँगै उनी युरोपमा विस्थापित हुन बाध्य भएका थिए ।

त्यसैबेला हिन्दुजा समूहका अध्यक्ष श्रीचन्द र सह-अध्यक्ष उनका भाइ गोपीचन्द पनि १९७९ मा निर्यात व्यावसाय विस्तार गर्न लन्डन गएका थिए । अर्का भाइ प्रकाशले स्विजरल्याण्डको जेनेभामा आफ्नो हिन्दुजा समूह सञ्चालन गर्दै आएका छन् । अर्का भाइ अशोकले भने भारतको व्यावसाय हेर्दै आएका छन् ।


क्लिकमान्डु