असारदेखि ३ महिना सडक खन्न नपाइने, जबरजस्ती गरे कारबाही



काठमाडौं । सरकारले वर्षायाममा सडक खन्न नपाइने नीति कार्यान्वयनमा ल्याएको छ । वर्षायाममा आफूखुसी जबरजस्ती सडक खने कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।

सडक विभागअन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयले बुधबार सूचना जारी गर्दै यस्तो चेतावनी दिएको हो ।

कार्यालयले बर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने अवस्था सिर्जना हुने भएकाले असार १ गतेदेखि आगामी भदौ मसान्तसम्म उक्त कार्यालयमातहतको कुनै पनि सडक नखन्न सूचना जारी गरेको हो ।

बर्षायाममा सडक खन्दा मर्मत सम्भारको अभावमा उक्त सडक थप विग्रने सम्भावना अत्यधिक भएकाले असारदेखि भदौ मसान्तसम्म कुनै पनि सडक खन्न अनुमति समेत प्रदान नगरिने स्पष्ट पारेको छ ।


क्लिकमान्डु