बालबालिकामा बढिरहेको छ दम रोग, कसरी बच्ने ?



  • डा सञ्जयराज थापा

पछिल्लो समय जलवायु परिवर्तनका कारण नेपालसहित विश्वभर वायुप्रदुषण बढ्दै गएको छ । वायुप्रदुषण र जलवायु परिवर्तनका कारण मौसम समेत राम्रो हुन सकेको छैन । धुवाँ, धुलो, वायुप्रदुषण, वंशाणुगत गुण, घरमा धुम्रपान, मोटोपना,कम तौल जन्मिनु आदि कारणले बालबालिकामा दमको समस्या अत्याधिक बढेको पाइन्छ ।

ग्राण्डी अस्पतालमा आउने १०० जना विरामी मध्ये ५ देखि १० जना बिरामी दमका हुने गरेको छ । बालबालिकामा मौसम परिवर्तन, चिसोका कारण, रूघाखोकि, भाइरल ज्वरो हुँदा, श्वासप्रश्वास नली साँघुरिँदा दमको समस्या हुने गरेको छ । श्वासप्रश्वास नली साँघुरिँदा खोकी बढी मात्रामा लाग्ने समेत गर्दछ ।

रुघाखोकी बारम्बार लाग्ने, सुत्ने र उठ्ने बेलामा लाग्ने, दौडिँदा, हाँस्दा, खेल्दा बोल्दापनि बढी खोकी लाग्ने, एन्टिवायोटिक खादाँ एक दुई हप्ता ठिक हुने र बल्झिने, घ्यारघ्यार आवाज आउने यस्तो भएमा दम भएको हुनसक्छ । यस्तो भएमा तत्काल विशेषज्ञ चिकित्सककोमा लैजानुपर्छ ।

दमलाई औषधीले ठिक गर्ने होइन, ठिक समयमा दम भएको पत्ता लागेमा दमको उपचार गर्न सकिन्छ । अन्यथा, दम दीर्घरोग भएर जान सक्छ ।

दमबाट हुने समस्यालाई कम गर्न इन्हेलरको प्रयोग गर्न सकिन्छ । इन्हेलर विभिन्न खालका हुन्छन् । जसलाई डाक्टरको सल्लाह बमोजिम प्रयोग गर्नु पर्ने हुन्छ । बच्चाहरूमा मुख्यत दम एलर्जीबाट हुने हुँदा ठीकसँग औषधी लिएमापछी गएर आफैं हराउन सक्छ र लामो समय इन्हेलर लिइ रहनु पर्ने आवस्यकता रहँदैन ।

दमका विरामीबाहेक अस्पताल आउने अन्य विरामीमा रुघाखोकी, निमोनिया, टन्सिलाइटिस र ज्वरोका विरामी बढी आउने गरेका छन् । रुघाखोकीका बिरामी अत्याधिक रुपमा बढेका छन् ।

बिरामी बच्चाहरु स्कुलमा पठाउँदा अन्य बच्चा समेत बिरामी हुने गरेको पाइन्छ । मौसम परिवर्तन र खानपानमा विशेष ध्यान नदिँदा श्वासप्रश्वासका बिरामी अत्यधिक बढेका छन् ।

(बाल, एलर्जी तथा दमरोग विशेषज्ञ डा सञ्जयराज थापा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीमा कार्यरत छन् ।)


क्लिकमान्डु