कोशी र वागमती प्रदेशसभाको बर्खे अधिवेशन आह्वान



काठमाडौं । संघीय संसद्‍को बर्खे अधिवेशन सुरु भएसँगै प्रदेशसभाले पनि संसद्‍ अधिवेशन आह्वान गर्न थालेका छन् । कोशी प्रदेशसभाको बर्खे अधिवेशन वैशाख ३१ गतेका लागि आह्वान गरिएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त आह्वान गरेका हुन् ।

यस्तै वागमती प्रदेशसभाको अधिवेशन आह्वान भएको छ । वागमती प्रदेशसभाको बर्खे अधिवेशन पनि वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालले प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिस बमोजिम प्रदेशसभाको बर्खे अधिवेशन आह्वान गरेका हुन् ।

यसैबीच आगामी जेठ ४ गतेको बैठकमा प्रदेशसभा अन्तर्गतका विभिन्न समितिका सभापति चयन गरिने कार्यतालिका छ । समितिको सभापति पदका लागि निर्वाचन गर्ने विषयमा सबै दलबीच सहमति भएको वागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

सभामुख पाठकले जेठ ४ गतेसम्म सहमतिको प्रयास गर्ने र सम्भव नभए निर्वाचनमार्फत सभापतिको चयन गर्ने बताएका छन् । प्रदेशसभाको नियमावली २०७४ अनुसार प्रदेशसभामा पाँच वटा विभिन्न समितिहरु रहने व्यवस्था छ ।

प्रदेशसभामा अहिले प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, कृषि, स्वास्थ्य तथा शिक्षा समिति, पर्यटन, उद्योग तथा वाणिज्य समिति र भूमि तथा सहकारी व्यवस्था समिति छन् ।


क्लिकमान्डु