सहकारीमा समस्या छ, सरकारले कदम चाल्नुपर्छ : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीमा समस्या रहेको भन्दै सरकारले यसबारे कदम चाल्नुपर्ने बताएका छन् । तर नेपाली कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै प्रतिशोध र स्वार्थ केन्द्रित राजनीति गरेको उनले बताए ।

‘सहकारीको अवस्थामा के छानबिन गर्ने ? वेथिती भएको छ छैन भन्दा छ, लगानीकर्ता डुबाइएको छ कि छैन भन्दा छ । अब अनुसन्धान के गर्ने ? सरकारले कदम चाल्नुपर्‍यो कसरी समस्या समाधान गर्ने,’ अध्यक्ष ओलीले भनेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठक सुरु हुनुभन्दा अघि बसेको एमाले संसदीय दलको बैठकमा नेता ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् । साथै संसद्‍मा गृहमन्त्री रवि लामिछानेविरुद्ध नउभिने भन्दै आफ्ना सांसदहरुलाई उनले ब्रिफिङ गरेका थिए ।

संसदीय छानबिन समिति गठन भए राजीनामाको खेल सुरु हुने भन्दै कांग्रेसको यस्तो माग जायज नभएको उनको भनाइ थियो । साथै उजुरी पर्दैमा छानबिन गर्दै जाने हो भने सबैका विरुद्ध उजुरी पर्ने भन्दै कांग्रेसको यस्तो कदमको ओलीले आलोचना गरेका थिए ।


क्लिकमान्डु