पार्टी विभाजन असंवैधानिक, गैरकानुनी छ, हामी अदालत जान्छौंः उपेन्द्र यादव



काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनबिरुद्ध अदालत जाने बताएका छन् ।

पार्टी विभाजन गैरकानुनी, असंवैधानिक ढंगले रातारात निर्वाचन आयोगमा दल दर्ता गरेकाले त्यसबिरुद्ध अदालत जाने उनले बताए ।

पार्टी विभाजनपछि उत्पन्न परिस्थितिबारे जानकारी दिन बुधवार ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका नेता अशोक राईले नितान्त व्यक्तिगत स्वार्थका लागि संघीयता, लोकतन्त्र, गणतन्त्र, मधेस र पहिचानको मुद्दालाई धरापमा पार्नेगरी पार्टी विभाजन गरेकाले यसको कुनै औचित्य नरहेको यादवले आरोप लगाए ।

उनले जसपा, नेपालले वर्तमान सरकार ढालेर काँग्रेस नेतृत्वमा अर्को सरकार बनाउने लागेको भन्ने भनाइ कपोलकल्पित, आधारहीन र प्रायोजित ढंगले चलाइएको अफबाह भएको बताए । यादवले सरकारलाई दिएको समर्थन यथावत रहेको र त्यो कसरी अगाडि बढछ भन्ने कुरा परिस्थितिमा भर पर्ने बताए ।


क्लिकमान्डु