जसपा नेपाल फुटाएर बनेको नयाँ दल दर्ता गर्ने निर्वाचन आयोगको निर्णय



काठमाडौं । जनता समाजवादी पार्टी नेपाल विभाजन गरी जनता समाजवादी पार्टीका लागि अशोक राई पक्षले दिएको निवेदनलाई स्वीकार गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।

राई नेतृत्वको समूहले आइतबार नयाँ दल दर्ताका लागि निवेदन दिएको थियो । सोमबार आयोगले दल दर्ता गर्ने निर्णय गरेको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिए ।

‘नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन २०७३, राजनीतिक दल सम्बन्धी नियमावली २०७४ तथा प्रचलित संघीय कानुन बमोजिमका प्रावधान पालना गर्ने सर्तमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३३ र राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम जनता समाजवादी पार्टी … नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने’, आयोगको निर्णयमा भनिएको छ ।

आइतबार जसपा विभाजन गर्ने गरी अशोक राईसहित ७ सांसदले दिएको निवेदन निर्वाचन आयोगमा दर्ता भएको थियो ।

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले भने पार्टी विभाजनका लागि दिइएको निवेदनलाई अवैधानिक भनेको छ ।

सोमबार जसपा प्रवक्ता मनीषकुमार सुमनले विज्ञप्ति जारी गर्दै अवैधानिक निवेदनका आधारमा दल विभाजन नहुने जिकिर गरेका हुन् ।

‘संसद् अधिवेशन आह्वान भइसकेको र दल विभाजनसम्बन्धी अध्यादेश खारेज रहेको साथै बहुमत केन्द्रीय सदस्य यस दलप्रति नै प्रतिबद्ध रहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा केही विभाजित मनस्थितिका व्यक्ति निर्वाचन आयोगमा गई अवैधानिक निवेदन दिएका आधारमा दल विभाजन हुने अवस्था नरहेको अनुरोध छ ।’


क्लिकमान्डु