प्रचण्ड सत्ताका लागि जे गर्न पनि तयार हुन्छन्: डा.बाबुराम भट्टराई



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको आरोप लगाएका छन् ।

१३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधवार काठमाडौंको शान्तिवाटिकामा आयोजित कार्यक्रममा भट्टराईले कहिले कांग्रेस र एमालेसँग आलोपालो पछि लागेर प्रधानमन्त्री दाहालले सत्ताका लागि मरिहत्ते गरेको आरोप लगाए ।

माओवादी आन्दोलनमा लागेका पार्टी र व्यक्तिहरुलाई समेटेर नयाँ समाजवादी धुव्रीकरणको अभियान सुरु गर्न आफूले गत निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरे पनि प्रधानमन्त्री दाहालको सत्तामोहका कारण त्यसलाई अघि बढाउन नसकेको जिकिर गरे ।

भट्टराईले दाहालको सत्ता मोहले वाक्क भएकाहरुलाई पनि समाजवादी धारमा अघि बढाउन आफूले निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरे पनि सोही पार्टीमा एकीकरण भएर जाने निर्णय भने नगरेको बताए ।

बाबुरामले यसो भने

माओवादी आन्दोलनमा जोडिएका साथीहरुको एउटा ठूलो समूह थियो । ती साथीहरु पनि बडो दुविधामा थिए । कहिले एमालेको पछि लागेको छ, कहिले काँग्रेसको पछि लागेको छ । प्रचण्डजीले उहाँहरुलाई आफ्नो सत्ता स्वार्थमा निरन्तर घुमाई राख्नुभएको छ । त्यस्तो भएको बेलामा माओवादी आन्दोलनमा लागेकाहरुलाई समाजवादतर्फ लैजानका लागि आफूले चुनावमा सहकार्य गरेर जाने नीति लिएको हो । प्रचण्डजीलाई मेरो विश्वास थिएन । उहाँ त सत्ताको निम्ति जे पनि गर्नुहुन्छ । तपाई कुर्सीमा बस्ने हो भनिदिएपछि जता पनि बसिदिनु हुन्छ । त्यो मलाई थाहा थियो । तर माओवादी आन्दोलन भित्रका साथीहरु अब हामी नयाँ ढंगले जान्छौं । माओवादी युगको, माओवादी विचारको समय सिद्धियो । त्यसले आफ्नो काम सम्पन्न ग¥यो । अब नयाँ ढंगले रुपान्तरणसहितको नयाँ समाजवादी धुव्रीकरणको जुन कुरा गर्नुभएको छ । हामी त्यसमा आउँछौं भनेको हुनाले एउटा साझा चुनाव चिन्ह लिएर अहिले जाउ, दुई पार्टी अलग अलग भएपनि हुन्छ । त्यहाँ पार्टी एकता कहीँ पनि भनिएको थिएन । माओवादीमा जाने कहीँ पनि भनिएको थिएन । तर पछि तपाईले सबै देखिहाल्नु भयो । जब निर्वाचन भयो । खोलो त¥यो, लौरो बिस्र्यो । प्रचण्डजी चुनाव जितिसकेपछि त उहाँ फेरि पानीको भिजेको बिरालो जस्तो भएको मान्छे चुनाव जितिसके पछि त शेरजस्तो भएर गर्जन थाल्नुभयो । अनि देखिहाल्नु भयो, फेरि उही कुरा दोहो¥याउनु थाल्नु भयो ।’


क्लिकमान्डु