माधव नेपालको ओली लक्षित टिप्पणी: प्रधानमन्त्री बनिहाल्छ कि भनेर केहीलाई पोल्न थाल्या छ



काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू प्रधानमन्त्री बन्छ कि भनेर केही व्यक्तिलाई पोल्ने गरेको टिप्पणी गरेका छन् ।

पार्टी निकट अखिल नेपाल महिला संघ (समाजवादी) ले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै आफू प्रधानमन्त्री बन्छ भनेर पोल्ने प्रवृत्तिलाई आफूले धिक्कार छ भन्न चाहेको बताए ।

‘हामी प्रधानमन्त्री बन्छौं भनेर कतिपयलाई पोल्न थाल्या छ । कतै प्रधानमन्त्री बनिहाल्छ कि भनेर पनि पोल्न थाल्या छ । पोल्ने मानिसहरु पनि छन् यो समाजमा तिनलाई पोले पोलोस्,’ अध्यक्ष नेपालले भने,’दन्दनी आगोले पोलिरहोस् त्यस्ता प्रवृत्ति बोक्नेहरुलाई धिक्कार छ म भन्न चाहन्छु ।’

मुलुकमा गणतन्त्र ल्याउनका लागि, शान्ति प्रक्रियालाई अघि बढाउनका लागि, जनतालाई न्याय दिलाउन र महिलाहरुको अधिकारलाई दिलाउनका लागि महत्वपूर्ण भूमिका आफूले खेलेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यस अनुकूलको वातावरण बनाउन पछि नपर्ने बताए ।

आफ्नो पार्टी प्रधानमन्त्री र मन्त्री बन्न भन्दा पनि देश र जनताको हितमा समर्मित भएर काम गर्न लागि परेको उनको भनाइ थियो।

अध्यक्ष नेपालले ओलीले संसद् विघटन गर्ने काममा गल्ती गरेँ भनेर स्वीकार गर्ने आँट अझै नगरेको भन्दै आलोचना गरे ।


क्लिकमान्डु