पार्किन्सन रोगका कारण नेपालमा वार्षिक ७०० को मृत्यु, केहो लक्षण, कसरी बच्ने ?



डा राजु पौडेल

पार्किन्सन रोगबारे जनचेतना जगाउन नेपालसहित विश्वभर अफ्रिल ११ लाई विश्व पार्किन्सन दिवसका रुपमा मनाइने गरिन्छ । उक्त दिवसमा रोगबारे सचेत गराउनका साथै रोगबाट पीडित बिरामीलाई साहस प्रदान गरिन्छ । यस्तै, अफ्रिल महिनाभरलाई पार्किन्सन महिनाका रुपमा समेत मनाउँदै आइएको छ ।

दिमागको भित्रि भागमा डोपामिन भन्ने तत्व उत्पादन हुन्छ । डोपामिन तत्वले हाम्रो शरिरको सक्रिय बनाउन सहयोग गरेको हुन्छ । जसका कारण हाम्रो शरिर फुर्तिलो र चलायमान हुन्छ । जब डोपामिन तत्व निस्कृय हुँदै जान्छ तव पार्किन्सन रोग देखिन थाल्दछ । उक्त रोग ६० वर्षभन्दा बढी उमेर समूहका व्यक्तिलाई बढी मात्रामा देखिने गरेको पाइन्छ ।

पार्किन्सन रोगका लक्षणहरु

पार्किन्सन रोग लागेका व्यक्तिलाई भिन्नभिन्दै लक्षणहरु देखिने गरेको पाइन्छ । जसमा मांसपेशीलाई असर गर्ने लक्षण र मांसपेशीबाहेक अन्य अंगहरुलाई असर गर्ने लक्षणहरु हुन्छन् । मांसपेशीलाई असर गर्ने लक्षणहरुमा कम्पन, कडापन सुस्तपना, र हिँडाइमा समस्या आदी रहेका छन् । हिँडडुल गर्दा वा त्यसै बस्दा पनि कुनै व्यक्तिको हात र औंलाहरु काम्न सुरु हुन्छ । शरीर वा हात काप्नु पार्किन्सन रोगको एक लक्षण हो । आरामको स्थितिमा बिरामीको हातमा हुनेवाला कम्पनलाई हामीले यसको मुख्य लक्षणको रुपमा लिन सक्छौं ।

यो रोग लागेपछि हिँडडुल गर्ने र काम गर्ने क्षमतामा कमी आउँछ । जसका कारण एक सहज कार्यमा समेत कठिनाई उत्पन्न हुन सक्छ र समय अधिक लाग्न सक्छ । हिँडडुल गर्दा धेरै समय लाग्न सक्छ । शरीरको कुनै पनि हिस्सा वा मांसपेशीमा दुखाइ हुन सक्छ । कठोर मांशपेशीको गतिलाई सीमित गराउनमा उद्धत हुन सक्छन् । माथि उल्लेखित कुनैपनि दुई लक्षण भए पार्किन्सन भएको मान्न सकिन्छ ।

यस्तै, मांसपेशी बाहेक अन्य अंगहरुलाई असर गर्ने लक्षणहरु समेत पार्किन्सनका लक्षणहरु हुन सक्छन् । जसमा निन्द्रामा समस्या, निद्रामा बोल्ने, बास्नामा कमी हुने, हातखुटा बाउँडिने, पिसाव तारन्तार लाग्ने, मनमा खिन्नता आउने, डिप्रेसन ५० प्रतिशतलाई देखिने, नभएको कुराहरु देख्ने वा कतिपय कुरा विर्सने आदी हुन् ।

नेपालमा हाल अनुमानित ४ हजारदेखि ५ हजार मान्छे पार्किन्सनका बिरामी रहेका पाईन्छ । सन् २०२० को आँकडाअनुसार नेपालमा प्रतिवर्ष उक्त रोगका कारण ७०० जनाको मृत्यु भएको पाइन्छ ।

उपचार विधि

दिमागको भित्रि भागमा रहेको डोपामिन तत्व कमी हुँदा पार्किन्सन रोग लाग्ने भएकाले यसको उपचारका लागि रोग पहिचान गरेर डोपामिन दिन सकेमा केही मात्रामा बिरामीलाई आराम हुने र निको हुने हुन्छ ।

यो रोग औषधी सेवनका कारण पूरा निको हुने रोग होइन । उक्त रोग लाग्न नदिन नै विशेष ख्याल गर्नुपर्छ । यदी रोग लागिहाल्यो भने गुणस्तरीय जीवन जीउन लाग्नुपर्छ । उमेर बढ्दै गएपछि रोगको लक्षणपनि बढ्दै जाने भएकाले परिवारको हेरचाह आवश्यक रहेको छ । परिवारसँगै समाजको समेत सहयोग आवश्यक देखिन्छ ।

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पार्किन्सन रोगका नयाँ बिरामी प्रत्येक वर्ष २०० को हाराहारीमा आउने गरेका छन् । यस्तै पुराना बिरामी ७०० को हाराहारीमा रहेका छन् । नेपाल सरकारले डाक्टरको सिफारिसअनुसार पार्किन्सनका बिरामीलाई उपचारका लागि १ लाख दिने व्यवस्था गरेको छ ।

(डा राजु पौडेल ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीका वरिष्ठ न्यूरोलोजिष्ट हुन् ।)


क्लिकमान्डु