२५ अर्ब लगानीमा आईएमई ग्रुपले बैतडीमा सिमेन्ट उद्योग खोल्ने



काठमाडौं । स्थापित व्यावसायिक घराना आईएमई समूहले सुदूरपश्चिमको बैतडीमा सिमेन्ट उद्योग खोल्ने भएको छ । व्यवसाय विस्तारमा आक्रामकरुपमा अघि बढिरहेको आईएमई समूह सेवा क्षेत्रबाट उत्पादनमूलक उद्योगमा केन्द्रित हुन थालेको हो ।

प्रदेश सकारको अध्ययनले नेपालकै राम्रो चुनढुंगा रहेको निष्कर्ष दिएको बैतडीमा आईएमई समूहले विदेशी लगानीकर्तासँगको साझेदारीमा सिमेन्ट उद्योग खोल्न लागेको आईमई समूहका अध्यक्ष चन्द्र ढकालले जानकारी दिए।

भारत निर्यातको लक्ष्यसहित खुल्ने उक्त उद्योगमा २५ अर्ब रुपैयाँको हाराहारीमा लगानी हुनेछ । आगामी बैशाख १६ र १७ गते काठमाडौंमा हुने तेस्रो लगानी सम्मेलनमा आईएमई सिमेन्ट सोकेसमा राखिने भएको छ ।

‘हामी ठूलै स्केलको उद्योग सञ्चालन गर्ने सोचमा छौं, विदेशी लगानीकर्तासँग साझेदारी गर्ने उदेश्यले लगानी सम्मेलनमा यो आयोजना सोकेसमा राखिँदैछ,’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका ढकालले क्लिकमान्डुसँग भने, ‘नेपालबाट ठूलो परिमाणमा भारततर्फ सिमेन्ट निर्यात गर्ने संभावना देखेर हामी सिमेन्ट उद्योगमा आकर्षित भएका हौं ।’

पाँच वर्षभित्रै उद्योग स्थापना गरेर भारततर्फ अर्बौं रुपैयाँको सिमेन्ट निर्यात गराउने आईएमई समूहको योजना छ ।

आईएमईले झुलाघाटबाट ३५ किलोमिटर पश्चिममा रहेको खानीमा भर पर्नेगरी सिमेन्ट उद्योग स्थापना गर्न लागेको हो। बैतडीमा उत्पादन गरिने सिमेन्टको खानीमा अनुमानित २ करोड ४० लाख ५८ हजार टन चुनढुंगा रहेको छ।

२०७७ सालमा सुदूरपश्चिम प्रदेश सरकारले सिमेन्ट उद्योगको सम्भावना अध्ययन गराएको थियो। बैतडी चुनढुंगा खानीका लागि उपयुक्त ठहर गर्दै ठूलो सिमेन्ट उद्योग खोल्न सकिने निष्कर्षसहित प्रतिवेदनसमेत बुझाइएको थियो।

बैतडीमा उत्पादन भएको सिमेन्ट नेपाली बजारमा मात्रै नभएर नजिकै रहेका धार्चुला र झुलाघाट नाकाबाट भारत पठाउन सकिने ढकालले बताए।

नवलपरासीको योजना तत्कालका लागि स्थगित

आईएमई समूहले यसअघि पनि नवलपरासी (पूर्व) को चोरमारामा १० अर्ब रुपैयाँमा सिमेन्ट कारखाना स्थापना गर्ने घोषणा गरेको थियो। मध्यबिन्दु नगरपालिकाको वडा नम्बर १० मा ६५ बिघा जग्गा अधिग्रहण पनि गरिसकेको छ।

तर, नवलपरासीमा धेरै उद्योग खुलेको भन्दै समूहले उक्त परियोजना तत्कालका लागि स्थगित गरेको ढकालले जानकारी दिए ।

सेवा क्षेत्रबाट व्यवसायमा सुरु गरेको आईएमई समूह पछिल्लो समय उत्पादनमा आधारित उद्योगमा आकर्षित भएको छ । कम्पनीले कागज कारखाना पनि निर्माण गरिरहेको छ ।

आईएमई रेमिट्यान्स कम्पनीबाट व्यावसायिक यात्रा सुरु गरेको आईएमई समूहले बैंकिङ, बिमा, केबलकार, होटल, सूचना प्रविधि, अनलाइन पेमेन्ट सिस्टम, अटोमोबाइल्स, हाइड्रोपावर र उत्पादनमुलक क्षेत्रमा लगानी गरी हजारौंको संख्यामा रोजगारी सिर्जना गर्दै आएको छ ।


क्लिकमान्डु