७५ निर्माण कम्पनीले बैंकबाट लिए साढे २ खर्ब रुपैयाँ कर्जा, यी हुन् १० अर्ब बढी ऋण लिने ७ कम्पनी



काठमाडौं । विकास निर्माण क्षेत्रमा काम गर्ने ७५ वटा निर्माण कम्पनीले साढे २ खर्ब रुपैयाँ ऋण लिएका छन् । क्लिकमान्डुले संकलन गरेको तथ्याङ्कअनुसार ७५ वटा निर्माण कम्पनीले २ खर्ब ५१ अर्ब ४२ करोड २० लाख रुपैयाँ दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि रेटिङ गराएका हुन् ।

जलविद्युत क्षेत्रबाहेक अन्य विकास निर्माण तथा पूर्वाधार क्षेत्रमा काम गर्दै आएका ७५ वटा निर्माण कम्पनीले न्यूनतम ५० करोड रुपैयाँदेखि १४ अर्ब रुपैयाँसम्म रेटिङ गराई कर्जा लिएका हुन् । तीनवटा रेटिङ एजेन्सी इक्रा नेपाल, केयर रेटिङ र इन्फोमेरिक्समा पछिल्लो समय गरेको रेटिङबाट संकलन गरेको तथ्याङ्कअनुसार अधिकांश निर्माण व्यवसायी कम्पनीले १ अर्ब बढी रुपैयाँ ऋण लिएको देखिएको हो ।

नेपाल राष्ट्र बैंकले ५० करोडभन्दा बढीको ऋणको क्रेडिट रेटिङ गराउनुपर्ने व्यवस्था गरेको छ । उक्त व्यवस्था लागू भएसँगै ५० करोड रुपैयाँभन्दा बढी ऋण लिने कम्पनीहरुले अनिवार्यरुपमा रेटिङ गराउँदै आएको छ । संकलित तथ्याङ्कमा विकास निर्माणको क्षेत्र जलविद्युतसँगै अन्य क्षेत्र समावेश गरिएको छैन । यस सामग्रीमा विशेषगरी सडक, पुल, ढल, भवनजस्ता क्षेत्रमा काम गर्दै आएको कम्पनीहरु समावेश गरिएको छ ।

संकलित तथ्याङ्कअनुसार ७ वटा निर्माण कम्पनीले १० अर्ब बढी ऋण लिएका छन् भने ७ वटा कम्पनीले ५ अर्ब बढी ऋणको रेटिङ गराएका छन् । त्यस्तै, ६ वटा निर्माण कम्पनीले ४ अर्ब बढी, ६ वटा कम्पनीले ३ अर्ब बढी, १३ वटाले २ अर्ब बढी, २३ वटाले २३ अर्ब बढी र १३ वटाले ५० करोड रुपैयाँभन्दा बढी ऋणका लागि रेटिङ गराएको छ ।

यी हुन् १० अर्ब बढी ऋण लिने कम्पनी

देशभर सयौंको संख्यामा ‘क’ वर्गका निर्माण व्यवसायी छन् । त्यसमध्ये भने सीमित निर्माण व्यवसायीहरुको हातमा ठूला–ठूला आयोजना हुने गरेको छ । निर्माण व्यवसायीहरुले समय समयमा ठूला निर्माण कम्पनीहरुसँग अधिकांश ठूला आयोजना हुने गरेको प्रतिबिरोध गर्दै आएका छन् । त्यस्तै, नेपालकै ठूलो निर्माण कम्पनीमध्ये टुन्डी कन्स्ट्रक्सन पनि एक हो । निर्माण क्षेत्रमा स्थापित कम्पनीको रुपमा खडा भएको टुन्डी कन्स्ट्रक्सनले रेटिङ गराएर सबैभन्दा बढी ऋण लिएको पाइएको छ । सन् १९८४ मा स्थापना भएको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १३ अर्ब ९३ करोड ८२ लाख रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले सन् २०२३ मा २ अर्ब ८४ करोड २७ लाख रुपैयाँ आम्दानी गरेको थियो । साथै, कम्पनीले ३ अर्ब १२ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको उल्लेख छ । कम्पनीसँग सन् २०२३ सम्ममा १८ अर्ब रुपैयाँ बराबरको आयोजना बाँकी रहेको जनाएको छ । कम्पनीमा ऋषीप्रसाद सुवेदीको २८ प्रतिशत, लक्ष्मीदेवी सुवेदीको १२ प्रतिशत, सुशिल सुवेदी, आनन्दप्रसाद सुवेदी, सुमन सुवेदीको १८/१८ प्रतिशत र मञ्जु सुवेदीको ६ प्रतिशत स्वामित्व छ ।

दोस्रोमा सबैभन्दा बढी ऋण लिने निर्माण कम्पनी मोतीदना कन्स्ट्रक्सन सेवा प्रालि रहेको छ । कम्पनीले १३ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले सन् २०२२ मा २ अर्ब ७० करोड ९० लाख रुपैयाँ र सन् २०२१ मा ३ अर्ब १२ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको थियो । सन् २००९ मा दर्ता भई सञ्चालनमा रहेको कम्पनीमा तीन जना सञ्चालक समति छन् भने कम्पनीको प्रबन्ध निर्देशकमा रामबहादुर गौतम छन् ।

समानान्तर निर्माण सेवा प्रालिले ११ अर्ब ६६ करोड ११ लाख रुपैयाँको रेटिङ गराएको छ । अच्युतप्रसाद खरेल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन कर्जाका लागि २ करोड ६ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ११ अर्ब ६६ करोड ११ लाख रुपैयाँको रेटिङ गराएको छ । सन् २००९ मा स्थापना भएको कम्पनीले सन् २०२२ मा ३ अर्ब १२ करोड १० लाख रुपैयाँ र सन् २०२१ मा अर्ब १३ करोड ९० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कुमार श्रेष्ठ निर्माण सेवा प्रालिले ११ अर्ब रुपैयाँ कर्जाका लागि रेटिङ गराएको छ । सन् १९७७ देखि निर्माण क्षेत्रमा काम गर्दै आएको कम्पनीले सन् २०२२ मा ३ अर्ब ६३ करोड २० लाख रुपैयाँ र सन् २०२१ मा २ अर्ब ९८ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीले भवन, सडक, पुल र विमानस्थल निर्माण कार्यमा संलग्न छ । सन् २०२३ को मेसम्ममा ८ अर्ब ५७ करोड ६० लाख रुपैयाँको आयोजनाको ठेक्का रहेको जनाएको छ ।

नेपालको निर्माण क्षेत्रमा स्थापित निर्माण कम्पनी रमन कन्स्ट्रक्सनले १० अर्ब ९४ करोड १४ लाख रुपैयाँको रेटिङ गराएको थियो । इक्रा नेपालले गत जनवरीमा मात्रै कम्पनीलाई इस्यूर नट कर्पोरेटिङको रेटिङ दिएको थियो । कम्पनीले सन् २०२२ को अप्रिलमा रेटिङ गराएर १० अर्ब ९४ करोड १४ लाख रुपैयाँको रेटिङ गराएको देखिन्छ । सो बेलासम्म कम्पनीसँग ३९ अर्ब रुपैयाँ बराबरको आयोजनाको ठेक्का भएको जनाएको थियो । कम्पनीले सन् २०२१ मा १ अर्ब ११ करोड ६२ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीमा बलराम महतोको २० प्रतिशत, रमन महतोको ४० प्रतिशत र पवन महतोको ४० प्रतिशत स्वामित्व छ ।

सन् १९९८ मा स्थापना भएको आशिष निर्माण सेवा प्रालिले १० अर्ब ४१ करोड ८२ लाख रुपैयाँको रेटिङ गराएको छ । सन् २०२३ को जुलाईसम्ममा ५ अर्ब ८६ करोड ६० लाख रुपैयाँको ठेक्का प्राप्त गरेको कम्पनीले सन् २०२२ मा १ अर्ब १२ करोड रुपैयाँ र सन् २०२१ मा २ अर्ब ६ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीमा ऋषीकेश गौली र उनका परिवारको स्वामित्व छ । गौलीसँग निर्माण क्षेत्रको ३५ वर्षभन्दा बढी अनुभव छ ।

सन् १९६६ मा स्थापना भएको शर्मा एण्ड कम्पनी प्रालिले १० अर्ब ९६ करोड ७३ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले हालैमात्रै अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि करिब ११ अर्ब रुपैयाँको रेटिङ गराएको हो । कम्पनीसँग अहिले १५ अर्ब रुपैयाँ बराबरको आयोजनाको ठेक्का लिई काम गरिरहेको छ । साथै, सन् २०२४ को जनवरीसम्ममा ३२ अर्ब रुपैयाँको ठेक्का लिन सक्ने क्षमता रहेको रेटिङमा उल्लेख छ । रमेश शर्माको ६७ प्रतिशत स्वामित्व रहेको कम्पनीमा बाँकी स्वामित्व लत्ता बराल शर्मा, सौरभ शर्मा र रमेशप्रसाद सुवेदीसँग छ । कम्पनीले सन् सन् २०२३ मा ३ अर्ब ६२ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ ।

यी हुन् ४ अर्बभन्दा बढी ऋण लिने १३ कम्पनी

संकलित तथ्याङ्कमा १३ वटा कम्पनीले ४ अर्ब रुपैयाँदेखि ९ अर्ब रुपैयाँसम्म ऋण लिएका छन् । बानिया निर्माण सेवाले ८ अर्ब ७५ करोड ५० लाख रुपैयाँ, भिमेश्वर ड्रिलिङ तथा निर्माण सेवाले ८ अर्ब ५० करोड रुपैयाँ, रौतहट कन्स्ट्रक्सनले ७ अर्ब ६८ करोड ९० लाख रुपैयाँ, रसुवा कन्स्ट्रक्सन कम्पनीले ७ अर्ब ५२ करोड रुपैयाँ र वाइवा इन्फ्राटेकले ७ अर्ब २८ करोड २ लाख रुपैयाँको रेटिङ गराएको छ ।

त्यस्तै, कन्काई इन्टरनेशनल ब्यूल्डर्सले ५ अर्ब ५० करोड रुपैयाँ, मृत सन्जीवानी निर्माण सेवाले ५ अर्ब ३१ करोड ५३ लाख रुपैयाँ, रमन जेनरलले ४ अर्ब ८१ करोड रुपैयाँ, बीकेओआई ब्यूल्डर्सले ४ अर्ब ७२ करोड ५५ लाख रुपैयाँ, हनुमान कन्स्ट्रक्नसनले ४ अर्ब ६८ करोड रुपैयाँ, लामा कन्स्ट्रक्सन कम्पनीले ४ अर्ब ४६ करोड ८० लाख रुपैयाँ, क्षमादेवी कन्स्ट्रक्सन सोलुसनले ४ अर्ब ३१ करोड २८ लाख रुपैयाँ र शिव शक्ति इन्फ्रा डेभलपर्सले ४ अर्ब रुपैयाँको रेटिङ गराएको छ । त्यसबाहेक अन्य निर्माण कम्पनीहरुले ५७ करोड रुपैयाँदेखि ३ अर्ब ८२ करोड रुपैयाँसम्म रेटिङ गराएको छ ।


अरिष्मा मोक्तान