उपत्यकामा घरजग्गा किनबेच ६० प्रतिशतले घट्यो, कहिले होला सुधार ?



काठमाडौं । कोभिड र रुस-युक्रेनबीचको द्वन्द्वका कारण अर्थतन्त्रमा देखिएको समस्याले घरजग्गा कारोबारमा सुधार आउन छैन । कोभिडको समयमा पनि उच्च कारोबार भएको घरजग्गा कारोबार कोभिडपछि भने मन्दी छाएको छ ।

पछिल्लो दुई वर्षको तथ्यांक हेर्दा घरजग्गा कारोबारमा सुधार आउन सकेको छैन । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकअनुसार सरकारको नीति र आर्थिक मन्दीका कारण घरजग्गा कारोबारमा उच्च प्रभाव परेको देखिन्छ ।

देशभरको घरजग्गा कारोबारको तथ्यांक हेर्दा अहिले विशेषगरी मुख्य सहरी क्षेत्रहरुमा घरजग्गा कारोबारमा मन्दी छाएको अवस्था छ । त्यस्तै, देशभरका मानिसहरुको आकर्षणको केन्द्र बनेको उपत्यकाको कारोबार उल्लेख्य कमी देखिएको छ ।

आर्थिक वर्षको ८ महिनासम्मको तथ्यांक संकलन गर्दा पछिल्लो दुई वर्षमा उपत्यकाको घरजग्गा कारोबार ६० प्रतिशतले घटेको छ । कोभिडको समयमा पनि उच्च कारोबार भएको घरजग्गा अहिले आर्थिक मन्दीका कारण सुधार हुन सकेको छैन ।

आर्थिक वर्ष २०७८/७९ को ८ महिनाको अवधिमा उपत्यकाको ९ वटा मालपोत कार्यालयबाट ७० हजार ६८७ वटा घरजग्गा किनबेच भएको थियो । तर, आर्थिक वर्ष २०७९/८० र आव २०८०/८१ को ८ महिनाको अवधिमा २८ हजार ४९७ वटा र २८ हजार ३१६ वटा घरजग्गा किनबेच भएको छ । जुन आव २०७८/७९ को ८ महिनाको तुलनामा ६० प्रतिशतले कमी हो ।

आव २०७८/७९ मा उपत्यकाको ९ वटा मालपोत कार्यालयबाट मासिक ८ हजारदेखि १० हजारको हाराहारीमा घरजग्गा किनबेच भएको थियो । तर, अहिले मासिक ४ हजार घरजग्गा किनबेच हुन मुस्किल देखिएको छ ।

आव २०७८/७९ को साउनमा उपत्यकाका मालपोत कार्यालयबाट १० हजार १४४ वटा घरजग्गा किनबेच भएको थियो । त्यस्तै, भदौमा ९ हजार २३१ वटा, असोजमा ९ हजार १२६ वटा, कात्तिकमा ७ हजार ६ वटा, मंसिरमा ९ हजार ३७६ वटा, पुसमा ९ हजार ३८७ वटा, माघमा ८ हजार ५१८ वटा र फागुनमा ८ हजार ८४९ वटा घरजग्गा किनबेच भएको थियो ।

आव २०७८/७९ पछि भने घरजग्गा कारोबार निरन्तर कमी आएको देखाउँछ । सरकारले देशभर रहेका जग्गाको उच्च वर्गीकरण भएको भन्दै भूउपयोग नियमावली जारी गरेको थियो ।

उक्त नियमावलीले कारोबारमा उच्च प्रभाव परेको थियो । साथै, सरकारले भूउपयोग नियमावलीका कारण कारोबारमा प्रभाव परेको भन्दै गत साउनमा जग्गा वर्गीकरणको कार्य फुकुवा गरेको छ । तर, आर्थिक मन्दीका कारण मुख्य सहरहरुमा कारोबार बढ्न नसकेको व्यवसायीहरुको भनाइ छ ।

त्यसैगरी, विभागको तथ्यांकअनुसार सामान्य अवस्थाको तुलनामा उपत्यकाको कारोबार आधाभन्दा बढीले घटेको छ । चालु आवको साउनमा उपत्यकामा ३ हजार ४१२ वटा, भदौमा ३ हजार ६४६ वटा, असोजमा ४ हजार २८४ वटा, कात्तिकमा २ हजार २० वटा, मंसिरमा ३ हजार १७६ वटा, पुसमा ३ हजार ४१० वटा, माघमा ४ हजार १६५ वटा र फागुनमा ४ हजार २०३ वटा घरजग्गा किनबेच भएको छ । देशभरका घरजग्गाको कारोबार हेर्दा मुख्य सहरको कारोबारमा उच्च प्रभाव परेको देखिन्छ ।

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष भेषराज लोहनीले अर्थतन्त्रमा देखिएको समस्याका कारण घरजग्गा कारोबारमा सुधार आउन नसकेको बताए । उनकाअनुसार अहिले ग्रामिण क्षेत्रभन्दा पनि मुख्य सहर र उपत्यकाको कारोबारमा सुधार आउन सकेको छैन ।

अहिले घरजग्गा कारोबार बढ्न नसक्नुमा सरकारको नीति प्रमुख कारण रहेको व्यवसायीहरुको भनाइ छ । व्यवसायीहरुले लामो समयदेखि कर्जा आम्दानी अनुपात र लोन टु भ्यालु रेसियो बढाउनुपर्ने माग गर्दै आएका छन् । उक्त व्यवस्था नगरेसम्म कारोबारमा सुधार आउन नसक्ने अध्यक्ष लोहनीको भनाइ छ ।

‘व्यवसायीहरुले कारोबारमा देखिएको मन्दी मंसिरबाट सुधार हुने अपेक्षा गरेको थियो । तर, मानिसहरुमा लगानीका लागि कन्फिडेन्स नहुँदा कारोबार बढ्न सकेको छैन,’ उनले भने । समग्रमा देशभरको कारोबार हेर्दा अन्य स्थानको तुलनामा उपत्यकाका कारोबार निकै कमजोर रहेको उनको भनाइ छ ।

व्यवसायीहरुले देशभर घरजग्गा कारोबार बढाउनका लागि गत पुसमा रियल इस्टेट मेला पनि गरेको थियो । उक्त मेलाले बजारमा सकारात्मक सन्देश दिई कारोबार बढ्ने व्यवसायीहरुको अपेक्षा थियो । तर, अपेक्षाअनुसार कारोबार बढ्न नसक्दा व्यवसायीहरुमा निराशा छाएको छ ।

अध्यक्ष लोहनीले व्यवसायीहरुले अपेक्षाअनुसार कारोबार हुन नसकेपछि व्यवसायीहरु मारमा परेको बताए । लोहनीले घरजग्गा कारोबारमा कहिले सुधार आउँछ भन्ने अनुमान गर्न नसक्ने अवस्था रहेको जिकिर गरे । केही समय अघिसम्म तरलता अभाव थियो । अहिले तरलता अभावको समस्या छैन । बैंकहरुमा पर्याप्त रकम थुप्रिएको अवस्था छ । मानिसहरु भने लगानीका लागि विश्वस्त नहुँदा घरजग्गा कारोबारको मन्दी कहिलेसम्म लम्बिने हो भन्ने यकिन भन्न नसक्ने उनको भनाइ छ ।

उनकाअनुसार घरजग्गा कारोबार बढाउनका लागि सरकारले व्यवस्था गरेको नीतिमा संशोधन गनुपर्ने जोड दिएका छन् ।


अरिष्मा मोक्तान