फुटपाथ व्यापारी देख्यो कि बज्रिने बालेनको त्यो लौरो
काठमाडौं । सन् २००७ मा आएको एउटा सिनेमा छ, ‘दियर ह्विल बि ब्लड’ नामक । पल थोमस एन्डरसनले निर्देशन गरेको यो सिनेमा तेल उत्खनन गर्ने एक निरंकुश व्यापारीको जीवनमाथि आधारित रहेको छ । आफ्नो अनुकुलताका लागि जस्तो सुकै किसिमले पनि सर्वसाधारणलाई कौशलताका साथ दीगभ्रमित गर्न सक्ने क्षमता रहेको पात्र डेनियल प्लेनभ्युको जीवन देखाइएको सिनेमाले शासकहरुको प्रतिनिधित्व गर्छ ।
शासकहरु अनुकुलताका लागि कति हदसम्म जान सक्छन् भन्ने कुरा प्लेनभ्यु पात्रको चरित्रमा कुनै नेताको चरित्र जोडेर हेर्दा कदापी गलत हुँदैन । र सम्भवतः केही अपवादलाई छाड्ने हो भने नेपालमा राजनीतिसँग प्रत्यक्ष रुपमा संलग्न हरेक आफ्नो अनुकुलतामा लोभिने शासकहरुमध्येमै पर्छन् ।
काठमाडौं महानगरपालिकाको नेतृत्वमा अहिले बालेन्द्र शाह(बालेन) छन् । उनको नेतृत्वमा महानगर आएको वर्ष दिनभन्दा धेरै भइसक्यो । यसबीच महानगरले गरेका काम कारबाहीभन्दा दुख गरेर खानेहरुमाथि बालेन प्रशासनको रवैया चर्चामा छ । काठमाडौं महानगरपालिका कतै छाँयामा छ, बालेन स्पोटलाइटमा छन् ।
एन्डरसनको सिनेमाको पात्र प्लेनभ्यु झै बालेन देखिएका छन् । एक निरंकुश शासकका रुपमा । निरंकुश यसकारण पनि कि त्यो नेतृत्व सम्हालिरहेको बेला कुशलताका साथ प्रस्तुत हुनुपर्ने र संवेदनशिल रुपमा व्यवहार गर्नुपर्ने कुराहरुमाथि उनले ठूलो बेवास्ता गरिरहेका छन् । तर, आफूसँग सम्बन्धित विषयमा भने उनी खुलेआम सिंहदरबार जलाउने धम्की दिन्छन् ।
र्यापर बालेन स्वतन्त्र उम्मेदवारका रुपमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उठिरहँदा उनको एक तस्बिर निकै चर्चित थियो । हातमा लौरो बोकेको तस्बिर, जुन उनको चुनाव चिह्नको प्रतिक थियो, त्यसले भ्रष्टाचारीमाथि बजार्ने भन्दै प्रचार भएको थियो ।
विकास खर्चको अभाव, दीर्घकालिन समस्याको समाधानजस्ता कुराहरुमा बालेनको कालो चस्माले देख्दैन । तर, फुटपाथ व्यवसायी कता छन् भन्ने कुरामा भने दूरदृष्टि देखिन्छ ।
आज पनि बालेनको चुनावी प्रचारका क्रममा खोलिएका कतिपय फेसबुक ग्रुपदेखि पेज र स्वयः महानगरकै सूचना प्रवाह हुने पत्रकारहरुको ह्वाटएप ग्रुपमा पनि त्यहि तस्बिर राखिएको छ ।
बालेनले चुनाव जिते । र्यापार बालेन मेयर बालेन्द्र शाह बने । उनी मेयर मात्रै बनेनन्, उनी युवा राजनीतिमा आउनका लागि एउटा अभियान नै बने । उनले चालेका हरेक कदमहरु अभियानका रुपमा देशैभरमा अनुशरण भइरहेको छ । तर, चुनाव चिह्न वा बालेनको त्यो लट्ठी भ्रष्टाचारीहरुमाथि कति प्रहार भयो ? यो प्रश्नको यकिन जवाफ बेग्लै होला । तर, त्यो लट्ठी फुटपाथ व्यापारी माथि भने पटक पटक बज्रिएको छ ।
सिंहदरबार जलाउने धम्की दिने बालेन र उनको नेतृत्वको महानगरमा भइरहेका कामहरुले पूरा काठमाडौं नै उनको व्यक्तिगत सम्पत्ति हो र यहाँ उनले चाहेको बाहेक अरु केही पनि गर्न पाइँदैन भन्ने भाष्य स्थापित गर्न उद्यत देखिएको छ ।
महानगरमा कैयौं समस्या थिए र छन् । बालेनको नेतृत्व आएपछि एकाएक सबै कुरा सुधार हुनुपर्छ पनि भन्ने होइन । तर, दीर्घकालीन रुपमा असर गर्ने वा प्रभाव पर्ने काम कति भए भन्ने कुराले महत्व राख्छ ।
सामाजिक सञ्जालमा साँझ स्टेटस हाल्ने र एक हुल युवा जमातको समर्थन पाएकै भरमा आफूले गरिरहेको सबै काम ठीक छन्, आफ्नो नेतृत्वमा महानगर स्वर्ग बनिरहेको छ र आफू इन्द्रमा रुपान्तरण भइरहेको छु भन्ने भ्रममा छन्, बालेन । डनिंग क्रुगर इफेक्ट नामक एक संज्ञानात्मक पूर्वाग्रहको शिकार देखिन्छन् उनी । उनी आफ्नो नेतृत्वमा महानगरमा उछाल परिवर्तन आएको देखिरहेका छन् । तर, वास्तविकता अर्कै छ ।
विकास खर्चको अभाव, दीर्घकालिन समस्याको समाधानजस्ता कुराहरुमा बालेनको कालो चस्माले देख्दैन । तर, फुटपाथ व्यवसायी कता छन् भन्ने कुरामा भने दूरदृष्टि देखिन्छ ।
विकासको नारा घन्काएका उनी नेतृत्वको महानगरको पुँजीगत खर्च सबैभन्दा कम १४.११ प्रतिशत मात्र छ । काठमाडौंले चालु आर्थिक वर्षका लागि पुँजीगततर्फ १५ अर्ब ६ करोड ५० लाख विनियोजन गरेकामा माघ मसान्तसम्म २ अर्ब १२ करोड २५ लाख रुपैयाँ मात्रै खर्च गर्न सकेको हो ।
बालेनको नेतृत्वमा सुन्दर कामहरु पनि नभएका होइनन् । उदाहरणका लागि शिक्षा क्षेत्रमा प्रभाव पर्ने गरि पुस्तक बिहीन शुक्रबार कार्यक्रम निकै राम्रो रुपमा भइरहेको छ । बालबालिकालाई व्यवहारिक ज्ञान दिने पक्षमा महानगरको यो कार्यक्रम प्रतिनिधि बनिरहेको छ । महानगरलाई सुन्दर सफा बनाउन होडिङ बोर्ड हटाउने लगायतका काममा पनि उनलाई धन्यवाद दिनै पर्छ ।
तर, मेयर शाहको नेतृत्वको महानगर र महानगरको नगर प्रहरीले फुटपाथ व्यापारीमाथि गरिरहेको व्यवहार भने सबैभन्दा आलोचित बनेको छ । महानगर नगर प्रहरीमाथि आक्रमण भएका कारण प्रतिरक्षामा फुटपाथ व्यवसायीमाथि लट्ठीचार्ज गरेको दाबी गर्छ । गत बुधबारको घटनामा मेयर शाहले इन्स्ट्राग्राममार्फत ती फुटपाथ व्यवसायीहरु नभएर एमालेका कार्यकर्ता भएको भन्दै आरोप लगाएका छन् ।
तर, के कसैको राजनीतिक आस्था एमाले, कांग्रेस वा माओवादी छ भने चाहिँ उनीहरुमाथि लट्ठी चार्ज गर्न मिल्ने हो ? वा कोही मान्छे समाजवादको विचार बोकेर वा कम्युनिष्ट धारणाले निर्देशित भएर फुटपाथमा व्यवसाय गरिरहेको छ भने महानगरले उसमाथि बर्बरता देखाउने अधिकार महानगरलाई भएको हो ?
देश र संघीय राजधानी जहाँ पनि मानिसलाई काम गरेर खाने छुट छ । त्यसमा पनि हाम्रो जस्तो केन्द्रीकृत शासन भोगेको देशमा अवसरको खोजीका लागि केन्द्रीय राजधानीमा काम र दाममको खोजीमा भित्रनेहरुको बाध्यता हो ।
शहरमा टाइसुट लगाएर चिल्लो गाडी चढेर कर्पोरेट हाउसमा गई काम गर्नेहरु मात्रै छैनन्, ठेला वा साइकलमा फलफूल बोकेर बिक्री गरेर जीवीकोपार्जन गर्नेहरु पनि छन् । तर, महानगरको नजर उनीहरु नभए हुन्छ भन्नेमा छ ।
गत बुधबार सुन्धारा क्षेत्रमा नगर प्रहरी र फुटपाथ व्यवसायी, जसलाई मेयर शाहले एमाले कार्यकर्ता भने, उनीहरु बीच झडप भयो । भिडियो भाइरल बन्यो । नगरप्रहरीको आलोचना भइरहँदा महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले नगर प्रहरीले कसैमाथि बल प्रयोग गर्ने नगरेको दाबी पनि गरेर उक्त घटनामा सफाइ दिए ।
त्यसो भए के केही महिनाअघि नगर प्रहरी जवानहरुलाई राखेर कसरी प्रस्तुत हुने भन्दै उनले दिएको ट्रेनिङ एआईले बनाएको भिडियो थियो त? सात महिनाअघि यीनै पाण्डले चौरमा नगर प्रहरीहरुलाई उभ्याएर काठमाडौं महानगरका नगरप्रहरी नगरभित्रका कुराहरुमा संवेदनशिल रुपमा प्रस्तुत हुन निर्देशन दिएका थिए ।
आज यीनै पाण्डे नगर प्रहरीले कसैमाथि कहिल्यै पनि बल प्रयोग नगर्ने दाबी गरिरहेका छन् ।
त्यसो भए के मुल सडकमा व्यापार गर्न नदिएपछि गल्लीभित्र छिरेर व्यापार गरिरहेका फूलफूल व्यापारीलाई दौडाएर नगर प्रहरीले गरेको हुलहुज्जतको भिडियो कसैको कल्पनाबाट बनाइएको हो ?
फुटपाथ पैदलयात्रीकै लागि हो । त्यसमा कुनै दुई मत छैन । महानगरले फुटपाथलाई पैदलयात्री मैत्री बनाएर दैनिक हिँड्ने मानिसको कैयौं सेकेन्ड बचाएर अन्ततः त्यसले अर्थतन्त्रमा नै प्रभाव पर्ने काम भएको पनि होला।
तर, सडक तथा फुटपाथमा गरिने व्यापारले पनि त अर्थतन्त्रलाई डोहोर्याइरहेको हुन्छ । फुटपाथमा व्यापार गरेर सडक अव्यवस्थित भएको हो भने व्यवस्थापन आवश्यक भएको बालेनको नेतृत्वले बुझ्नुपर्ने हो ।
देशभरका कैयौं कुनाबाट आएकाहरुको जीवनयापनकै बाटो त्यही भएको बुझेको अनुमान गर्ने हो भने महानगरले किन उनीहरुका लागि विकल्प आवश्यक छ भन्ने बुझ्न सक्दैन ?
फुटपाथ खाली गराउने र पैदलयात्राका लागि उपयुक्त बनाउने बालेनको लक्ष्यमा एउटै मात्र बाधा फुटपाथ व्यवसायी भएका हुन् भन्ने भाष्यकै रुपमा प्रस्तुत भइरहेको छ महानगरमा
केही गैरसरकारी संस्थाहरुको तथ्यांककाअनुसार काठमाडौं उपत्यकाभित्र २० देखि ३० हजार हाराहारीमा सडकमा व्यवसाय गर्नेहरु छन् । केन्द्रीय तथ्यांक विभागको सन् २०१८ को नेपालको आर्थिक जनगणनाकाअनुसार रोजगार रहेका ३२ लाखमध्ये २५.८ प्रतिशत अर्थात ८ लाख ३२ हजार जना अनौपचारिक क्षेत्रमा कार्यरत रहेका छन् । दर्ता नभएका व्यवसायहरु ४ लाख ६० हजार छन् भने सडक व्यवसायले अनौपचारिक क्षेत्रको ३.८७ प्रतिशत ओगटेको छ । यसले सहजै संकेत गर्छ, सडक व्यवसाय एक प्रमुख भागको देशको अर्थतन्त्रको पनि र धेरैको जीवनको आम्दानीको माध्यम हो ।
तर, महानगर भने यी कुराहरु मान्न तयार छैन । फुटपाथ खाली गराउने र पैदलयात्राका लागि उपयुक्त बनाउने बालेनको लक्ष्यमा एउटै मात्र बाधा फुटपाथ व्यवसायी भएका हुन् भन्ने भाष्यकै रुपमा प्रस्तुत भइरहेको छ महानगरमा । हटाइएकाहरुलाई कहाँ र कसरी पुर्नस्थापना गर्ने भन्ने विकल्प छैन । फुटपाथ व्यापारीका तीन संगठनकाअनुसार महानगरभित्र १० हजार व्यवसायी थिए । तर, महानगरले गरेको व्यवहारका कारण प्रायः विस्थापित भइसकेका छन् ।
तर, यी तथ्यांकसँग मेयर शाह अनविज्ञ छन् जस्तो देखिन्छ । सडक तथा फुटपाथ व्यवसायीहरुलाई कुनै निश्चित ठाउँ तोकर त्यसलाई नै ब्राण्डिङ गर्न सक्ने समाधान उनका लागि उपयुक्त देखिँदैन । ठाउँ तोकेर निश्चित समय तोकेर सडक व्यवसाय गर्नका लागि अनुमति पत्र दिएर व्यवस्थित बनाउन सकिन्छ भन्ने विषयमा पक्कै पनि इन्जिनियर बालेन अनविज्ञ नहोलान् । तर, उनी सामाजिक सञ्जालमा स्टेटस राख्ने र उनका समर्थनमा आउने कमेन्टकै आधारमा आफू सही गरिरहेको छु भन्ने भ्रममा छन् ।
फुटपाथ व्यापारी लगायतको समस्या समाधानको उपाय विस्थापन गर्नु मात्रै हो भन्ने ठान्ने उनलाई विकल्प दिएर व्यवस्थित गर्नु पनि समाधान नै हो भन्ने बुझाउन सक्ने हो भने राजधानीको सबै जिल्ला र सबै ठाउँका मान्छे आएर सपना देख्ने विविधात्मक विशेषता निरन्तर चलिरहने थियो होला । नभए त सिंहदरबारजस्तै राजधानी पनि सबैका लागि टाढा र भेट्न नसकिने हुनेछ, जहाँ सपना बोकेर आउँछु र सडकबाट सुरुवात गर्छु भन्ने सोच्ने अधिकार कसैलाई हुने छैन।