लेखापरीक्षणअघि र लेखापरीक्षणपछिको नाफा ५०% बढीले अन्तर कसरी ? राष्ट्र बैंकको कडाइले हो: डेपुटी गभर्नर

कसरी गर्ने न्यूनीकरण ?



अधिकांश बाणिज्य बैंकहरुले सार्वजनिक गर्ने अपरिस्कृत वित्तीय विवरणमा देखाएको नाफाभन्दा लेखापरीक्षणपछिको नाफा निकै कम भएको देखिएको छ । केही बैंकको १ प्रतिशतभन्दा कम फरक छ भने केही बैंकको ५० प्रतिशतभन्दा बढी । नियामक राष्ट्र बैंकले गरेको कडाइका कारण बैंकहरुको नाफामा यस्तो फरक देखिएको डेपुटी गभर्नर बमबहादुर मिश्र बताउँछन् ।

काठमाडौं । पपछल्ला वर्षहरुमा वाणिज्य बैंकहरुको लेखापरीक्षण गर्नुअघि र लेखापरीक्षण गरेपछिको नाफामा ठूलो अन्तर देखिन थालेको छ । र, यो क्रम बढ्दो छ ।

हालसम्म लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरेका १७ बैंकका लेखापरीक्षण गर्नुअघि र लेखापरीक्षण गरेपछिको नाफामा औषतमा १४.५१ प्रतिशतको फरक परेको छ । तीन बैंकको नाफामा ५० प्रतिशतभन्दा बढीको अन्तर छ ।

गत आर्थिक वर्षको लेखापरीक्षण गर्नुअघि यी बैंकको नाफा ५९ अर्ब ९५ करोड २० लाख रुपैयाँ रहेको थियो । लेखापरीक्षण गरेपछिको नाफा ५१ अर्ब २५ करोड १० लाख रुपैयाँ रहेको छ ।

२० वटा बैंकमध्ये १७ वटा बैंकहरुले लेखापरीक्षण गरेपछिको वित्तीय अवस्था सार्वजनिक गरेका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, कृषि विकास बैंक र प्रभु बैंकले लेखापरीक्षण गरेको प्रतिवेदन सार्वजनिक गरेका छैनन् ।

राष्ट्र बैंकबाट गत आवको साधारणसभा गर्न अनुमति पाएर प्रतिवेदन सार्वजनिक गरेका बैंकहरुले साउनमा पत्रपत्रिकामा प्रकाशित गरेको विवरण र अहिले लेखापरीक्षण गरेको विवरणमा ठूलो अन्तर देखिएको छ ।

१७ वटा बैंकमा ९ वटा बैंकको नाफाको अन्तर कम देखिएको छ । ५ वटा बैंकको १ प्रतिशतभन्दा कम अन्तर छ । सानिमा बैंकको लेखापरीक्षण नगरेको र लेखापरीक्षण गरेको नाफाको फरक ०.५० प्रतिशतमात्रै छ । लेखापरीक्षण नगर्दा बैंकको नाफा २ अर्ब ६१ करोड ९० लाख रुपैयाँ रहेको थियो । लेखापरीक्षणपछि १ करोड ३० लाख रुपैयाँले घटेर २ अर्ब ६० करोड ६० लाख रुपैयाँ रहेको छ ।

सिद्दार्थ बैंकले साउनमा प्रकाशित गरेको र लेखापरीक्षण गरेपछिको नाफामा ठूलो अन्तर छैन । साउनमा प्रकाशित गरेको विवरण अनुसार बैंकको नाफा ३ अर्ब १९ करोड रहेको थियो । लेखापरीक्षण गर्दा २ करोड ३० रुपैयाँले घटेर ३ अर्ब १३ करोड ७० लाख रुपैयाँ रहेको छ ।

नेपाल बैंकको नाफा पनि लेखापरीक्षण गर्नुअघि र पछि धेरै फरक देखिएको छैन । अन्य बैंकको नाफा लेखापरीक्षण पछि घटदा नेपाल बैंकको भने बढेको छ ।

लेखापरीक्षण गर्नु अघि बैंकको नाफा ३ अर्ब ४१ करोड २० लाख रुपैयाँ रहेको थियो । लेखापरीक्षण पछि ३ अर्ब ४३ करोड ८० लाख रुपैयाँ रहेको छ । लेखापरीक्षणपछि बैैंकको नाफा २ करोड ६० लाख रुपैयाँले बढेको छ ।

लेखापरीक्षणपछि नाफा बढ्ने बैंकमा नेपाल बैंक एक्लै छैन । नेपाल बैंकसँगै लक्ष्मी सनराइज बैंक पनि रहेको छ ।

लक्ष्मी सनराइज बैंकको नाफा लेखापरीक्षण गर्नुअघि २ अर्ब २६ करोड २० लाख रुपैयाँ रहेको थियो । लेखापरीक्षणपछि २ करोड ३० लाख रुपैयाँले बढेर २ अर्ब २८ करोड ५० लाख रुपैयाँ पुगेको छ ।

एभरेष्ट बैंकको नाफा लेखापरीक्षण गर्नुअघि र पछिमा १ प्रतिशतभन्दा कममात्रै फरक छ । लेखापरीक्षण गर्नुअघि बैंकको नाफा ३ अर्ब ३९ करोड ३० लाख रुपैयाँ रहेको थियो । लेखापरीक्षण गरेपछि ३ करोड १० लाख रुपैयाँले घटेर ३ अर्ब ३६ करोड २० लाख रुपैयाँ रहेको छ ।

बैंकहरुले प्रकाशित गरेको विवरण अनुसार स्टयाण्डर्ड चार्टर्ड बैंकको नाफा लेखापरीक्षण गरेपछि ६ करोड रुपैयाँले घटेको छ । लेखापरीक्षण गर्नुअघि बैंकको नाफा ३ अर्ब ५२ करोड २५ लाख रुपैयाँ रहेको थियो । लेखापरीक्षण गरेपछि ३ अर्ब ४८ करोड ५० लाख रुपैयाँ रहेको छ ।

एनआईसी एशिया बैंकको नाफा लेखापरीक्षण गरेपछि २० करोड ६० लाख रुपैयाँले घटेको छ । लेखापरीक्षण गर्नुअघि बैंकको नाफा ४ अर्ब ६५ करोड १० लाख रुपैयाँ रहेको थियो । लेखापरीक्षण गरेपछि ४ अर्ब ४४ करोड ५० लाख रुपैयाँ रहेको छ ।

यस्तै एनएमबि बैंकको लेखापरीक्षणअघि र पछिको नाफामा १८ करोड ७० लाख रुपैयाँको अन्तर देखिएको छ । लेखापरीक्षण गर्नुअघि बैंकको नाफा ३ अर्ब ४१ करोड रुपैयाँ रहेको थियो । लेखापरीक्षण गरेपछि ३ अर्ब २२ करोड ३० लाख रुपैयाँ रहेको छ।

ग्लोबल आइएमई बैंकको लेखापरीक्षण गर्नुअघिको नाफा ७ अर्ब २५ करोड ३० लाख रुपैयाँ रहेको थियो । लेखापरीक्षण गरेपछि ५५ करोड ९० लाख रुपैयाँले घटेर ६ अर्ब ६९ करोड ४० लाख रुपैयाँ रहेको छ ।

माछापुच्छ्रे बैंकको नाफा लेखापरीक्षण गर्नुअघि १ अर्ब ८५ करोड १० लाख रुपैयाँ रहेको थियो । लेखापरीक्षण पछि बैंकको नाफा २२ करोड ५० लाख रुपैयाँले घटेर १ अर्ब ६२ करोड ६० लाख रुपैयाँ रहेको छ ।

‘पछिल्लो समय बैंकलाई तथ्यांक तोडमडोर गरेर बढी नाफा देखाउनु परेको छ, जसले गर्दा पत्रिका र लेखापरिक्षण प्रतिवेदनको नाफा फरक हुने गरेको छ,’ एक बैंकरले भने, ‘यो गलत प्रवृत्ति रोकन राष्ट्र बैंकले एक्सन लिनु जरुरी छ ।

नेपाल एसबिआई बैंकको नाफा लेखापरीक्षण गर्नुअघि २ अर्ब २४ करोड २० लाख रुपैयाँ रहेको थियो । लेखापरीक्षण गर्दा २७ करोड ४० लाख रुपैयाँले घटेर १ अर्ब ९६ करोड ८० लाख रुपैयाँ रहेको छ ।

नबिल बैंकको लेखापरीक्षण गर्नुअघिको नाफा ७ अर्ब ५२ करोड ७० लाख रुपैयाँ रहेको थियो । लेखापरीक्षण पछि १ अर्ब १२ करोड २० लाख रुपैयाँले घटेर ६ अर्ब ४० लाख ५० हजार रुपैयाँ रहेको छ ।

सिटिजन्स बैंकको नाफा लेखापरीक्षण गर्नुअघि २ अर्ब २१ करोड ४० लाख रुपैयाँ रहेको छ । लेखापरीक्षण गरेपछि बैंकको नाफा ३५ करोड रुपैयाँले घटेर १ अर्ब ८६ करोड ४० लाख रुपैयाँ रहेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको नाफा लेखापरीक्षण गर्नुअघि ४ अर्ब ९१ करोड ७० लाख रुपैयाँ रहेको छ । लेखापरीक्षण गरेपछि १ अर्ब ३२ करोड २० लाख रुपैयाँले घटेर ३ अर्ब ५९ करोड ५० लाख रुपैयाँ रहेको छ ।

हिमालयन बैंकको लेखापरीक्षण गर्नुअघिको नाफा ३ अर्ब २६ करोड ६० लाख रुपैयाँ रहेको थियो । लेखापरीक्षण गरेपछि १ अर्ब ७० करोड ३० लाख रुपैयाँले घटेर लेखापरीक्षण गरेपछि १ अर्ब ५६ करोड ३० लाख रुपैयाँ रहेको छ ।

प्राइम बैंकको नाफा लेखापरीक्षण गर्नुअघि २ अर्ब २६ करोड ३० लाख रुपैयाँ रहेको थियो । लेखापरीक्षण गरेपछि १ अर्ब २३ करोड ५० लाख रुपैयाँले घटेर १ अर्ब २ करोड ८० लाख रुपैयाँ रहेको छ ।

यस्तै कुमारी बैंकको नाफा लेखापरीक्षण गर्नुअघि १ अर्ब ९५ करोड ५७ लाख रुपैयाँ रहेको थियो । लेखापरीक्षण गरेपछि १ अर्ब ४४ करोड रुपैयाँले घटेर ५१ करोड ७० लाख रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र बैंकहरुले प्रोभिजनमा राख्ने पैसा बढेका कारण लेखापरीक्षण गर्नुअघि र पछि नाफामा अन्तर परेको हुनसक्ने बताँछन् ।

पछिल्लो केही समय यता केन्द्रीय बैंकले वित्तीय विवरणलाई निकै गहनरुपमा अध्ययन गर्दा बैंकहरुले प्रोभिजनमा बढी पैसा राख्नु परेको उनको भनाइ छ ।

‘लेखापरीक्षणअघि र लेखापरीक्षण्पछि नाफामा ठूलो अन्तर देखिनुमा राष्ट्र बैंकले राम्रोसँग काम गरेको भनेर पनि बुझ्न सकिन्छ,’ डेपुटी गभर्नर मिश्रले क्लिकमान्डुसँग भने, ‘हामीले प्रोभिजन थपिदिएका कारण बैंकहरुको नाफामा अन्तर देखिएको हो ।’

१०-१५ प्रतिशत फरक पर्नु सामान्य भए पनि ५०/६० प्रतिशत नै फरक पर्नुलाई स्वाभाविक मान्न नसकिने मिश्र बताउँछन् । यसलाई राष्ट्र बैंकले सुक्ष्मरुपमा नियालीरहेको उनले बताए ।

बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दहाल अधिकांश बैंकको खुद नाफामा फरक पार्ने कारण कर्जामा हुन सक्ने सम्भावित क्षतिबाट सुरक्षित रहन गरिने कर्जा नोक्सानी व्यवस्था नै भएको बताउँछन् ।

उनका अनुसार तीन वटा काम गर्न सकेको खण्डका लेखापरीक्षणअघि र पछि बैंकको नाफाको अन्तर १० प्रतिशतभित्र राख्न सकिन्छ ।

प्रमुख जोखिम अधिकृतअन्तर्गतको कर्जा जोखिम व्यवस्थापन विभागले कर्जाको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थाको कार्य गर्न सकेमा तथा उक्त विभागलाई सक्षम र स्वतन्त्र बनाउन सकेमा लेखापरीक्षण अघि र पछि बैंकको नाफाको अन्तर १० प्रतिशतभित्र राख्न सकिने उनको भनाइ छ ।

आन्तरिक लेखापरीक्षण विभागलाई जोखिम व्यवस्थापन विभागले तयार गरेको कर्जाको वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्थासम्बन्धी प्रतिवेदन पुनरावलोकनको लागि समयमै उपलब्ध गराउने गरेमा, वित्त तथा जोखिम व्यवस्थापन विभागले भिन्न‑भिन्न व्याख्या हुन सक्ने वा अस्पष्ट विषयहरुमा बाह्य लेखापरीक्षक तथा नेपाल राष्ट्र बैंकसँग समयमै छलफल गरेमा लेखापरीक्षण अघि र पछि बैंकको नाफाको अन्तर १० प्रतिशतभित्र राख्न सकिन उनको बुझाइ छ ।

लेखापरीक्षणअघि र पछिको नाफामा ठूलो अन्तर देखिँदा बैंकले कर्जाको वास्तविक अवस्था लुकाएर खुद नाफा बढाउन खोजेको को ही भन्ने आरोपसमेत लाग्दै आएको छ ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ अनुसार बैंकहरुले आफ्नो वासलात, नाफा–नोक्सान हिसाबलगायतका वार्षिक वित्तीय विवरण नेपाल राष्ट्र बैंकले तोकेको ढाँचा र तरिकाअनुसार तयार गरी आर्थिक वर्ष समाप्त भएको ४ महिनाभित्र (कातिक मसान्त) बाह्य लेखा परीक्षण गराइसक्नुपर्ने व्यवस्था छ । तर, केही बैंकले भने त्यसलाई कार्यान्वयन गर्न सकेका छैनन् ।

२० वटा वाणिज्य बैंकहरुमध्ये १७ वटा बैंकहरुले हिसाबकिताबको बाह्य लेखापरीक्षण गराई २०८० पुसभित्रै वार्षिक साधारण सभा गरिसकेका छन् ।

असोज मसान्तभित्रै वार्षिक साधारणसभा गर्ने बैंकलाई राम्रो मानिन्छ भने पुस मसान्तसम्म पनि साधारणसभा गर्न नसक्नुलाई राम्रो मानिँदैन । धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ ले वित्तीय अवस्थाको जानकारी प्रकाशित गर्नु पर्ने बाध्यकारी व्यवस्था गरेको छ । तै पनि केही बैंकले त्यसलाई अटेर गरिरहेका छन् । समयमा नै बैंकहरुले साधारणसभा गरेको खण्डका त्यो बैैंकको वित्तीय अवस्था हेरेर लगानी गर्ने लगानीकर्ताहरुका लागि सहज हुने गर्दछ ।

सेयर बजारमा लगानी गर्ने लगानीकर्ताका लागि यो निकै प्रभावकारी मानिन्छ । कतिपय लगानीकर्ताले वित्तीय विवरण हेरेर समेत लगानीको धारणा बताउने गर्छन् । बैंकले समयमा नै साभारणसभा नगर्दा कम्पनी लगानीकर्ताप्रति उत्तरदायी नभएको लगानीकर्ताको आरोप समेत लाग्ने गरेको छ ।

‘पछिल्लो समय बैंकलाई तथ्यांक तोडमडोर गरेर बढी नाफा देखाउनु परेको छ, जसले गर्दा पत्रिका र लेखापरिक्षण प्रतिवेदनको नाफा फरक हुने गरेको छ,’ एक बैंकरले भने- ‘यो गलत प्रवृत्ति रोकन राष्ट्र बैंकले एक्सन लिनु जरुरी छ ।


क्लिकमान्डु