आक्रामक बजार विस्तारमा हिमालयन लाइफ इन्स्योरेन्स, ७७ वटै जिल्ला पुग्नेगरी झापाबाट सुरु गर्‍यो अभियान

सीईओ कर्ण भन्छन्- बिमा व्यवसायका लागि नेपाल भर्जिन मार्केट हो, छिट्टै ५० प्रतिशत ग्रोथ गर्छौं



काठमाडौ । हिमालयन लाइफ इन्स्योरेन्स व्यवसाय विस्तारमा आक्रामकरुपमा प्रस्तुत हुने भएको छ । व्यवसायी सुलभ अग्रवाल अध्यक्ष र मनोज कर्ण प्रमुख कार्यकारी अधिकृत (सीईओ) भएको हिमालयन लाइफ आक्रामकरुपमा प्रस्तुत हुने रणनीतिमा छ।

व्यवसायमा शंकर ग्रुप जसरी आक्रामक छ, त्यही शैलीमा हिमालयन लाइफ अघि बढ्न लागेको हो । हिमालयन लाइफका अध्यक्ष सुलभ शंकर ग्रुपका सञ्चालक हुन् । उनकै रणनीतिमा शंकर ग्रुप व्यवसायमा आक्रामक छ ।

प्रत्येक नेपालीको घरघरमा पुग्ने गरी बिमा चेतना अभियान सुरु गरिएको कम्पनीका सीईओ कर्णले जानकारी दिए । कम्पनीले पूर्वको झापाबाट अभियानको सुरुवात गरेको छ ।

उक्त बिमा चेतना अभियानको उद्घाटन शुक्रबार दिउँसो १ बजे झापाको विर्तामोडमा बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गरे । यो अभियान तीन चरणमा सञ्चालन हुनेछ ।

‘पहिलो चरण प्रदेशमा, दोस्रो जिल्लामा र तेस्रो गाउँदेखि वडासम्म साक्षरता कार्यक्रम सञ्चालन हुने छ,’ सीईओ कर्णले क्लिकमान्डुसँग भने ।

प्रदेशमा अभिकर्ताहरुलाई एकीकृत गरेर बिमा सम्बन्धी तालिम दिने उनले जानकारी दिए ।

अहिले बिमा अभिकर्तामा कमिसनको लोभले बिमितको आय मूल्यांकन नगरी ठूलो रकमको बिमा गराउने बिकृति बढ्दै गएको छ । यसले बिमित, बिमक र अभिकर्तालाई पुर्‍याउने असरका बारेमा जानकारी दिने उनको भनाइ छ।

‘अभिकर्ता सक्षम भएपछि बिमितले गर्ने बिमा सरेण्डर कम हुने गर्छ,’ कर्णले भने ।

दोस्रोमा चरणमा कम्पनीले जिल्लामा अभियान सुरु गर्नेछ । जहाँ कम्पनीका प्रतिनिधिहरु अभिकर्तासँगै पुगेर साक्षरता कार्यक्रम सञ्चालन गर्नेछन् ।

‘जिल्लामा हुने कार्यक्रममा बिमक, बिमित र अभिकर्ता तीनै पक्षको सहभागिता रहन्छ,’ सीईओ कर्णले भने, ‘बिमा किन गर्ने ? कसरी गर्ने ? बिमा गर्दा आम्दानी अनुसारको पोलेसी खरिद कसरी गर्ने र बिमा सुरक्षा, जोखिम लगायतका विषय समेट्छौँ ।’

प्रदेश र जिल्लाका कार्यक्रममा सीईओ कर्ण आफैं पुग्नेछन् ।

तेस्रो चरणमा भने कम्पनी गाउँदेखि वडासम्म पुग्नेछ । ‘यसरी हामीले जिल्ला र प्रदेशमा तालिम दिएका अभिकर्ता पुगेर हरेक वडादेखि घरसम्म पुगेर बिमा साक्षरता अभियान सञ्चालन गर्नेछन्,’ उनले भने ‘बिमा सम्बन्धी सम्पूर्ण जानकारीसहित अभिकर्ताहरु घरघरमा पुगेर बिमा गराउन नागरिकलाई उत्प्रेरित गराउनेछन् ।’

अहिले ३ करोड नेपालीमध्ये १५ प्रतिशतले मात्रै बिमा गरेका छन् । बिमा कम्पनीहरुले कुल नागरिकको ४५ प्रतिशत बिमा पोलिसी बिक्री गरिएको आँकडा देखाए पनि त्यो गलत छ । सहरमा एकै व्यक्तिले ३/४ वटालेख बिमा खरिद गर्दा दोहोरिएको बिमालाई वेवास्ता गरेर ४५ प्रतिशत जनसंख्या बिमामा आवद्ध छन् भन्नु गतल हो । ८५ प्रतिशत जनसंख्या बिमाको दायरामै छैनन्।

‘नेपाल बिमा व्यवसायका लागि भर्जिन मार्केट हो । यहाँ अथाह अवसरहरु छन्, जसलाई सदुपयोग गर्न बिमा कम्पनीहरुले बिमा साक्षरतालाई बढाउँदै गाउँगाउँसम्म बिमा गर्ने व्यवस्था गर्नुपर्छ,’ कर्णले भने, ‘यो अभियानबाट हामीले ५० प्रतिशत बिजनेश ग्रोथ गर्ने अनुमान गरेका छौं ।’

गाउँगाउँमा बाध्यात्मक स्थितिमा बिमा गर्नेहरु बाहेक स्वतस्फुर्त बिमा गराउनेहरु खासै भेटिँदैनन् । सरकारले वैदेशिक रोजगारीमा जानेहरुका लागि वैदेशिक रोजगार (म्यादी) बिमा गर्नुपर्ने व्यवस्था अनिवार्य गरेपछि गाउँमा बिमा बिस्तार हुँदैछ । विदेशमा अंगभंग भएको वा मृत्यु भएको अवस्थामा यहाँका परिवारले १० देखि १९ लाखसम्म रकम पाउन थालेपछि वैदेशिक रोजगार बिमाप्रति मानिस आर्कषित भएका छन् । यसले बिमा बजारलाई थप चलायमान बनाइरहेको छ ।

‘हिमालयन लाइफ इन्स्योरेन्ससँग मात्रै २५ वटासम्म बिमा पोलेसीहरु छन् । वैदेशिक बिमा पोलेसी बाहेकका पोलेसी पनि गाउँगाउँसम्म बिक्री गर्न सक्ने वातावरण बनाउनका लागि ७७ वटै जिल्लामा बिमा साक्षरता अभियान सञ्चालन गर्ने योजना बनाइएको हो,’ सीईओ कर्णले भने, ‘६ महिनामा सम्पन्न गर्ने गरि हामी साक्षरता अभियान सञ्चालनमा जुटेका हौँ ।’

झापााट सुरु भएको अभियान दार्चुला पुगेर समापन गर्ने उनले जानकारी दिए ।

चिया खर्च जोगाएर यसरी गर्न सकिन्छ बिमा- कर्ण

आज पैसा नभएर लाखौँ युवा खाडी मुलुक पलायन भइरहेका छन् । खेती गर्नकालागि पैसा नभएर उनीहरु बिदेशी भुमीमा कम पारिश्रमिकमा पनि श्रम गर्न बाध्य छन् । यदि यहीँ व्यवसायका लागि थोरै पुँजी पाउने हो भने उनीहरु बिदेशिने अवस्था पक्कै आउने थिएन ।

बिमा यस्तै पुँजी जुटाउने गज्जबको माध्यम बन्न सक्छ ।

तपाईंले स्कुल पढ्दै गर्दा नै दिनको एक कप चियाको पैसा जोगाएर बिमा गर्नुभयो भने पढाई सकिँदासम्म तपाईले बिमाबाटै थोरैमा ३/४ लाख रुपैयाँ जुटाउन सक्नुहुनेछ । पढाइ सकिएपछि नगद ३/४ लाख रुपैयाँ हातमा आउने हो भने यहीँ खेतीपाती देखि सामान्य प्रकृतिका व्यवसाय सुरु गर्न समस्या पर्दैन ।

बिमा सबैका लागि उस्तै हुँदैन । आफ्नो आय अनुसारका बिमालेखहरु खरिद गरेर फाइदा लिन सकिन्छ । तर बिमा गर्ने हैसियत छैन भन्ने भाष्य नै समाजमा स्थापित छ । यो नै गलत हो । पैसा बचाएको ठूलो रकमले बिमा गर्ने होइन, बरु तपाईंले खाने एक कप चिया, एउटा चुरोट वा एउटै खैनी बापतको रकम बचाएर बिमा गर्ने हो । दिनको १४ रुपैयाँकै दरले पैसा बचाउने हो भने मासिक ४ सय २० रुपैयाँ हुन्छ भने वार्षिक ५ हजार ४० रुपैयाँ हुन्छ । यसले तपाईले २० वर्ष अवधिको १ लाख बराबरको बिमालेख खरिद गर्न सक्नुहुन्छ । अवधि सकिएपछि तपाईले बोनससहित १ लाख ८० हजार रुपैयाँ देखि २ लाख रुपैयाँसम्म फिर्ता पाउनुहुन्छ ।

आज कुन नेपालीले महिनाको ४ सय १६ रुपैयाँ तिर्न सक्दैन ? यसरी सस्ता पोलेसीबाट पनि हामीले बाँकी रहेका ८५ प्रतिशत नागरिकलाई बिमामा जोड्न सक्छौँ ।

आजको १४ रुपैयाँले तपाईलाई लाख रुपैयाँको फाइदा गराउँछ भन्ने भाष्य समाजमा स्थापित गर्न पनि हामी साक्षरता कार्यक्रमा लिएर गाउँगाउँमा पुग्न चाहन्छौँ । हामीसँग सस्ता बिमालेखहरु पनि छन् । माथि उल्लेख गरेको एक लाखको बिमापोलेसी सबैभन्दा सस्तो पोलेसी हो । यो बाहेक ठूला रकमका पोलेसीहरु पनि छन् जुन बिमितले आफ्नो आयको मूल्यांकन गरेर खरिद गर्न सक्नेछन् ।

यस्तो प्रकारको पोलेसी सरकारको भत्तामा जीवन गुजारा गर्दै आएका राउटेदेखि भिख मागेर गुजारा चलाउनेहरुमा पनि प्रभावकारी बन्न सक्छ । राउटेले चिया, चुरोट र खैनी खाइरहेको हामी देखिरहेका हुन्छौँ, यदि उनीहरुमा बिमाको चेतना प्रवाह गर्ने हो भने त्यहि पैसा जीवन गुजारा गर्ने माध्यम बन्न सक्थ्यो ।

तसर्थ आज बिमा प्रवर्द्धन गर्दा १५ वर्षपछि बिमाको माध्यमबाट पनि देशलाई सबल बनाउन सकिन्छ । पुँजी भएमा हरेक नागरिकले उद्यम गर्न सक्छन् । चिया खर्च काटेर आज बिमा गराउने बिमितले १५ वर्षपछि हातमा ३/४ लाख रुपैयाँ बोकेर हिँड्न सक्छन् । त्यो पुँजी उद्यममा लगाए देशको अर्थतन्त्रमा पनि टेवा पुर्‍याउन सक्छ ।

आज ८ खर्ब रुपैयाँ बिमा क्षेत्रले देशमा लगानी गरिरहेको छ । यो बैंकिङ प्रणालीबाट उत्पादनमै पुगिरहेको लगानी हो । आज बिमाकम्पनीले करोडौँ रुपैयाँ बराबरको कर तिर्दै आएका छन् । तसर्थ बिमा बजारले समग्र अर्थतन्त्रमा कसरी फाइदा पुगिरहेको छ भन्ने कुरा नागरिकले मात्रै नभएर सरकारले पनि बुझ्न जरुरी छ ।

देशलाई कसरी सबल बनाउने जनताको भविष्य कसरी सुनिश्चित गर्दै उद्यम गर्ने वातावरणको र्सिजना गर्ने भन्ने बारेमा अब सरकार, बिमा कम्पनी, बिमा अभिकर्ता र बिमितले पनि सोच्ने बेला आएको छ ।

बिमा रोजागार, बेरोजगार, युवा, विद्यार्थी सबैलाई आवश्यक छ ।

कलेजका विद्यार्थी बिमितमात्र नभएर बिमक बनेर आवश्यक खर्च जुटाउन सक्छन् । गृहणी घरगाउँमै घुमेर खर्च जुटाउन सक्छन् । बिमितमात्रै होइन अभिकर्ता बनेर पनि उल्लेख्य फाइदा लिन सकिन्छ ।

अहिले हामीसँग २८ हजार लाइसेन्सयुक्त अभिकर्ता छन् भने अहिलेसम्म ६ लाख ७० हजार वटा पोलेसी बिक्री भइसकेको छ । यो अभियानले अभिकर्ता र बिमित दुवैलाई बढाउने छ ।

अहिलेसम्म मनाङ जिल्ला बाहेक सबै जिल्लामा हाम्रो शाखा कार्यालय छ । मनाङमा पनि शाखा कार्यालय खोल्ने काम भइरहेको छ। यसरी ७७ जिल्लामा बिमा साक्षरता कार्यक्रम सञ्चालन गर्ने हो भने हाम्रो व्यवसायमा नै ५० प्रतिशतले वृद्धि हुन सक्छ । कार्यक्रमको अपेक्षा नै व्यवसायिक वृद्धि हो जुन बिमा साक्षरताबिना असंभव छ ।

७७ वटै जिल्लामा कार्यक्रम सञ्चालनको पहिलो र दोस्रो वर्षसम्म व्यवसाय १५ प्रतिशतसम्मले बढाउने योजना छ । यो अनुमानमात्रै हो, १५ प्रतिशतभन्दा बढी वा घटी पनि हुन सक्छ । तर ३ देखि ४ वर्षमा कार्यक्रममको प्रभावकारीता आफैँ देखिनेमा ढुक्क छौँ हामी । यो अवधिमा कार्यक्रममार्फत् ५० प्रतिशत धेरै बिमालेख बिक्री गर्ने अपेक्षा छ । यस्तो वृद्धि दीर्घकालीन हुनेछ ।

अहिलेको अवस्थामा बिमा सरेण्डर निकै बढिरहेको छ । चालु आर्थिक वर्षको ६ महिनामा करिब ५३ हजारले ६ अर्ब बरारबरको बिमापोलिसी सरेण्डर गरे । सरेण्डर गर्नेमा अधिकांशले आम्दानीको मूल्यांकन नगरी ठूलो रकमको बिमा गराइ किस्ता वापतको रकमसमेत तिर्न नसक्नेहरु छन् ।

हामीले बिमा गर्दा घाँटी हेरेर हाड निल्ने गरी बिमा गर्नुपर्छ भन्ने कुरा बुझाउन चाहन्छौँ । अभिकर्ताको भनाइमा लागेर आफ्नो क्षमताभन्दा बढीको बिमा गरेर सरेण्डर गर्नु पर्दाका बेफाइदाहरु धेरै छन् । अवधि नपुग्दा बिमितले पाउने सबै पैसा फिर्ता पाउँदैनन्, बिमा ढिलो नवीकरण गर्दा जरिवानामा पर्ने हुन्छ । यसले फाइदाभन्दा घाटा धेरै हुन जान्छ । अण्डर इन्स्योरेन्स र ओभर इन्स्योरेन्सका कारण बिमा सरेण्डर हुँदा बिमितलाई मात्रै होइन बिमकलाई पनि घाटा हुन्छ ।

कम्पनीले पनि १५/२० वर्षको अवधिका लागि तपाईंको रकम लगानी गर्ने योजना बनाएको हुन्छ । सरेण्डर हुँदा बिमितले बिमा अवधिमा पाउने पैसा पाउँदैनन् भने कम्पनीले तपाईको रकमलाई हेरेर बनाएको योजना पनि सफल हुँदैन । यसले कम्पनी र बिमित दुवैलाई घाटा बनाउँछ ।

यो कुरा बुझाउन पनि अब प्रोफेसनल अभिकर्ता गाउँ गाउँमा पुग्नेछन् । मर्जरमा गएपछि हामी पुन बिमा साक्षरतालाई नयाँ जोशका साथ अगाडि बढाउने योजनामा छौँ ।

नयाँ पोलिसी आवश्यक छैन

हामीसँग अहिले २५ वटा पोलिसी छन् । यसैलाई बिक्री गर्न सक्नुपर्यो । यो बिक्री नहुँदै ४/५ लाख रुपैयाँ खर्च गरेर किन नयाँ पोलिसी ल्याउने ? बाँकी ८५ प्रतिशत नागरिकलाई बिमाको दायरामा ल्याएपछि हो नयाँ पोलिसी ल्याउने । अहिले जीवन बिमातर्फ लघुसहित १७ वटा र निर्जीवनतर्फ लघुसहित १७ वटा बिमा कम्पनीहरु छन् । यी कम्पनीहरु व्यवसायीक बिस्तारका लागि नयाँ पोलिसी जारी गर्ने होडमा छन् जुन गलत छ । नयाँ पोलिसी ल्याउनै पनि ३ देखि ४ लाख रुपैयाँसम्म एक्चुअरीमै खर्च हुन्छ जबकी हामीसँग भएका पुरानै पोलिसी पनि ग्राहकसम्म पुग्न सकेको छैन । अनि किन खर्च गर्ने?

पुरानै पोलिसी बिक्री गर्न सकेकै छैनौँ भने किन नयाँ पोलिसी ल्याउने ? बिमा नगर्ने ८५ प्रतिशत नागरिकले बिमा गरिसकेको अवस्थामा नयाँ पोलिसी जारी गर्ने हो । पोलिसीको बथान लगाएर बिक्री चाँहि नगर्ने परिपाटीको अन्त्य गर्नुपर्छ ।

यस्तो छ हिमालयन लाइफको अहिलेको व्यापार

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा हिमालयन लाइफ इन्स्योरेन्सको नाफामा ८.२४ प्रतिशतले कमी आएको छ । गत आवको पुस मसान्तसम्म ३७ करोड ७१ लाख रुपैयाँले नाफा कमाएको कम्पनीले चालु आवको सोही अवधिमा ३४ करोड ६० लाख रुपैयाँ मात्रै नाफा कमाएको हो ।

गत वर्षको पुसमाभन्दा चालु आवको पुस मसान्तसम्म कम्पनीको दाबीभुक्तानी १७ प्रतिशतले बढ्दा नाफालाई असर गरेको देखिन्छ । तर, कम्पनीले चालु आवको पुस मसान्तसम्म कमिसन र कर्मचारीमा हुने खर्चलाई भने घटाएको छ । गत आवको पुस मसान्तसम्म कम्पनीले २ अर्ब ६५ करोड रुपैयाँ बिमितलाई दाबी भुक्तानी गरेपनि चालु आवमा ३ अर्ब ९ करोड रुपैयाँ दाबी भुक्तान गरेको हो ।

दाबी भुक्तानी बढेपछि कम्पनीले कमिसन खर्चलाई ८.०२ प्रतिशतले घटाएको छ। कम्पनीले गत आवमा ७१ करोड ३६ लाख रुपैयाँ कमिसन वापत खर्च गरेकोमा चालु आवको सोही अवधिमा ६५ करोड ६३ लाख रुपैयाँमात्रै खर्च गरेको हो ।

यस्तै कर्मचारी खर्च पनि ८.९४ प्रतिशतले घटेको छ। गत आवको पुस मसान्तसम्ममा कम्पनीले ४७ करोड १७ लाख रुपैयाँ खर्च गरेकोमा चालु आवको सोही अवधिमा ४२ करोड ९५ लाख रुपैयाँ खर्च गरेको हो ।

यस्तै कम्पनीको प्रिमियशुल्क संकलन भने चालु आवको ६ महिनामा ८.४४ प्रतिशतले बढेको छ । गत आवको पुस मसान्तसम्म कम्पनीले ७ अर्ब ४६ करोड रुपैयाँ प्रिमियम शुल्क संकलन गरेकमा चालु आवको सोही अवधिमा ८ अर्ब ९ करोड रुपैयाँ संकलन गरेको हो ।

यो अवधिमा ३ लाख ८४ हजार ८ सय ९७ वटा बिमालेख जारी हुँदा १ अर्ब ६ करोड रुपैयाँ प्रथम बिमाशुल्क संकलन भएको छ । गत आवमा कम्पनीले १ अर्ब २७ करोड रुपैयाँ प्रथम बिमा शुल्क संकलन गरेको थियो । तुलनात्मक रुपमा चालु आवको पुस मसान्तसम्म प्रथम बिमशुल्क संकलन पनि घटेको हो ।

यस्तै चालु आवको पुसमसान्तसम्म नविकरण शुल्क भने बढेको देखिन्छ ।

कम्पनीले चालु आवको पुस मसान्तमा ७ अर्ब ३ करोड रुपैयाँ संकलन गरेको छ। गत आवको पुस मसान्तसम्ममा कम्पनीले ६ अर्ब १८ करोड रुपैयाँ शुल्क संकलन गरेको थियो ।

कम्पनीको चुक्तापूँजी भने ८ अर्ब २ करोड रुपैयाँ छ । नियामक बिमा प्राधिकरणले जिवन बिमा कम्पनीको चुक्तापूँजी ५ अर्बको सिमामा पुर्याउने व्यवस्था छ । कम्पनीले चुक्तपूँजी न्युनतम सीमाभन्दा माथि पुर्याएको हो ।


क्लिकमान्डु