विजयकुमार-म्यागी प्रेम कहानी: अमेरिकामा ‘ब्लाइन्ड डेट’, राजाको विहेसँग जुधेपछि भारत गएर लगनगाँठो
अमेरिकामा मेरो पढाइ सकिन लागेको थियो । म विदेशीसँग बिहे गर्नुपर्छ भन्ने सोचमा थिइनँ । त्यसबेलामा नेपालको कानुनले विदेशीसँग विवाह गर्न पनि दिँदैन थियो । तर, राजा महेन्द्रले विदेशीसँग नेपालीले विवाह गर्न पाउने कानुन बनाइदिनु भयो । मलाई पनि हिम्मत आयो ।
म्यागी र म छुट्टा छुट्टै कम्युटर डेट (ब्लाइन्ड डेट) मा थियौं । डेटका लागि एउटा मिति तोकिएकाे थियाे। तर, दुबै जना त्यो डेटमा गएनौं ।
उनी पनि गइनछिन् अनि म पनि गइन । तर त्यहिदिन एकजना साथीकहाँ पार्टी थियो । उ(म्यागी) आएको मलाई र म आएको उसलाई थाहा थिएन । हाम्रो पहिलो भेट त्यहीँ पार्टीमा भएको हो । भाग्यले त्यहाँ पनि खेल खेल्यो । म्यागीको क्लासमेटको ब्वाइफ्रेन्ड मेरो रुममेट थियो । त्यसकारणले हामी उसको पार्टीमा गयौं । ब्लाइन्ड डेटमा नगएर म पार्टीमा गएको थिएँ, उनले पनि त्यसै गरेकी रहिछन् ।
त्यो पार्टीमा म र म्यागीबाहेक सबै जना मदिराले मातिए । हामी भने साथीहरुको बान्ता सोर्दा-सोर्दा थाक्यौं ।
अरे यो कस्तो पार्टी ? भन्ने भयो । म्यागीमा मैले एउटा गुण देखें । त्यो सुरुवात थियो ।
मुख्य कुरा उनी ठूलो परिवारकी थिइन्, र मेरो पनि ठूलै परिवार थियो । म जेठो थिएँ । मैले सबैको ख्याल गर्नुपर्थ्यो ।
पार्टी सकिँदा हामी ‘ब्लाइन्ड डेट’ मा रहेको दुबैलाई थाहा थिएन । तर, एकअर्काप्रति आकर्षित भइसकेका थियौं ।
बुबाले मलाई भन्नु भएको थियो, ‘मलाई छोरी चाहिन्छ, बुहारी होइन !’
आमा दुर्गाको भक्त । आमा मन्दिरमा पूजा गरिरहनु भएको थियो । यो हाम्रो हिन्दू संस्कारको कुरा हो । आमाले जुन केटी मेरो बुहारी हुन लायक छ, मलाई कुनै चिनो देउँ भन्नुभयो ।
आमाको इच्छा थियो कि मेरो घरमा हिन्दू नै बुहारी आओस् वा अरु जातीको हो भने हिन्दू बनोस् ।
मैले धेरै साथीहरुसँग खिचेको फोटो देखाएँ । आमा पल्टाउँदै जानु भयो । मेरो र म्यागीको फोटो आउन साथ एउटा फुल झर्यो । उहाँले छोरा जे होस्, यो हिन्दू होस्, मुसलमान होस्, इसाई होस्, हप्सी होस् । यहि केटी तिम्रो श्रीमती बन्नुपर्छ भन्नुभयो ।
आमा-बुबाबाट म्यागीसँगको मेरो ‘लभ’मा लालमोहर लागिहाल्यो ।
उनी अमेरिकाको ओहियोमा जन्मिएकी थिइन् । नेपालजस्तो गरीब देशको केटासँग विहे गर्छुभन्दा पक्कै पनि परिवारमा केही प्रश्नको जवाफ दिनुपर्यो । तर, धेरै कठिन चाहीँ भएन ।
२८ फेब्रुअरी १९७० मा हाम्रो बिहेको मिति तोकियो । तर, त्यही दिन राजा वीरेन्द्रको पनि विवाह थियो । हाम्रो पारिवारिक सर्कलबाट सन्देश आयो- त्यो दिन तिमिले विवाह नगर । राजाको विवाह र जनताको विवाह एकै दिनमा हुनु हुँदैन ।
पण्डितले भनिदिए- आज यो विवाह नभए ५ वर्ष हुँदैन । ग्रह मिल्दैन ।
हरे राम ! हामी फसादमा पर्यौं ।
हामीले एउटा उपाय निकाल्यौं- भारतमा गएर विहे गर्ने ।
म्यागीले पनि एकदमै क्रिटिकल भूमिका निभाइन् । एउटी अमेरिकन भएर पनि मेरो बुबा र आमाको उनले ख्याल राखिन् । धेरै कम नेपालीले मात्रै यस्तो गर्छन् ।
बुबाले बुहारी यो बनाउ, त्यो बनाउ भन्नुहुन्थ्यो । उनी थपक्कै मान्थिन् । उनले मेरो सबै भाइबहिनीको ख्याल राखिन्। त्यो देखेर बुबा भन्नुहुन्थ्यो- मेरो घरमा बुहारी होइन, छोरी आएकी छ ।
सबैभन्दा राम्रो कुरा त उनले मलाई बुझिन् । विवाह भएको दोस्रो दिन ‘व्यापारमा संकट आएको छ फिल्डमै गएर हेर त’ भनेर बुबाले भन्नुभयो । हनिमुनको दिन बिहान ४ बजे म म्यागीलाई एक्लै छाडेर फ्याक्ट्री भएको ठाउँ गौरमा गएँ।
तिमी जाउ विजय मेरो त ड्युटी यहीँ छ । मैले तिम्रो आमाबुबा, भाइबहिनीको ख्याल राख्नुपर्छ । त्यसैले म यहि बस्छु भनेर हाँसीहाँसी म्यागीले बिदा गरिन् ।
हामी सँगै हुनुको शक्ति यहि हो । अहिले पनि व्यापारको सिलसिलामा आज यहाँ जानुछ, यो गर्नुछ, ल्याबमा काम छ भन्दा उसले गर त्यो तिम्रो प्रोफेसन हो भन्छिन् । त्यसैले अफिस आउनु मेरो लागि सधैं मजाको विषय हुन्छ ।
हामीबीच कुनै इगो छैन- म ठूलो कि श्रीमती ठूलो भन्नेमा । हामी एक हौं । त्यसैले पनि उनले बिजनेसमा सहभागिता जनाइन् । काठमाडौं, वीरगञ्ज, विराटनगर, नेपालगञ्ज र भैरहवा मुख्य व्यापारको ठाउँ थियो । विदेशी भएकाले उसको नेपाल घुम्ने धेरै इच्छा थियो ।
पहिलो पटक मैले स्नोक्याप्ड माउन्टेन त्यो बेला देखें, जब उनी बाथरुमबाट कराइन्–ओ लुक एट द्याट ।
उनी चिच्याएको सुनेर म त आतिएँ । अहो सर्प-सर्प आयो कि के हो ? भूतसुत आयो कि के हो भनेर दौडिँदै गएँ । उनले उ त्यो हिमाललाई हेर भनिन् । त्यस दिनसम्म जीन्दगीभर त्यो हिमाल देखेर त्यस्तो एक्साइटेड म कहिल्यै भएको थिइनँ । त्यसैले मैले हाम्रो हिमाललाई त्यो बेला अवलोकन गरें, जब उनले देखाइन् ।
‘तिमी प्रोडक्सनमा लागेका छौं, रिचर्समा लागेका छौं । कोही न कोही त मार्केटमा हुनुपर्यो’ भनेर उनी गाउँ–गाउँमा यात्रा गर्न थालिन् । सबै साहुनीहरुको नाम लिने । उसको छोराको नाम लिने । कहिले चकलेट त कहिले के लिएर जाने । उनले हाम्रो प्रोडक्टको मार्केटिङ गर्न थालिन् ।
म्यागीकै कारणले पहिलो पटक नेपालको पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण, हुम्लाजस्ता ठाउँमा पनि हाम्रो रक्सी पुगेको हो । भोड्काको जुन मार्केटिङ भयो, त्यसमा मेरो श्रीमतीको उत्तिकै योगदान छ । भोड्का जो बनेको छ, मेरो मात्रै कामले भन्न सक्दिनँ । म प्रोडक्सनमा थिएँ । बजारीकरण, म्यानेजमेन्टमा धेरै ध्यान दिने फ्रन्ट सिट म्यागीले लिएको हो ।
म्यागीले नेपाली पनि धेरै छिटो सिकिन् । पाँच कक्षासम्म त घरमै नेपालीको टिचर राखेर ट्युसन पढिन् ।
(जाउलाखेल ग्रुप अफ इन्ड्रस्टिजका अध्यक्ष विजयकुमार साहसँग गरिएको कुराकानीमा आधारित ।)