दैलेखमा सवारी दुर्घटनामा परेका एमाले महासचिवको ट्रमा सेन्टरमा स्वास्थ्य जाँच



काठमाडौं । शनिबार दैलेखमा भएको सवारी दुर्घटनामा परेका नेकपा एमालेका महासचिव शङ्कर पोखरेलको काठमाडौँस्थित ट्रमा सेन्टरमा स्वास्थ्य जाँच गरिएको छ ।

सुर्खेतबाट दैलेख कार्यक्रममा सहभागी हुन जाने क्रममा उनी सवार गाडी सडकमा पल्टिँदा सामान्य घाइते भएका छन् । ‘उहाँ आज ट्रमा सेन्टरमा गइ उनको स्वास्थ्य जाँच गर्दा सामान्य चोटपटक मात्रै देखिएको छ’ एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले भने, ‘उहाँको तिघ्रा र हातमा समान्य चोट लागेको छ । भिडियो एक्सरे गरेर हेर्दा कुनै त्यस्ता खतरा छैन ।’

महासचिव पोखरेलले आजै सुर्खेतबाट काठमाडौँ आएका हुन् । जिल्ला अधिवेशन उद्घाटन गर्न दैलेख जान लाग्दा दैलेखको डुङेश्वर गाउँपालिका–१ चुप्रा नजिकै उनी सवार गाडी सडकमा पल्टेको थियो । गाडीमा एमाले महासचिव पोखरेलसहित केन्द्रीय सदस्य दीपा शर्मा कर्णाली प्रदेश कमिटी सचिव धु्रव शाही पनि थिए ।

गाडीमा रहेका कर्णाली प्रदेशका उपसचिव पद्मा खड्काको हातमा चोट लागेको एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।


क्लिकमान्डु