विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान मान्दैनन्



चितवन । बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले विशेषज्ञ चिकित्सक काठमाडौँ र भरतपुरबाहेक अन्यत्र जान नमान्ने गरेको बताएका छन् ।

छ वटा रोटरी क्लबले शनिबारदेखि भरतपुरमा शुरु गरेको कृत्रिम हातखुट्टा प्रदान गर्ने कार्यक्रमको उद्घाटन गर्दै उनले प्रदेशका विभिन्न जिल्लाका लागि मन्त्रालयले विशेषज्ञ चिकित्सक माग गरे पनि पाउन नसकिएको बताए ।

उनले मन्त्रालयले विशेषज्ञ चिकित्सक माग गर्दा पाउन नसकेपछि सम्बन्धित स्थानीय तह र अस्पताललाई नै विज्ञापन गरी माग गर्ने अधिकार दिइएको बताए । उनले भने, ‘एक हप्ताअघिदेखि मन्त्रीस्तरीय निर्णय गरेर स्थानीय तह र अस्पताललाई नै चिकित्सक माग गर्न विज्ञापन गर्ने अधिकार दिइएको छ ।’

उनले तल्लो तहसम्म चिकित्सकीय सेवा दिन मन्त्रालय लागिपरेको भए पनि त्यसो गर्न नसकेको बताए । उनले भने, ‘कसरी तल्लो तहसम्म विशेषज्ञ चिकित्सक पठाउन सकिन्छ भन्ने बारेमा थप छलफल भइरहेको छ, प्रोत्साहन भत्ता दिएर सकिन्छ कि भनेर नीति अवलम्बन गरिएको छ ।’

काठमाडौंका डाक्टर काठमाण्डौंमा मात्रै बस्न चाहने र भरतपुरका भरतपुरमै मात्र बस्न चाहने जनाउँदै उनले भने ‘भरतपुरबाट माडी गइदिनुहोस् भन्दा पनि मान्नुहुन्न ।’ उनले चिकित्सकहरु सरकारले पठाएको ठाउँमा जाने, दुर्गम क्षेत्रमा गएर काम गरिदिने भए समस्या नपर्ने बताए ।


क्लिकमान्डु