भाषण सुन्ने मानिस नहुँदा पनि भाषण गर्न छोड्दैनन्ः पूर्वप्रधानमन्त्री देउवा


काठमाडौं । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन् ।

शुक्रबार नेपाली काँग्रेस काठमाडौं जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले लामो भाषण गर्नेहरुप्रति इंगित गर्दै भाषण सुन्ने मानिसहरु खालि भएपनि नेताहरु भाषण गरिरहेको देखिएको बताए ।

उनले उद्घोषकलाई मात्रै भाषण सुनाउने काम बन्द गर्नुपर्ने आशय व्यक्त गरे । उनले नेताहरु आफ्ना कुरा राखेर हिँडिसकेपछि व्यंग्य गर्दै सबै हिँडिसकेपछि बोल्नुको अर्थ नरहने बताए । उनले सरोज बाँगेलाई राष्ट्रिय सभाको टिकट नदिएकोमा धेरैले दुःखेसो व्यक्त गरेको भन्दै अर्को पटक जिताएर देखाउन आग्रह गरे ।

उनले भने, ‘मान्छे बाँकी कोही छैन, के बोल्नु । के अवस्था भइसक्यो भने मान्छे बोल्दा बोल्दा हल खालि भइसकेको हुन्छ, सबैकुरा स्पष्ट सुनाउनु पनि छ । कुरा सुनाउन पनि कहिले काहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ । एक जना बसेको हुन्छ । अनि धन्यवाद है तपाई त लास्टसम्म बस्नुभयो भन्छन् । तपाईको भाषण सुन्न होइन माइकका लागि लिन आएको हो । माइक मैले दिएको हो भन्ने बेला छ ।’

सभापति देउवाले काठमाडौं देशकै राजधानी भएकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा धेरै महत्व राख्ने हुँदा सम्मेलनबाट पास गर्ने प्रश्ताव उदाहरणयोग्य बनाउन निर्देशन दिए ।