उत्कृष्ट कार्य संस्कृति र उच्च कर्मचारी उत्पादकत्व



कर्मचारी व्यवहार, नेतृत्व अभ्यास, कार्यस्थल वातावरण एवं सुविधाहरु र संस्थागत नीतिहरुले सामुहिक रुपमा कर्मचारीहरुमा पर्ने असरलाई नै कार्य संस्कृति भनिन्छ । कार्य संस्कृतिलाई सकरात्मक एवं नकरात्मक रुपमा मापन गर्ने गरिन्छ । हामी सबैले कार्य संस्कृत्तिको बारेमा धेरै सुनेका छौँ र कुनै पनि संगठनको सफलताको बक्ररेखालाई सहि आकार दिने यसको क्षमताको बारेमा पनि बुझेकै छौँ तर के हामीले आफ्नो कार्यस्थलको कार्य संस्कृत्तिको बारेमा विशेष रुपमा ध्यान दिएका छौँ त ? कार्य संस्कृत्ति त दैनिक रुपमा व्यक्त भइरहेकै हुन्छ ।

उच्च व्यवस्थापकहरु, विभागीय प्रमुखहरु, अग्रस्थानमा खटिएर कार्य गर्ने कर्मचारीहरु, कार्यालय सहयोगीहरुका कृयाकलापद्धारा यो हरेक दिन प्रभावित भैरहेकै हुन्छ । कार्य संस्कृति एक अमूर्त धारणा हो तर यसले कर्मचारीहरुको र सेवाग्राहीहरुको अनुभवमा महत्वपुर्ण भुमिका खेलिरहेको हुन्छ । बैंकमा कर्मचारी भर्ना प्रणाली धेरै सुदिृढ र सशक्त छ र व्राण्डको नाम लोगो पनि धेरै नै आकर्षित छ जसले दक्ष एवं कुशल प्रतिभाहरुलाई बैकंमा आकर्षित त गर्न सक्दछ तर बैंकमा रहेको कार्य संस्कृत्ति ले ति नवआगन्तुक प्रतिभाहरुलाई टिकाइराख्न सक्दछ या सक्दैन भन्ने प्रश्न उत्तिकै महत्वपुर्ण छ । असल कार्य संस्कृत्ति भएको संस्थामा कर्मचारीहरुको आर्कषण, उनीहरुको योगदान, अपनत्व बढि हुन्छ र यसले अन्ततोगत्वा कर्मचारीको उत्पादकत्वमा टेवा पुर्याइरहेको हुन्छ ।

कुनै पनि संगठनमा विभिन्न श्रोतहरु मध्य मानवश्रोत नै सबैभन्दा महत्वपुर्ण श्रोत हो । भौतिक, आर्थिक र सुचनाका श्रोतहरु को सहि सदुपयोग गरी उत्पादकत्व अभिवृद्धि गर्ने जिम्मेवारी कर्मचारी को हो । त्यसैले कर्मचारीहरुलाई नै संगठनका सबैभन्दा मुल्यमान सम्पत्ति मानिन्छ । दक्ष, सीपयुक्त, इमानदार, लगनशिल र जिम्मेवार कर्मचारीको बोलवाल भएमा त्यो संगठनको लागि वरदान हुन सक्दछ । बैंकको आर्थिक समृद्धिको मुल आधार नै कर्मचारीको उत्पादकत्व हो ।

कर्मचारीको उत्पादकत्व उच्च भएमा बैंकका सम्पुर्ण सरोकोवालाहरुको आर्थिक कल्याण अभिवृद्धि हुने कुराको निश्चितता हुन्छ । कर्मचारीको उत्पादकत्व कम भएमा बैंकको प्रतिस्पर्धी क्षमता कमहुन गई आर्थिक समृद्धिमा नकरात्मक प्रभाव पर्दछ । त्यसैले बैंकहरु कसरी कर्मचारीको उत्पादकत्व अभिवृद्धि गर्न सकिन्छ भन्ने विषयमा नीति रणनीति तर्जुमा गरी सोहि अनुशार कार्य गरिरहेका हुन्छन । कर्मचारी उत्पादकत्वलाई प्रभाव पार्ने थुप्रै कारणहरु हुन सक्दछन ता पनि सबैभन्दा महत्वपूर्ण कारण कार्य संस्कृतिलाई नै मानिन्छ ।

कर्मचारी उत्पादकत्व कम हुनाका कारणहरु

१.कमजोर कार्य संस्कृति
सरकारी बैंकहरुको कार्य स्थलको समग्र अवस्था हेर्दा कार्य संस्कृत्तिमा निकै नै कमजोरीहरु रहेको देखिन्छ । फितलो नीति नियम, व्यवसायिक तथा दुरदर्शि नेतृत्वको अभाव, सिमित सुझाव सल्लाह सुझाव, स्पष्ट निर्देशन नहुनु, व्यवसायिक सोचको अभाव, समयको वेवास्ता गर्नु, जिम्मेवारी बोधको अभाव, प्रभावकारी पुरस्कार र दण्ड प्रणालीको अभाव को कारण कार्य संस्कृत्ति स्खलित हुँदै गएको देखिन्छ । कार्य वातावरण विशाक्त भएमा यसले कर्मचारीहरुलाई निकै थकित, कमजोर साथै अउत्प्रेरित बनाउँदछ ।

कमजोर कार्य संस्कृतिका परिचायकहरु

  • कर्मचारीहरुमा कोर भ्यालु परिभाषित नहुनु
  • व्यवस्थापक तथा नेतृत्वले कोर भ्यालु अनुशरण नगर्नु
  • कार्यालय भित्र अनावश्यक र नकारात्मक कुराकानी तथा टिकाटिप्पणीहरु हुनु
  • बैंकमा कर्मचारीहरुको वहिर्गमन धेरै हुनु
  • कर्मचारीहरुको बीचमा अस्वस्थ प्रतिस्पर्धा उच्च हुनु
  • कार्यालयमा कर्मचारी ढिला उपस्थित हुनु वा प्राय अनुपस्थित रहनु
  • लञ्च व्रेक नलिनु वा तोकिएको समयभन्दा धेरै समय लञ्च व्रेकमा खर्चिनु
  • कर्मचारीहरुमा पर्याप्त प्रशंसा, पुरस्कार सम्मानको व्यवस्था नहुनु
  • कर्मचारीद्वारा बैंकको नकारात्मक पक्षको हल्ला गर्नु वा विभिन्न माध्यमद्वारा नकारात्मक टिकाटिप्पणी गर्नु
  • बंैकको नेतृत्व लगायत उच्च व्यवस्थापकको नकारात्मक टिप्पणी गर्दै हिड्नु
  • कार्यालयका गोप्य कागजात एवं सूचना अनाधिकृत रुपमा जानकारी गराउनु वा पहुँचमा पु¥याउनु
  • विभिन्न तालिम, गोष्ठी, बैठकहरुमा उपस्थित नै नहुनु, उपस्थित भएपनि आफ्नो राय, सल्लाह, विचार व्यक्त नगर्नु वा नकारात्मक शैलिमा मात्र प्रस्तुत हुनु
  • बैंकले समय समयमा जारी गर्ने निति, नियम, अचार संहिता, नियमावली लगायत विभिन्न परिपत्रहरुको परिकल्पना नगर्ने
  • बैंकले गर्ने निर्णयहरुमा अपनत्वको भावना नराख्ने
  • उपल्लो दर्जाका व्यवस्थापकहरुमा सधैभरी नतमस्तक हुने तर आफु भन्दा तल्लो तहका कर्मचारीहरुप्रति प्रायः निर्मम शैलीमा प्रस्तुत हुने ।
  • निर्धारित समयभित्र कार्य सम्पादन नगर्ने
  • संगठनको साधनश्रोतको सहि सदुपयोग नगर्ने र दुरुपयोग को लागि अग्रसर हुने
  • विभिन्न आधारमा कर्मचारीहरुबिच ग्रुपिजम खडा गर्ने
  • कार्यालयले तोकिएको समय आफ्नो व्यक्तिगत प्रयोजनमा लगाउने
  • कार्य सम्पादन भन्दा बढि पदमा जोड दिने
  • व्यवस्थापकले विभिन्न आग्रह पूर्वाग्रहका आधारमा निर्णय लिने
  • आफूले सम्हालेको विभाग तथा कार्यालयको भन्दा प्रतिस्पर्धी कर्मचारीहरुको कार्य सम्पादनमा सूक्ष्म अध्ययन गरिहने
  • योग्यता र क्षमतालाई भन्दा अन्य आधारमा पदोन्नती गरिने
  • कर्मचारी संगठनहरुको सदस्यताको आडमा तोकिएको जिम्मेवारी प्रति वेवास्ता गर्ने । समर्थन, सहकार्य भन्दा पनि जुनसुकै कार्यको विरोध र निन्दा गर्ने ।
  • बैंकका कर्मचारीहरुले व्यक्तिगत आर्थिक लाभमा ध्यान केन्द्रीत गर्ने
  • कर्मचारीहरुमा जागिरे मानसिकता हावी हुने र जोखिमबाट पञ्छिन खोज्ने प्रवृत्ति
  • राजनीतिक दवाव साथै कर्मचारी संगठनबाट दवाव खडा गरि अनुकुल ठाउँमा सरुवा गराउने
  • व्यवस्थापनद्वारा कर्मचारीहरुको मनोबल तथा उत्प्रेरणा अभिवृद्धि गर्न ठोष पहन नगर्ने
  • नातावद, कृपावादलाई प्रश्रय
  • कर्मचारीको व्यक्तिगत जीवनको सम्मान नगर्नु
  • वृत्ति विकासका अवसरहरुमा कमी
  • विभिन्न माध्यमद्वारा कर्मचारीलाई निरुत्साहित गर्ने
  • कमजोर संचार प्रणाली र अपारदर्शिता
  • कर्मचारीको कमजोर मनोबल एवं सोच

कुनै पनि कार्यालयमा माथि उल्लेखि संकेतहरु उत्पन्न हुंदै गएमा कार्य संस्कृतिमा प्रतिकुल प्रभाव पर्दछ र यसले समग्रमा कर्मचारी उत्पादकत्व कम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । तसर्थ,कार्यालय प्रमुख तथा नेतृत्वले समयमै ति संकेतहरुको पहिचान गरी समाधान तर्फ उन्मुख हुनुपर्दछ । सरकारी बैंकहरुमा कर्मचारी उत्पादकत्व कम हुनुमा कमजोर कार्य संस्कृतिलाई मुख्य कारण मान्ने गरिएको छ ।

२. कार्यस्थल तनाव

कर्मचारी उत्पादकतव कम गर्ने अर्को प्रमुख कारण भनेको कार्यस्थलमा हुन तनाव हो । जब कर्मचारीमा कार्यसम्बन्धी नकारात्मक सोचहरु उत्पन्न हुन्छन्, तब उनीहरुको ध्यान काममा केन्द्रित हुन सक्दैन र उच्चस्तरमा कार्य सम्पादन गर्न सक्दैनन् । धेरै जिम्मेवारी एकै समयमा दिइनु, पर्याप्त साधन र श्रोत उपलब्ध नगराउनु, पर्याप्त समय नदिनु, कमजोर मुल्याङ्कन पद्धति, माथिल्लो तहवाट हुने अनावश्यक दवाब , लामो समयसम्म एउटै प्रकृत्तिको कार्य जिम्मेवारी दिनु जस्ता कारणले कर्मचारीमा तनाव उत्पादन गराउँदछ । यि बाहेक पारिवारीक एवं व्यक्तिगत कारणले पनि तनाव उत्पन्न गराउन सक्दछ । सधैँ महत्वकांक्षामा रहने, निरन्तर असफल भैरहने, बिगतमा गरेको गलत कार्य एवं निर्णयले पनि कर्मचारीहरु तनावमा रहने गर्दछन । तनावले ग्रस्त कर्मचारीहरुबाट उच्च स्तरको उत्पादकत्वको कल्पना गर्न सकिँदैन । यसले बैँकको साधन श्रोतको अनावश्यक खर्च मात्र होइन समग्र उद्देश्य प्राप्ती मै चुनौती उत्पन्न हुन्छ । तसर्थ कार्यस्थलको वातावरण स्वस्थ र सहज बनाउनमा कार्यालय प्रमुख तथा नेतृत्वले बिशेष ध्यान दिनुपर्ने देखिन्छ ।

३. अपनत्वको अभाव

जवसम्म कर्मचारीहरुमा आफै पनि कम्पनीमा एक अंश हो भन्ने भावना जागृत हुदैन, तव उसको कार्यसम्पादन पनि उच्च स्तरको हुन सक्दैन । बैकंको नेतृत्व एंव उच्च व्यवस्थापनले हरेक कर्मचारीमा यो संस्था सबैको भएको र सबैको सामुहिक प्रयासबाट मात्र संस्थाको उन्नती र प्रगति सम्भव हुने धारणाको विकास गराउन हरसंभव प्रयास नगरेमा कर्मचारीहरुमा केवल जागिरे मानसिकताको विकास हुनेछ । अपनत्व भनेको त्यस्तो अस्त्र हो जसले कर्मचारीलाई इमानदार र जिम्मेवार भएर कार्य गर्न अग्रसर गराउँदछ । प्रायः बैँंकमा कार्यरत कर्मचारीहरुमा अपनत्वको भावना कम छ र यसले उनीहरुको प्रतिव्यक्ति उत्पादकत्वमा प्रतिकुल प्रभाव परिरहेको छ । कुनै पनि संगठनको सफलताको श्रेय त्यहौका सम्पूर्ण कर्मचारीहरुलाई दिने र असफलतामा पनि कर्मचारीहरुलाई बलियो ढाडस दिन सकेमा उनीहरुमा स्वतःअपनत्वको भावना जागृत हुन थाल्दछ ।

४. अत्याधुनिक बैंकिङ्ग प्रविधिको अवलम्बन

सरकारको स्वामीत्वमा रहेका बैंकहमा रहेको बैंकिङ्ग प्रविधि समयानुकुल प्रतिस्पर्धि हुन सकेको छैन । प्रतिस्पर्धी बैंकहरुले अवलम्बन गरेको कोर बैंकिङ्ग सिस्टम भन्दा कमजोर सिस्टम बाट बैंकिङ्ग कारोवार हुँदै आइरहेको छ । उच्च लागत पर्ने एंव सरकारको खरिद प्रणालीमा रहेका अवरोधहरुले गर्दा अत्याधुनिक बैंकिङ्ग सिस्टम प्रयोग गर्न नसक्दा यसले कर्मचारी उत्पादकत्वमा प्रतिकुल प्रभाव पारिरहेको छ । कतिपय कार्यहरु हालसम्म पनि म्यानुअल नै गर्नुपर्ने बाध्यता छ । एकातिर धेरै कर्मचारी संख्याले गर्दा प्रति कर्मचारी खर्च बढिरहेको छ भने अर्कोतिर छोटो समयमा सकिने कार्यको लागि पनि लामो समय खर्चिनु पर्ने बाध्यताले गर्दा समयमा रिपोटिङ्ग लगायत निती निर्णय हुन सकेको छैन । तसर्थ अत्याधुनिक बैंकिङ्ग प्रविधि अवलम्बन गर्न नसक्नु नै कर्मचारीहरुको न्युन उत्पादकत्वको मुख्य कारण हो ।

५. कमजोर व्यवस्थापकीय शैली

बैंकहरुमा न्युन कर्मचारी उत्पादकत्वको अर्को मुख्य कारण भनेको कमजोर व्यवस्थापन हो । धेरै जस्तो व्यवस्थापकहरु आफ्ना कर्मचारीहरुमा सुक्ष्म व्यवस्थापन गर्न चाहने, निरकुंशता लाद्न खोज्ने एवं निर्णयहरुमा कर्मचारीहरुलाई सहभागि गराउन नखोज्ने, व्यवस्थापकहरु आफुलाई नेतृत्व भन्दा पनि हाकिमको रुपमा उपस्थित हुन चाहने, कर्मचारीहरुलाई मेशिनको रुपमा मात्र हेर्ने, उदाहरण द्धारा नेतृत्व गर्न नचाहने, कर्मचारीहरुलाई उत्प्रेरित भन्दा पनि भयवित गराउन चाहने जस्तो कमजोर व्यवस्थापकीय शैलीले गर्दा कर्मचारीहरुले स्वतस्फुर्त रुपमा उच्च स्तरको कार्य सम्पादन गर्न सक्दैनन र अन्त्यमा कर्मचारीहरुको उत्पादकत्व ह«ास हुँदै जान्छ ।

६. अत्यधिक कमिटि र बैंठकहरु

बैंकमा समय समयमा विभिन्न समितिहरु र मिटिङ्गहरु बस्नु जायज नै हुन्छ किनकी व्यवसाय अभिवृद्धि र नीति निर्माणमा विभिन्न उपायहरु संकलन गर्ने यो नै प्रमुख माध्यम हो । तर पनि बैंकमा स–साना ईस्युहरुमा पनि नियमित मिटिङ्ग भइरहने र समितिहरु बनाइरहने तर बैठक र समितिबाट हुने निर्णय एंव सिफारिसहरु कार्यान्वयन नहुने परिपाटी विद्यमान छ । निरन्तर हुने मिटिङ्गले कर्मचारीहरुको समय बर्बाद हुन्छ जसको कारण कार्य सम्पादनमा कमी आई उत्पादकत्व घट्न जान्छ । अत्यकधिक मिटिङ्गले गर्दा कर्मचारी फ्रस्टेशनको अवस्था उत्पन्न हुन सक्दछ । तसर्थ, आवश्यकताको आधारमा मात्र सिमित कमिटि र बैठकहरु बस्ने र तीनलाई बढि भन्दा बढि उत्पादनशिल बनाउने तर्फ नेतृत्वले ध्यान दिन जरुरी हुन्छ ।

७. कर्मचारीहरुलाई रिकग्नाइज नगर्नु

बैंकमा कार्यरत कर्मचारीहरुको सहि कामलाई व्यवस्थापन ले पहिचान गरी मान्यता दिने पद्दती नभएमा कर्मचारीहरु प्रोत्साहित हुन सक्दैनन । जबसम्म कर्मचारीहरु आफुले सहि ढंगले सम्पादन गरेको कार्यमा र उक्त कार्य गर्न गरेको प्रयत्नमा प्रशंसा र मान्यता पाउन सक्दैनन तब यसले उनीहरुमा विचलनको अवस्था उत्पन्न गराउँदछ फलस्वरुप कर्मचारी उत्पादकत्वकम कमी आउँदछ । रिकग्नीसन नै फिड्ब्याक प्रदान गर्ने उच्चतम रुप हो र यो प्रदान गर्न निकै सजिलो छ । धेरै राम्रो प्रयास, धेरै धन्यवाद, मलाई विश्वास छ तपाई ले अझै धेरै राम्रो गर्नुहुन्छ जस्ता शब्दहरु व्यक्त गर्नाले कर्मचारीहरुको उत्पादकत्व वृृद्धि गर्नमा महत्वपुर्ण भुमिका खेल्दछ ।

८. एकै व्यक्तिमा अत्याधिक जिम्मेवारीहरु

एकै कर्मचारीलाई एकै समयममा धेरै जिम्मेवारी अर्थात मल्टिटास्किङ्ग प्रदान गरेमा उत्पादकत्वमा प्रतिकुल प्रभाव पर्दछ । जब एकजना कर्मचारीलाई कुनै एकै प्रकारको कार्यको जिम्मेवारी दिइन्छ भने उसले आफ्नो ध्यान उक्त एकै प्रकारको कार्यमा मात्र लगाँउदछ र समयमै गुणस्तरीय कार्य सम्पादन गर्न सक्दछ । तर एकै समयमा धेरै कार्यहरु सम्पादन गर्नुपर्ने भएमा कर्मचारीको ध्यान कुनै पनि काममा केन्द्रीकृत हुन सक्दैन र कर्मचारीमा तनाबको अवस्था उत्पन्न हुन्छ, जोखिम उत्पन्न हुन्छ र एउटा कार्य सम्पादन गर्न पनि लामो समय लाग्ने भएकोले उत्पादकत्व स्वतः कम हुन जान्छ ।

९. कार्य सन्तुष्टि नहुनु

कर्मचारीहरुमा आफ्नो पेशाप्रति सन्तुष्टि उत्पन्न हुन नसकेमा पनि उत्पादकत्वमा बढोत्तरी हुन सक्दैन । कुनै एक बैंकमा कार्यरत कर्मचारी को लक्ष्य एंव उद्देश्य र अन्य कुनै बैंक वा पेशामा प्रवेश गर्ने छ भने यसबाट उ हाल कार्यरत बैंकमा संतुष्ठी भई कार्य सम्पादन नगर्न सक्दछ । ढिलो चाँडो आँफु हालको बैंकबाट बर्हिगमन हुनु नै छ किन जोखिम लिने भन्ने प्रवृत्तिको विकास हुन सक्दछ । पारिवारीक दवावमा वा आफ्नो इच्छा विपरीत बैंकिङ्ग सेवामा प्रवेश गरेको अवस्थामा पनि कार्य संतुष्ठि नहुन सक्दछ । आफ्नो कार्य एवं पेशाप्रति फ्रस्टेशन उत्पन्न भएमा यसले निज कर्मचारीको उत्पादकत्वमा नकरात्मक प्रभाव पार्दछ । त्यसैगरी सुपरिभाइजर एवं नेतृत्वको व्यवहार एवं अनुकुल कार्य वातावरणको अभावमा पनि कर्मचारीमा कार्य संतुष्ठी नहुन सक्दछ ।

१०. न्युन तलब भत्ता एवं अन्य सुविधाहरु

कर्मचारीहरुलाई प्रोत्साहित गर्ने सबैभन्दा महत्वपुर्ण तत्व भनेको नै मौद्रिक तत्व हो । बैंकमा उच्च तलब, भत्ता, बोनश लगायत अन्य सुविधाहरु पाइने भएकोले धेरै कर्मचारीहरुले बैंकिङ्ग पेशा रोजेका हुन्छन । तर आफ्नो सोच अनुशारको मौद्रिक एवं गैर मौद्रिक सुविधाहरु प्राप्त नभएमा पनि कर्मचारीहरुको कार्य सम्पादनमा प्रतिकुल प्रभाव पर्दछ । तुलनात्मक रुपमा उच्च सुविधा पाइने बैंक वा अन्य संस्थाप्रति आकर्षित भई बैंकबाट वर्हिगमन हुने अवस्था नेपाली बैंकहरुमा धेरै नै छ । त्यसैगरी अपर्याप्त तलव भत्ताको कारण कर्मचारीहरु अन्य पेशामा पनि आवद्ध भएको पाइन्छ । कार्यरत बैंक व्यवसायको बारेमा जब कर्मचारीहरुलाई सोच्ने, चिन्तन गर्ने इच्छा नै हुदैँन तब कार्यसम्पादनमा प्रतिकुल प्रभाव परी उत्पादकत्व कम हुँदै जान्छ । तसर्थ, उचित एवं प्रतिस्पर्धि मौद्रिक एवं गैर मौद्रिक सुविधाहरुको व्यवस्था गरि कर्मचारीहरुको बर्हिगमनलाई रोक्न सकेमा उत्पादकत्व अभिबृद्धि गर्न सहज हुने देखिन्छ ।

११. प्रभावकारी कर्मचारी तालिम तथा विकासको अभाव

बैंकहरुमा जबसम्म कर्मचारीहरुलाई समयसमयमा पर्याप्त तालिम तथा विकासका कार्यक्रमहरु संचालन गरिदैन तबसम्म कर्मचारीको कार्यकुशलतामा अभिवृद्धि हुन सक्दैन । कर्मचारीहरुलाई आन्तरिक तथा वाह्य दुवै प्रकारका श्रोत व्यक्तिहरुबाट तालिम प्रदान गरिनु पर्दछ । त्यसैगरी राष्ट्रिय एवं अन्तराष्ट्रिय तालिमहरुमा अवसर समान रुपमा सबै कर्मचारीहरुलाई प्रदान गर्नु पर्दछ । तालिम कार्यक्रमहरु संचालन गर्ने तर त्यसको प्रभावकारीता विश्लेषण नगर्ने परिपाटी विद्यमान छ । तालिमलाई बोझको रुपमा लिने र व्यवस्थापनले एउटा नियमित प्रकृयाको रुपमा मात्र यसलाई लिने हुँदा यसले कर्मचारीको उत्पादकत्वमा ठोष योगदान पुर्याएको देखिदैन । कतिपय कर्मचारीहरुले तालिमलाई एउटा बोझको रुपमा लिने प्रबृत्ति पनि बढ्दै गएको देखिन्छ । तसर्थृ, कर्मचारीहरुलाई तालिम कार्यक्रहरुमा सक्रिय रुपमा सहभागि गराउन प्रोत्साहित गर्नुपर्दछ ।

१२. टिम वर्कको भावना

बैंकको कुनै विभाग वा शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुमा टिमवर्क को भावना जागृत गराउन सकेमा उत्पादकत्वमा सकरात्मक प्रभाव पर्दछ । यदि कर्मचारीहरुमा समुहमा कार्य गर्ने इच्छा छैन, व्यक्तिगत इच्छा आकांक्षा एवं कार्यसम्पादनमा मात्रै ध्यान हुन्छ, सामुहिक प्रयत्नमा इच्छा हुँदैन भने उनीहरुमा आशातीत उत्पादकत्व वृद्धि हुन सक्दैन । कतिपय कार्यहरु कर्मचारीहरु एकल प्रयासमा सम्पादन गर्न सक्दैनन । सामुहिक प्रयासमा कार्य गरेमा तोकिएको लक्ष्य प्राप्त गर्न सहज हुन्छ । यसबाट एकातर्फ हरेक कर्मचारीको जिम्मेवारी वृद्धि हुन्छ भने छिटोछरितो ढंगबाट कार्य सम्पादन भई उत्पादकत्वमा अभिवृद्धि हुन्छ । तसर्थ,कार्यस्थलको वातावरणलाइ स्वस्थ,सुदिढ र सहज बनाउन नेतृत्वले टिम परिचालन गर्न अग्रसर हुनुपर्दछ ।

निष्कर्ष
असल कार्य संस्कृतिले कार्यलाई आनन्दमय, उत्साहपद र उत्पादनशिल बनाउँदछ । यसले निष्ठावान कार्य समुहको सिर्जना गर्छ । नेतृत्वले निरन्तर कम्पनी कल्चरको भावना जागृत गराउँदछ । कार्यस्थल भित्र र बाहिर निरन्तर रुपमा अन्तर्कृया गरिरहन्छ । संगठनको तल्लो तहदेखि माथिल्लो तहसम्म अपनत्वको भावना उत्पन्न गराउँदछ । यसबाट अन्ततोगत्वा कर्मचारीको उत्पादकत्वमा अभिवृद्धि हुन्छ र बैंकको लक्ष्य प्राप्त गर्न सहज हुन्छ । तर यसको ठिक विपरित खराव एवं बिशाक्त कार्य संस्कृतिले कार्यलाई असह्य एवं दुषित बनाउँदछ र बैंकको लक्ष्य प्राप्तीलाई निकै कठिन बनाउँदछ । बैंक व्यवस्थापकहरुले बैंकको लक्ष्य तथा उद्देश्य कर्मचारीहरुलाई स्पष्ट सेयर गर्ने, कर्मचारी भर्ना गर्दा आवश्यक सिप क्षमताका अतिरिक्त ‘कल्चरल फिट’ लाई पनि जोड दिने, ‘सोसल नेटवर्किङ्ग एण्ड मेन्टरिङ्ग’ मा ध्यान दिने, स्वउदाहरण मार्फत नेतृत्व गर्ने, कर्मचारीहरुको कल्याण, स्वास्थ्य र वृत्ति विकासमा ध्यान दिने, असल कार्यलाई सम्मान एवं पुरस्कृत गर्ने र निरन्तररुपमा फिडव्याक लिइरहने, कार्य सम्पादनमा कुनै सम्झौता नगर्ने र खासगरी आम सेवाग्राहीको धारणामा आमुल परिवर्तन ल्याउने व्यवहार तथा सेवा सुविधाहरु उपलव्ध गराउन सकेमा बैंकको कार्यसंस्कृति उन्नत र उच्च स्तरको हुन्छ । यसबाट बैंकको समग्र परिसुचकहरुमा सकरात्मक वृद्धि भई कर्मचारी उत्पादकत्वमा पनि सकारात्मक प्रभाव पर्न थाल्दछ । अत: बैंकहरुले कर्मचारी उत्पादकत्व वृद्धि गर्नको लागि सर्वप्रथम असल कार्य संस्कृतिको विकास एवं यसलाई प्रोत्साहित गर्नु अपरिहार्य छ ।

(राष्ट्रिय बाणिज्य बैंक लिमिटेडको ५९ औं बार्षिकोत्सव बिशेषाङ्क उपहार २०८० मा प्रकाशित नेपाल बैंक लिमिटेडमा मुख्य प्रबन्धकको रुपमा कार्यरत अर्जुनबहादुर कँडेलको लेख । )


क्लिकमान्डु