कृषि सामग्रीमा बेथिति: आफूलाई मिल्ने गरी कार्यविधि बनाएर प्रबन्ध सञ्चालकको प्रतिस्पर्धामा



काठमाडौं । रासायनिक मल आयात गरेर बिक्री गर्ने सरकारी स्वामित्वको कृषि सामग्री कम्पनीमामा बेथिति देखिएको छ । कम्पनीमा रिक्त रहेको प्रबन्ध सञ्चालकका लागि एक कर्मचारीले कार्यविधि बनाएर आफैं प्रतिस्पर्धामा उत्रिएका छन् ।

कम्पनीको निमित्त प्रबन्ध निर्देशक विष्णुप्रसाद पोखरेलले प्रबन्ध सञ्चालक छनोट सम्बन्धी कार्यविधि बनाएर आफैं प्रतिस्पर्धामा उत्रिएका हुन् । पोखरेलले आफैंलाई मिल्ने गरी कार्यविधि बनाएको र प्रतिस्पर्धामा उत्रिएको आरोप लागेको छ ।

पोखरेलले स्वार्थ बाझिने गरी आफैंले आफूलाई योग्य ठहर्‍याउने योजनासहित छनोट कार्यविधि बनाएर प्रतिस्पर्धामा गएकोले उनको भूमिकामाथि शंका गर्दै आवश्यक छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

अख्तियारमा आइतबार परेको उजुरीमा पोखरेलको शंकास्पद भूमिकामाथि आवश्यक छानबिन हुनुपर्ने माग गरिएको छ ।

अख्तियारमा दर्ता भएको उजुरीमा पोखरेललाई प्रतिस्पर्धाबाट अलग गरेर उनीमाथि छानबिन गरि आवश्यक कारबाही गर्नुपर्ने माग गरिएको छ ।

विवादास्पद छविका पोखरेलले यसअघि पनि कम्पनीको विभिन्न जिम्मेवारीमा रहँदा अनियमितता गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । त्यतिबेला विशेष अदातलतले पोखरेललाई सफाइ दिएको थियो ।

कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालक नियुक्तिका लागि ९ जनाले आवेदन दिएका छन् । सञ्चालकको पदावधि ३ वर्षको हुन्छ ।

आवेदन दिनेमा कास्की माछापुच्छ्रेका पोखरेल, सुनसरी खनारका राजेन्द्रबहादुर कार्की, झापा दमकका चन्द्रप्रसाद चम्लागाई, वाग्लुङका डोलिन्द्रप्रसाद शर्मा, लालवन्दी सर्लाहीका पूण्यप्रसाद उपाध्याय, तनहुँ ब्यासका भोजराज अधिकारी,
गोरखा सिरानचोकका रामचन्द्र ढकाल, सप्तरी तिलाठी कोइलाडीका शैलेन्द्रकुमार सुमन र पर्वत कुश्माका हरिवंश आचार्यले आवेदन दिएका छन् ।

कम्पनीका तत्कालीन प्रवन्ध सञ्चालक नेत्र भण्डारी १ अर्ब ५० करोड रुपैयाँको रसायनिक मल प्रकरणमा मुछिएपछि २०७९ फागुन २९ गतेदेखि उक्त पद रिक्त छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मल प्रकरणमा भण्डारीसहित मल आपूर्ति कम्पनी र सर्वेयरविरुद्ध विगो र सजायको माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेका थियो ।


क्लिकमान्डु