आर्थिक सुधार र भ्रष्टाचार नियन्त्रणमा सरकारले अझै प्रभावकारी कदम चाल्नुपर्छः नेपाल



काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले मुलुकको आर्थिक क्षेत्रको सुधार, भ्रष्टाचार नियन्त्रण र सुशासनको निम्ति अझै प्रभावकारी कार्य गर्नुपर्ने बताएका छन् ।

आइतबारबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय परिषद् बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले मुलुकमा विद्यमान व्यवस्था बिरुद्ध प्रतिगामी तत्वहरुले विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पार्नका लागि पनि सरकार र सत्तारुढ गठबन्धनमा आवद्ध राजनीतिक दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, संविधानको रक्षा र आवश्यक्ता अनुसार परिमार्जन देशको अर्थतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताए ।

‘सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गर्ने प्रयास गरिरहेको छ । आर्थिक क्षेत्रको सुधार र भ्रष्टाचार नियन्त्रण र सुशासनका निम्ति अझै प्रभावकारी कार्य गर्नुपर्ने आवश्यकता छ,’ नेपालले भने, ‘ मुलुकको वर्तमान अवस्थामा जनताको निराशा, प्रतिरोध र आक्रोशको भावनालाई उपयोग गर्दै प्रतिगमनकारी तथा पश्चागमनकारीहरुबाट विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधिहरु सञ्चालन गरी राजनीतिक अस्थिरता पैदा गर्ने र सामाजिक सद्भाव खलबल्याउने कोशिस भइरहेको छ ।’

गठबन्धन दलहरुले तयार पारेका न्यूनतम नीति तथा कार्यक्रमलाई अझ गतिका साथ कार्यान्वयनमा लैजान पनि सरकारलाई सुझाव दिए । राष्ट्रिय हितको रक्षा र स्वतन्त्र तथा सन्तुलित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउन पनि सरकारलाई सचेत गराउनु भयो ।

अध्यक्ष नेपालले आफ्नो पार्टी सरकारमा संलग्न रहेकाले जनपक्षीय काम गर्ने प्रयास गरिरहेको दाबी गरे ।


क्लिकमान्डु