केपी ओलीले फिल्म खेल्ने, प्रधानमन्त्रीको भूमिका



काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फिल्ममा अभिनयन गर्ने भएका छन् । नेपाली चलचित्र ‘नमेटिने घाउ’मा ओलीले अभिनय गर्ने भएका हुन् ।

आइतबार फिल्म ‘नमेटिने घाउ’ निर्माणको घोषणामा पूर्वप्रधानमन्त्री ओलीले फिल्म खेल्नेबारे जानकारी गराइएको हो ।

नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा उक्त फिल्म निर्माणको घोषणा गरिएको हो । फिल्ममा ओलीले ‘प्रधानमन्त्री’ को भूमिका निर्वाह गर्ने बताइएको छ ।

तत्कालीन प्रधानमन्त्री रहेको बेलामा ओलीले तेजाव आक्रमण गर्नेविरुद्ध कडा कानुन ल्याएका कारणले उनलाई प्रधानमन्त्रीको भूमिका दिन लागिएको कार्यक्रममा जानकारी दिइएको थियो ।

ओलीले पहिलो पटक फिल्म खेल्न लागेका भने होइनन् । उनले यसअघि दिपेन्द्र दाहालको ‘रातो सूर्य’ मा अभिनय गरिसकेका छन् ।

नमेटिने घाउ एसिड आक्रमणबाट पीडित मुस्कान खातुनको जीवन कथामा बन्न लागेको जनाइउको छ । फिल्मको निर्देशन अभिनेता रमित ढुङ्गानाले गर्नेछन् । एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहने जनाइएको छ । त्यसअघिको खातुनको भूमिका रचना गौतमले निभाउने छिन् ।

खातुनमाथि २०७६ भदौ २० गते वीरगन्जको रेशम कोठीस्थित त्रिभुवन हनुमान उच्च माविमा बिहान ६ बजे पढ्न जाँदै गर्दा एसिड आक्रमण भएको थियो । एसिड आक्रमणबाट उनको अनुहारको एक भाग जलेको छ ।


क्लिकमान्डु