सूर्यदर्शन सहकारी ठगी प्रकरण: अध्यक्ष बुढामगर र पूर्वअध्यक्ष राईविरुद्ध पनि डिफ्युजन नोटिस जारी



काठमाडौं । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना अभियोग लागेका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध पनि इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ ।

आइतबार पूर्व अध्यक्ष भूपेन्द्र र थानबहादुरविरुद्ध डिफ्युजन नोटिस जारी भएको नेपाल प्रहरीका प्रवक्ता, डीआईजी भीम ढकालले जानकारी दिए । यससँगै उनीहरु विश्वभरका प्रहरीका फरार सूचीमा रहनेछन् ।

यसअघि शुक्रबार ग्यालेक्सी टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरुविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरी प्रधान कार्यालयलाई पुस ५ गते पत्राचार गरेको थियो । त्यसपछि प्रहरी प्रधान कार्यालयले राईविरुद्ध नोटिस जारीका लागि इन्टरपोललाई २ साताअघि पत्राचार गरेको थियो ।

डिफयुजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनीहरुको खोजी गर्ने छन् । फेला परेपछि उनीहरुलाई नेपाल फर्काउने प्रक्रिया सुरु हुनेछ ।

सहकारीको रकम हिनामिना गरेको प्रकरणमा जीबी राईसहित १ दर्जन व्यक्ति अझै फरार छन् ।

जिबी राईसहित १९ जनाविरुद्ध सहकारीको १ अर्बभन्दा बढी रकम हिनामिना गरेको अभियोगमा कास्की जिल्ला अदालतमा मुद्दा विचाराधीन छ ।


क्लिकमान्डु