कमाउने जहाज छैन, भवन बनाउन निगमको जोड, स्रोत र लगातको टुंगोबिना शिलान्यासको हतार



काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई पर्याप्त सम्भावना भएकै गन्तव्यमा पुग्ने र निगमका लागि कमाइदिने जहाजको अभाव छ ।

हवाई उडानबाट हुने आम्दानी (एनोनटिकल चार्ज)बाट चल्नुपर्ने निगम गैरउडान आम्दानी (ननएरोनटिकल)मा जोड दिइरहेको छ । जहाज उडाएरै मात्रै नाफा गर्न नसक्दा कर्मचारी पाल्ने पैसाका लागि विमानस्थलको ग्राउण्ड ह्याण्डलिमा निगम भर परिरहेको छ ।

पछिल्लो समय आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा पयाप्त जहाज नहुँदा नाफामूलक गन्तव्यमा उडान गर्न नसकेको र एउटा जहाज प्राविधिक समस्या हुँदा २५ प्रतिशतसम्म उडान कटौती हुने अवस्थामा वायुसेवा निगम छ । यो अवस्थाबाट सुधार गर्न र कमाइदिने जहाज खरिदमा जोड गर्नुपर्ने निगम व्यापारिक भवन निर्माण गर्न अग्रसर भएको छ ।

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलको गोल्डेन गेट भन्दा अगाडि सिनामंगलमा करिब ३५ रोपनी जग्गामा नयाँ बहुतले व्यापारिक भवन बनाउन शनिबार शिलान्यास गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले स्रोतको जोहो नै नभएको, लगतको टुंगो नलाएको र निर्माण समयसमेत एकीन नगरी उक्त भवनको शिलान्यास गरेका हुन् । मन्त्री किराँतीलाई निगमको लागि जहाज ल्याउनभन्दा भवनको शिलान्यास गरेर नाम लेखाउन हतार भएको देखिन्छ ।

वायुसेवा निगमका प्रवक्ता रमेश पौडेल भने भवनको शिलान्यास मात्रै भएको र तत्काल बनाउने योजना नभएको स्वीकार गर्छन् । निगमको स्वामित्वको उक्त ३४ रोपनी जग्गामा बहुवर्षीय योजनाअनुसार निगमको केन्द्रीय कार्यालय, इनफ्लाइट किचेन, निगमको लागि आवश्यक पार्किङस्थल तथा अन्य व्यापारिक संरचना बनाउन सकिन्छ । यसैका लागि शनिवार मन्त्री किराँतीबाट भूमिपूजन कार्य गराइएको निगमको भनाइ छ ।

निगमका अध्यक्ष युवराज अधिकारीले तालुक मन्त्रालय र सरोकारवालासँगको समन्वयमा सुविधा सम्पन्न, अत्याधुनिक र नेपालको मौलिककता झल्कने गरी ऐतिहासिक केन्द्रीय कार्यालय बनाउन लागिएको बताए ।

निगमको सम्पत्तिको संरक्षण गर्दै जाने, आवश्यकता अनुसार सदूपयोग गर्ने योजना रहेको अधिकारीको भनाइ छ । उनका अनुसार यो बाहेक निगमको देशभरी रहेको अन्य २३ स्थानको घरजग्गा र संरचनाको समेत संरक्षण गरेर निगमको आम्दानीको स्रोत बनाउनमा प्रयोग गर्दै जाने पनि उनले बताए ।

निगमले सिनामंगलमा केन्द्रीय कार्यालय बनाउन १५ वर्ष अगाडि नै नक्सा तयार पारिसकेको जानकारी पौडेले दिए । उनका अनुसार निगमले डेढ दशक अगाडि देखेको आधुनिक भवन बनाउने सपनालाई पूरा गर्न शिलान्यसा मात्रै भएको हो ।

‘भवनको शिलान्यास गर्न त नक्सा बनेको १५ वर्ष लाग्यो भने स्रोतको जोहो नभएको भवन बनाउन लगानी खोज्नुपर्छ । त्यसैले तत्कालै अपेक्षा अनुसारको संरचना बन्न सक्दैन’ उनले भने ।


क्लिकमान्डु