स्यानिटरी प्याडमा भ्रष्टाचार, तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरूद्ध मुद्दा



काठमाडौं । स्यानेटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको रूपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध मुद्दा दायर गरेको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार चौधरी, लेखा अधिकृत श्याम सुन्दर यादव, शिक्षक श्यामप्रसाद यादव, नायब सुब्बा सुजन दाहाल र श्री लक्ष्मी ट्रेडर्स एण्ड सप्लायर्स राजविराजका प्रोप्राइटर ललिता कुमारी साहविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको हो ।

उनीहरूले ८ लाख ७४ हजार ३ रुपैयाँ भ्रष्टाचार गरी सरकारलाई हानिनोक्सानी पुर्‍याएको आरोप छ ।

गाउँ कार्यपालिकाको मिलेमतोमा सिलबन्दी दरभाउ पत्रको माध्यमबाट खुद्रा मूल्यभन्दा दुई गुणा बढी रकममा स्यानेटरी प्याड खरिद गरेको भन्ने उजुरी अख्तियारमा परेको थियो । उक्त उजुरीको छानबिनपछि अख्तियार भ्रष्टाचार भएको टुंगोमा पुगेको हो।

आर्थिक वर्ष २०७७/०७८ मा सामुदायिक विद्यालयका छात्राहरुका लागि निःशुल्क वितरण गर्न गाउँपालिकाले १७ लाख ८५ हजार ९२८ रुपैयाँको स्यानिटरी प्याड खरिद गरेको थियो ।

अख्तियारका अनुसार सार्वजनिक खरिद ऐन र नियमावली अनुसार प्रचलित दरभाउलाई आधार मानेर लागत अनुमान तयार गर्नुपर्ने थियो । तर तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरी लगायतले श्री लक्ष्मी ट्रेडर्सकी ललिताकुमारीसँग मिलेमतो गरे ।

उनीहरुले ९ लाख ११ हजार ९२५ रुपैयाँ पर्ने स्यानिटरी प्याडलाई १७ लाख २५ हजार ९२८ रुपैयाँ मा खरिद विक्री गरेको अख्तियारले जनाएको छ ।

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चौधरीसहित चार कर्मचारीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो ८ लाख ७४ हजार ३ रुपैयाँ बिगो बमोजिम जरिवाना गरी बिगो असुल उपर हुन माग गरिएको छ ।


क्लिकमान्डु