कसरी भयो डेनमार्कसँग नेपालको वैदेशिक व्यापार नाफामा ?



काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा ७ खर्ब ५ करोड ४१ लाख ६४ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । उक्त अवधिमा ६ खर्ब ४२ अर्ब २० करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ भने ६३ अर्ब २० करोड ७४ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ ।

वैदेशिक व्यापारको तथ्याङ्क हेर्दा नेपालले आयात गर्ने वस्तुको तुलनामा निर्यातमा निकै कमजोर छ । नेपालले चालु आवको ५ महिनाको अवधिमा १५१ वटा देशसँग वैदेशिक व्यापार गरेको छ । त्यसमध्ये नेपालले २५ वटा देशसँग मात्रै नाफा कमाएको छ । बाँकी १२६ वटा देशसँग भने नेपालले उच्च व्यापारघाटा व्यहोरेको छ ।

नेपालले वैदेशिक व्यापार गरेको देशमध्ये अमेरिकासँग मात्रै उच्च नाफा कमाइरहेको छ । अमेरिकाले नेपाललाई भुकम्पपछि विभिन्न ६६ वटा वस्तुको निर्यातमा शून्य भन्सार लाग्ने व्यवस्था गरेको थियो । जसले गर्दा नेपालीहरु शून्य भन्सार दरमा उत्पादित वस्तु पठाउँदा नाफा कमाउन सफल भएका छन् ।

अमेरिकापछि नेपालले उच्च नाफा कमारहेको देश हो डेनमार्क । नेपालले पाँच महिनाको अवधिमा ५५ करोड २४ लाख ७३ हजार रुपैयाँको वैदेशिक व्यापार गरेको थियो । सो अवधिमा नेपालले ११ करोड ८२ लाख रुपैयाँको वस्तु आयात गरेको छ भने ४३ करोड ४२ लाख रुपैयाँको वस्तु आयात गरेको छ । जसमा नेपालले वैदेशिक व्यापारबाट ३१ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ ।

सन् १९६७ को डिसेम्बर १५ मा कुटनीति सम्बन्ध कायम गरेको डेनमार्कसम्म अहिलेसम्म द्विपक्षीय व्यापारको लागि सम्झौता भएको छैन । तर, डेनमार्कसँग भने नेपालले वैदेशिक व्यापार गर्दै आएको छ । नेपालले डेनमार्कमा हस्तकला, सिल्भर सामग्री, रेडिमेड गोर्मन्ट, ऊनको सामग्री, पेपर तथा पेपर सामग्रीलगायत विभिन्न वस्तु निर्यात गर्दै आएको छ । त्यस्तै, नेपालले मेशिनरी र पार्टस्, औषधी र मेडिकल इक्वीपमेन्ट, उद्योगका लागि कच्चा पदार्थ, खाना र अन्य कच्चा पदार्थ डेनमार्कबाट आयात गर्दै आएको छ ।

नेपालले डेनमार्कसँग लामो समयदेखि वैदेशिक व्यापार गर्दै आएपनि विगतको दिनमा नाफा कमाउन सकेको थिएन। तर, पछिल्ला दिनहरुमा भने नेपालले नाफा कमाउँदै आएको छ ।

आर्थिक वर्ष २०६४/६५ देखिको तथ्याङ्क हेर्दा नेपालले आव २०६८/६९ मा वैदेशिक व्यापारबाट १ करोड १६ लाख नाफा कमाएको थियो । त्यसपछि आव २०७१/७२ मा २ करोड ५३ लाख ७३ हजार रुपैयाँ र आव २०७६÷७७ मा १ करोड ९९ लाख रुपैयाँ नाफा कमाएको थियो । साथै, पछिल्ला तीन वर्षदेखि नेपालले वार्षिक उच्च नाफा कमाउँदै आएको छ । त्यसबाहेक अन्य वर्षमा भने घाटा व्यहोरेको थियो ।

तथ्याङ्कअनुसार डेनमार्कमा पछिल्ला दिनहरुमा नेपाली वस्तुको माग बढ्दै गएको देखाउँछ । नेपालले आव २०६४/६५ मा नेपालले ३९ करोड ९ लाख रुपैयाँ वैदेशिक व्यापारबाट घाटा व्यहोरेको थियो । त्यसैगरी, आव २०६५/६६ मा १४ करोड २६ लाख हजार रुपैयाँ घाटा व्यहोरेको थियो ।

त्यसैगरी, नेपालले आव २०६६/६७ मा २६ करोड २७ लाख रुपैयाँ, आव २०६७/६८ मा ३३ करोड १७ लाख रुपैयाँ, आव २०६९/७० मा ९७ लाख रुपैयाँ, आव २०७०/७१ मा ५ करोड ६ लाख रुपैयाँ, आव २०७२/७३ मा १६ करोड ४० लाख रुपैयाँ, आव २०७३/७४ मा २३ करोड ५७ लाख रुपैयाँ, आव २०७५/७६ मा २९ करोड ८४ लाख रुपैयाँ र आव २०७७/७८ मा १४ करोड ५० लाख २६ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो ।

यस्तो छ डेनमार्कसँगको वैदेशिक व्यापार

स्रोतः व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र भन्सार विभाग

नेपालले के बेच्छ, के किन्छ ?

नेपालले डेनमार्कमा विशेषगरी हस्तकला, सिल्भर सामग्री, रेडिमेड गोर्मन्ट, ऊनको सामग्री, पेपर तथा पेपर सामग्रीलगायत विभिन्न वस्तु निर्यात गर्दै आएको छ । नेपालले मेशिनरी र पार्टस्, औषधी र मेडिकल इक्वीपमेन्ट, उद्योगका लागि कच्चा पदार्थ, खाना र अन्य कच्चा पदार्थ डेनमार्कबाट आयात गर्दै आएको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा नेपालले ११ करो ८२ लाख रुपैयाँको वस्तु आयात गर्दा ४३ करोड ४२ लाख रुपैयाँको वस्तु निर्यात गरेको छ । नेपालबाट पाँच महिनाको अवधिमा २३ करोड ५० लाख रुपैयाँको मात्रै फेल्ट निर्यात गरेको छ । त्यसैगरी, ६ करोड ४६ लाख रुपैयाँको जर्सी, वेस्टकोट, २ करोड ४० लाख रुपैयाँको सल, स्कार्फ, २ करोड ७१ लाख रुपैयाँको क्रिस्मसका लागि सामग्री र २ करोड १० लाख रुपैयाँको हेलिकप्टरको पार्टपूर्जा निर्यात गरेको छ ।

तथ्याङ्कमा ३८ लाख रुपैयाँको कार्पेट, ३३ लाख रुपैयाँको पेन्टिङ, ५१ लाख रुपैयाँको एयर ब्रेकको पार्टपूर्जा, ७५ लाख रुपैयाँको सांगीतिक सामग्री, ५० लाख रुपैयाँको स्याक्स र ब्याग, ४७ लाख रुपैयाँको फुटवेयर, ३८ लाख रुपैयाँको कपडा, १ करोड ३४ लाख रुपैयाँको महिलाको कपडा, २२ लाख रुपैयाँको प्रिन्टेड बुकसहित अन्य विभिन्न सामग्री निर्यात गरेको छ ।

त्यस्तै, नेपालले सोही अवधिमा १ करोड ७८ लाख रुपैयाँको जौं, २ करोड २ लाख रुपैयाँको तोरीको दान, १ करोड ८६ लाख रुपैयाँको ल्याम्ब र ट्युब्स, ६९ लाख रुपैयाँको सुईं, ५३ लाख रुपैयाँको बटर, १५ लाख रुपैयाँको चिजलगायत अन्य विभिन्न सामग्री आयात गरेको छ ।


अरिष्मा मोक्तान