सात दिनमा १७ करोड ३२ लाखको कन्दमूलको व्यापार, २० प्रतिशत आयात



काठमाडौं । माघे संक्रान्तिको समयमा राजधानीको एउटा मात्रै बजारबाट एक सातामा १७ करोड ३२ लाख ९२ हजार रुपैयाँबराबरको कन्दमूलको व्यापार भएको छ । यो मूल्य भने खुद्रा व्यापारको हो ।

नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेकाअनुसार माघे संक्रान्तिमा खाइने तरुल, पिंडालु, सखरखण्ड र स्कूसको पछिल्लो एक साताको खुद्रा व्यापार यो मूल्यबराबरमा भएको हो ।

कन्दमूल समूहभित्र पर्ने तरुलमा नेपाल करिब २० प्रतिशत परनिर्भर छ । सिम्मल (तराई जातको) तरुल नेपालमा कम परिमाणमा उत्पादन भएकाले भारतको उत्तर प्रदेशबाट आयात हुन्छ । कन्दमूल समूहभित्र पिंडालु, सखरखण्ड, स्कूल र तरुल पर्छन् ।

माघे संक्रान्तिका दिन चाकु, तिलको लड्डु र घिउसँगै खाइने तरुलको व्यापार देशकै सबैभन्दा ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमार्फत गत सोमबारदेखि आइतबारसम्ममा १७ करोड ३२ लाख रुपैयाँबराबरको कन्दमूलको खुद्रामा व्यापार भएको हो ।

अन्य बजारबाट कति परिमाणमा यस्ता कन्दमूलको व्यापार भयो भन्ने बिषयमा यकिन विवरण छैन । यस्तै माघे संक्रान्तिकै दिन अझ कति परिमाणमा बिक्री भएको भन्ने बिषयमा पनि आधिकारिक तथ्याँक प्राप्त भएको छैन ।

पछिल्लो एक साताको अवधिमा कालीमाटी तरकारी बजारमा मात्रै सबैभन्दा बढी तरुलको व्यापार भएको छ । यस्तै तरुलपछि सखरखण्डको व्यापार पनि अत्यधिक छ ।

घिमिरेका अनुसार सबै प्रकारका तरुलको औसत खुद्रा मूल्य प्रतिकिलो १ सय ७० रुपैयाँका दरले १५ करोड ५ लाख ६६ हजार रुपैयाँबराबरको ८ लाख ८५ हजार ६ सय ८५ किलो तरुलको व्यापार भएको छ ।

पछिल्लो एक साताको अवधिमा औसत खुद्रा मूल्य १ सय १० रुपैयाँका दरले १ करोड ७५ लाख ८२ हजार ६ सय २० रुपैयाँबराबरको १ लाख ५९ हजार ८ सय ८२ किलो सखरखण्डको पनि व्यापार भएको छ ।

यस्तै ९० रुपैयाँ प्रतिकिलोका दरले ४३ लाख १५ हजार ५ सय रुपैयाँबराबरको ४७ हजार ९ सय ५० किलो पिंडालुको पनि बिक्री भएको छ । ६० रुपैयाँ प्रतिकिलोका दरले ८ लाख २८ हजार रुपैयाँबराबरको १३ हजार ८ सय किलो स्कूलको पनि व्यापार भएको छ ।

‘यो बर्ष आर्थिक मन्दीका कारण बिक्रीमा करिब ३० प्रतिशतले गिरावट आएको छ, सोमबार बजारमा भित्रिएका अधिकाँश कन्दमूल बिक्री भएको छैन,’ घिमिरले भने,‘आइतबारसम्म भित्रिएका कन्दमूल भने बजार पाएको छ ।’

व्यापारीलाई स्वदेशी उत्पादन तथा भारतबाट आयात गरी सर्वसाधारणलाई बिक्री गर्न सोमबार बिहानसम्म भ्याई नभ्याई भएको उनको भनाइ छ । कन्दमूलको अत्यधिक व्यापार आइतबार साँझसम्म भएको थियो ।

‘गत बर्ष करिब २० करोडको हाराहारीमा व्यापार भएको थियो, यो बर्ष आर्थिक मन्दीको असर पनि व्यापारमा देखिएको छ । यसबाहेक पहिले पहिले माघे संक्रान्तिको समयमा मात्रै यस्ता कन्दमूल खाइने हुँदा बिक्री हवात्तै बढ्थ्यो,’कालीमाटी बजारका व्यापारी भरत खतिवडाले भने,‘तर अहिले बर्षैभरी तरकारीको रुपमा खाने वानी बढेकाले माघे संक्रान्तिको समयमा आयात परिमाण र बिक्रीको अवस्था कम भएको हो ।’

उनकाअनुसार पछिल्लो ४–५ बर्षयता तरुलको ब्यापार निक्कै फस्टाएको छ । पहिले खान नरुचाउने उपभोक्ताले पनि स्वास्थ्यका लागि लाभदायक मानिने भएकाले यसको विभिन्न प्रकारको परिकार खान पल्केका छन् ।

जसले गर्दा यसको कारोबार हवात्तै बढेको हो । उपत्यकामा हुने तरुलको कूल कारोबारमध्ये झण्डै ८० प्रतिशत सर्लाहीबाट भित्रिन्छ । बाँकी २० प्रतिशतमा भारत र स्वदेशकै अन्य जिल्लाको उत्पादनले हिस्सा ओगटेको छ ।

खतिवडाअनुसार यो बर्ष बजारमा धादिङ, नुवाकोट, दोलखा, चितवन, काभ्रे, मकवानपुर, सर्लाही, तनहुँ, पाल्पा, स्याङजा, गोरखा, नवलपरासी, ललितपुरलगायतका जिल्लामा उत्पादन भएका १३ प्रकारका तरुल भित्र्याइएको थियो ।

बजारमा अत्याधिक महँगो मानिएको बन तरुलसहित घर तरुल, हात्ति पाइले तरुल, रातो पत्ताले तरुल, मुढे तरुल, सिमल तरुल, पानी तरुल, सर्लाही तरुल, तराई तरुल नामका तरुलको कारोबार भएको छ ।

व्यवसायीहरुका अनुसार कालीमाटी बजारमा आइतबार साँझसम्म सबै प्रकार तरुल औसत थोक मूल्य ७० रुपैयाँ प्रतिकिलोमा कारोबार गरेको छ । यस्तै सखरखण्ड ७०, पिंडालु ६० र स्कूस ४० रुपैयाँ प्रतिकिलो थोकमा कारोबार भएको छ ।

वहुउपयोगी गुणको धनी तरुल

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका पूर्व महानिर्देशक संजीवकुमार कर्णका अनुसार तरुल निक्कै पोषिलो र वहुउपयोगी खाद्य पदार्थ हो । तरुलमा पर्याप्त मात्रामा कार्वोहाइड्रेट, प्रोटिन, मिनेरल्स, इनर्जी, भिटामिन पाइने भएकाले यसलाई पोषिलो खानाको रुपमा लिइन्छ । खानाको रुपमा पनि तरुललाई खान सकिने कर्णको सुझाव छ ।

‘खानाको रुपमा प्रयोग गरिने चामलभन्दा आलुमा बढी पोषण तत्व छ,’ कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिब कर्णले भने,‘त्यसैगरी तरुलमा पनि चामलभन्दा बढी पोषण तत्व छ । यसलाई खानाको रुपमा प्रयोग गर्दा पनि हुन्छ । वहुउपयोगी गुणको धनी मानिएपनि सर्वसाधारणमा सचेतनाका कारण अझै यसको भरपुर रुपमा उपभोग हुन सकेको छैंन् ।’

खाद्य विभागकाअनुसार तरुलबाट विभिन्न प्रकारका परिकार बनाएर खान सकिन्छ । उसिनेर नुन र खुर्सानीसँग चोपेर खाजाको रुपमा खान सकिन्छ । यस्तै तरकारी र अचारको रुपमा पनि उपभोग गर्न सकिन्छ ।

कर्णका अनुसार तरुललाई सुकाएर पाउडर बनाउन सकिन्छ । यस्तो पाउडरको प्रयोग गरी पाउरोटी, केक, रोटी, चाउचाउ र मिठाई बनाएर पनि खान सकिन्छ ।

राजधानीमा आउने अधिकांश तरुल सर्लाहीमा उत्पादन गरिएको हो । दुई तिहाइ तरुल सर्लाहीबाट आउने गरेको व्यवसायीहरुले बताए । पाल्पा, रुपन्देही, चितवन, धादिङ, गोरखा, मकवानपुर, नुवाकोट, काभ्रेलगायतका जिल्लाहरुबाट पनि तरुल तथा अन्य कन्दमूलहरु राजधानी भित्रिने गरेको व्यवसायी बताउँछन् ।


क्लिकमान्डु