उपत्यकामा ५ महिनामा साढे १६ हजार घरजग्गा किनबेच, ६ अर्ब राजस्व संकलन



काठमाडौं । अर्थतन्त्रमा देखिएको समस्याले गर्दा घरजग्गा कारोबार उच्च असर परेको छ । मासिक ५० हजारभन्दा बढी घरजग्गा किनबेच हुँदै आएकोमा अहिले ४० हजारको हाराहारीमा पनि कारोबार हुन सकेको छैन ।

चालु आर्थिक वर्षको मासिक कारोबार तथ्याङ्क हेर्दा अझै घरजग्गा कारोबारमा सुधार आउन नसकेको देखिन्छ । त्यस्तै, देशभरका सर्वसाधारणको आकर्षणको केन्द्र बनेको उपत्यकामा घरजग्गा कारोबार निकै निराशाजनक छ ।

उपत्यकाका तीन जिल्लामा रहेका मालपोत कार्यालयबाट विगतको दिनमा मासिक ८ हजारभन्दा घरजग्गा किनबेच हुँदै आएको थियो । तर, अहिले ह्वात्तै घटेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले देखाउँछ ।

कोभिडको समयमा उच्च घरजग्गा कारोबार भएको भन्दै सरकारले विभिन्न समयमा कडाइ गर्दै आएको थियो । फलस्वरुपः कारोबारमा कमी आएको छ।

सरकारले गत वर्षको जेठमा भूउपयोग नियमावली जारी गर्दै कित्ताकाटमा कडाइ गरेको थियो । उक्त व्यवस्था गरेसँगै घरजग्गामा कारोबार उच्च प्रभाव परेको थियो । सोही अवधिमा अर्थतन्त्रमा देखिएको समस्याले झनै प्रभाव परेको थियो । करिब दुई वर्षअघि देखि घरजग्गा कारोबार सुस्तताले हालसम्म गति लिन सकेको छैन ।

त्यस्तै, कारोबार हिसाबले सबैको चासोको क्षेत्र रहेको उपत्यकामा विगतको तुलनामा घरजग्गा कारोबार आधाले घटेको छ । सामान्य अवस्थामा उपत्यकाका ९ वटा मालपोत कार्यालयबाट मासिक ८ हजारदेखि ९ हजारसम्म घरजग्गा किनबेच हुने गरेको थियो । तर, अहिले ३ हजारको हाराहारीमा मात्रै किनबेच हुने गरेको विभागले जनाएको छ ।

विभागको तथ्याङ्कअनुसार चालु आर्थि वर्षको मंसिरसम्ममा उपत्यकामा १६ हजार ५३८ वटा घरजग्गाको किनबेच भएको छ । उपत्यकाको ९ वटा मालपोत कार्यालयबाट साउनमा ३ हजार ४१२ वटा घरजग्गा किनबेच भएको थियो । त्यस्तै, भदौमा ३ हजार ६४६ वटा, असोजमा ४ हजार २८४ वटा, कात्तिकमा २ हजार २० वटा र मंसिरमा ३ हजार १७६ वटा किनबेच भएको छ । साथै, सो अवधिमा १५७ वटा अपार्टमेन्टको किनबेच भएको छ ।

विभागअनुसार साउनमा ३० वटा, भदौमा ४५ वटा, असोजमा ३८ वटा, कात्तिकमा २२ वटा र मंसिरमा २२ वटा अपार्टमेन्टको लिखित पारित भएको छ ।

सरकारले रियल इस्टेट क्षेत्रमा विभिन्न नीति ल्याएर सुधार गर्नेतर्फ अग्रसर भएको देखिन्छ । तर, सर्वसाधारणहरुमा लगानीका लागि कन्फिडेन्स नहुँदा कारोबार बढ्न नसकेको व्यवसायीहरुको भनाइ छ ।

देशभरका मानिसहरुको आकर्षण सहर बनेको उपत्यकामा घरजग्गा किनबेचमा कमी आउँदा व्यवसायीहरु समस्यामा छन् । अहिले अर्थतन्त्रमा सूचकहरु सकारात्मक देखिएपनि लगानी गर्न भने मानिसहरु डराइरहेको अवस्था छ । जसले गर्दा मानिसहरुमा लगानीको ग्यारेन्टी नहुँदा गति लिन नसक्दा कारोबार बढ्न नसकेको व्यवसायीहरुको भनाइ छ ।

त्यस्तै, उपत्यकामा पाँच महिनामा सबैभन्दा बढी ललितपुर मालपोत कार्यालयबाट घरजग्गा किनबेच भएको छ । ललितपुर मालपोत कार्यालयबाट पाँच महिनाको अवधिमा ३ हजार ९४१ वटा घरजग्गा किनबेच भएको छ ।

त्यसपछि भक्तपुर मालपोत कार्यालयबाट ३ हजार ८२१ वटा, कलंकी कार्यालयबाट २ हजार ८१६ वटा, साँखु कार्यालयबाट १८ सय ३ वटा,चावहिलबाट १८ सय ४९ वटा, डिल्लीबजारबाट ८५७ वटा, मनमैजुबाट ७६० वटा, टोखाबाट ६१५ वटा र ललितपुर गोटीखेलबाट ७६ वटा घरजग्गा किनबेच भएको छ ।

६ अर्ब राजस्व संकलन

उपत्यकामा पाँच महिनामा १६ हजार घरजग्गा कारोबार हुँदा करिब साढे ६ अर्ब राजस्व संकलन भएको छ । साउनदेखि भदौसम्ममा ९ वटा मालपोत कार्यालयबाट ६ अर्ब ३८ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

विभागअनुसार उपत्यकाको मालपोत कार्यालयबाट साउनमा १ अर्ब १४ करोड ३५ लाख रुपैयाँ, भदौमा १ अर्ब ३८ करोड ६४ लाख रुपैयाँ, असोजमा १ अर्ब ८३ करोड ३३ लाख रुपैयाँ, कात्तिकमा ९० करोड २२ लाख रुपैयाँ र मंसिरमा १ अर्ब ११ करोड ८३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

चालु आर्थिक वर्ष कारोबार कम हुँदा राजस्वमा उच्च प्रभाव परेको छ । घरजग्गा व्यवसायीहरुले गत पुसको दोस्रो हप्तामा घरजग्गा कारोबारमा सुधार ल्याउनका लागि रियल इस्टेट एक्स्पो गरेको थियो । उक्त एक्सपोले कारोबारमा केही सहज बनाउने व्यवसायीहरुको दाबी छ ।

साढे २९ अर्ब कर्जा प्रवाह

घरजग्गा कारोबार देखिएको समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् कर्जा प्रवाह सहज बनाउँदै लगेको छ । जसले गर्दा कर्जा प्रवाह बढेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउँछ ।

पाँच महिनामा देशभरका बैंक तथ वित्तीय संस्थाबाट २ करोड रुपैयाँसम्मको व्यक्तिगत आवासीय कर्जा क्षेत्रमा २९ अर्ब ५४ करोड ७१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थाबाट ८ अर्ब २५ करोड २४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

चालु आर्थिक वर्षको सोही अवधिमा रियल इस्टेट क्षेत्रमा भने कर्जा प्रवाह भएको देखिँदैन । राष्ट्र बैंकअनुसार पाँच महिनाको अवधिमा डेढ करोड रुपैयाँ व्यक्तिगत घर कर्जाबाहेक आवासीय रियल इस्टेट क्षेत्रमा १ अर्ब ७५ करोड ७१ लाख रुपैयाँ कर्जा भएको छ ।

त्यसैगरी, पाँच महिनाको अवधिमा जग्गा खरिद तथा प्लटिङ आयोजनामा ३ अर्ब ८९ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।


अरिष्मा मोक्तान