भारतमा अलैंची कम उत्पादन हुँदा नेपाली किसानलाई राहत, १३ वर्षमा ६० अर्बको निर्यात



काठमाडौं । भारतमा अलैंची उत्पादनमा कमी आउँदा नेपाली किसानलाई राहत मिलेको छ । भारतमा अलैंची उत्पादन हुने मुख्य स्थानहरुमा पर्याप्त पानी नपर्दा उत्पादनमा कमी आएको छ । भारतको केरला, सिक्किम, नागाल्यान्ड, अरुणाचल प्रदेशमा ठूलो परिमाणमा अलैंची उत्पादन हुँदै आएको छ । तर, यो वर्ष ती प्रान्तमा समयमै पर्याप्त पानी नपर्दा उत्पादनमा कमी आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अलैंची उत्पादनमा कमी आएसँगै भारतीय बजारमा मूल्य बढ्दो क्रममा छ । भारतीय बजारमा माग बढ्दो र मूल्य वृद्धि हुँदा नेपाललाई फाइदा भएको छ । नेपाल विश्वमा सबैभन्दा बढी अलैंची उत्पादन गर्ने देश हो । विश्वबजारमा अलैंची उत्पादनमा ५२ प्रतिशत हिस्सा ओगटेको नेपाल भने बजारीकरणका लागि सधैं भारतमा भर पर्नुपर्ने अवस्था छ ।

विश्वमा नेपालपछि भारत र भुटानले उच्च अलैंची उत्पादन गर्दै आएका छन् । भारतले विश्वमा अलैंची उत्पादनमा ३७ प्रतिशत हिस्सा आगटेको छ भने भुटानले ११ प्रतिशत ओगटेको छ । नेपालले विश्वको आधाभन्दा बढी हिस्सा ओगटे पनि नेपाली बजारको मूल्य भारतीय बजारले उच्च प्रभाव पर्ने गर्छ ।

भारतमा पाँच वर्ष अघिसम्म कम मात्रामा अलैंची उत्पादन हुने गर्थ्यो । कम उत्पादन हुँदा नेपालको अलैंची उच्च मूल्यमा बिक्री हुन्थ्यो । तर, पछिल्ला दिनहरुमा भारतले अलैंची उत्पादनमा जोड दिएसँगै नेपालको अलैंची खेती संकटमा परेको छ । भारत सरकारले उत्पादन बढाएसँगै नेपालको अलैंचीको मूल्यमा निरन्तर ओरालो लागेर प्रतिकिलो ७ सयदेखि ८ सय किलोसम्म बिक्री गर्न बाध्य भएका छन् ।

झन्डै १० वर्षअघि प्रतिमन एक लाख २० हजार रुपैयाँसम्म कारोबार हुँदै आएको अलैंचीको मूल्य घटेर प्रतिमन २५ हजार रुपैयाँसम्म बिक्री गर्न बाध्य भएको नेपाली किसानको अनुभव छ । पछिल्ला दिनहरुमा अलैंचीले मूल्य पाउन छाडेपछि किसान पनि विस्थापित हुँदै गएका छन् । नेपालको अलैंचीको मूल्य भारतीय बजारको माग र उत्पादनका आधारमा तय हुने हुँदा कुन वर्ष कति मूल्य पाउँछ भन्ने किसानलाई यकिन नै हुन्न ।

किसानहरुका अनुसार भारतमा अलैंची उत्पादन कम हुँदा नेपाली किसानले उत्पादन गरेको अलैंचीको मूल्य केही वृद्धि हुने गरेको पाइन्छ । तर, भारतमै अलैंची पर्याप्त उत्पादन भए नेपाली अलैंचीको मूल्यमा भारी गिरावट आउँछ ।

त्यस्तै, यो वर्ष भारतमा अलैंची उत्पादनमा कमी आउँदा भने दशकदेखि निरन्तर ओरालो लागेको मूल्य बढेको छ । संखुवासभाका अलैंची व्यवसायी महासंघका जिल्ला अध्यक्ष कुमार श्रष्ठले किसानको मुख्य आम्दानीको स्रोत मानिने अलैंचीको मूल्य यस वर्ष सुरुवातदेखि नै बढ्दो क्रममा रहेको बताए । उनकाअनुसार उत्पादन कम माग बढी भएका कारणले अलैंचीको मूल्य वृद्धि भएको हो ।

नेपालमा उत्पादन भएको  अलैंची शतप्रतिशत नै भारतमा निर्यात हुने गरेको छ । त्यसैले पनि माग र आपूर्तिमा भारतीय बजारले प्रत्यक्ष असर पर्ने गर्छ । यो वर्ष भारतमा पनि उत्पादन कम भएको छ । जसले गर्दा उच्च माग छ । भारतीय बजारमा अलैंचीको माग हुँदा नेपाली किसानले उत्पादन गरेको अलैंचीको मूल्य वृद्धि भएको हो ।

यो वर्ष अलैंचीको मूल्य वृद्धि भएपनि किसानले भने प्रत्यक्ष फाइदा लिन नसकेको उनको भनाइ छ । यो वर्ष भारतमा पनि कम उत्पादन भएको र नेपालमा पनि कम उत्पादन भएकाले किसानले मूल्य वृद्धि हुँदा पनि फाइदा लिन नसकेको हो ।

पछिल्ला दिनहरुमा किसानहरुले सोचअनुसारको रकम नपाएपछि कतिपयले अलैंची खेतीबाट पलायन भएको उनको भनाइ छ । सरकारी तथ्यांकअनुसार पनि किसानहरु पलायन हुँदै गएको स्पष्ट पार्दछ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांकमा आव २०७४/७५ मा १८ हजार हेक्टर क्षेत्रफल र आव २०७५/७६ मा २० हजार ८८० हेक्टर क्षेत्रफलमा फैलिएको अलैंची खेती अहिले १५ हजार हेक्टर क्षेत्रफलमा सीमित भएको छ ।

आव २०७६/७७ मा देशभर १६ हजार ५६५ हेक्टर क्षेत्रफलमा अलैंची खेती हुँदै आएको थियो । उक्त क्षेत्रफलबाट ९ हजार ५४५ मेट्रिक टन अलैंची उत्पादन भएको थियो । त्यस्तै, आ २०७७/७८ मा १५ हजार ६६८ हेक्टर क्षेत्रफलमा भएको अलैंची खेतीबाट ८ हजार २८९ मेट्रिक टन उत्पादन भएको थियो । त्यसैगरी, आव २०७८/७९ मा १५ हजार ९७५ हेक्टर क्षेत्रफलबाट ८ हजार ७१४ मेट्रिक टन अलैंची उत्पादन भएको तथ्यांकमा उल्लेख छ ।

नेपालमा उत्पादन भएको अलैंची निकै गुणस्तरको हुन्छ । जसले गर्दा भारतले नेपालको अलैंची आयात गरी विश्वबजारमा निर्यात गर्दै लाभ लिँदै आएको छ । भारतले नेपालबाट आयात गरेको अलैंचीलाई प्रशोधन तथा प्याकेजिङ गरी साउदी अरब, यूएई, बंगलादेश र पाकिस्तान निर्यात गर्छ । अलैंचीको प्रमुख आयातकर्ता यूएई हो । भारतले यूएईलाई नै लक्षित गरी नेपाली अलैंची आयात गर्ने र प्रशोधनपछि निर्यात गर्ने गरेको छ ।

नेपालले अन्य देशसँग निर्यातमा पहल गर्न नसक्दा पर्याप्त लाभ लिन नसकेको व्यवसायीहरुको भनाइ छ । व्यवसायीहरुका अनुसार सरकारले साउदी अरब, यूएई, बंगलादेश, सिंगापुर र पाकिस्तानमा नेपाली अलैंची निर्यात गर्नका लागि पहल गरे भारतमात्रै नभएर अन्य देश पनि मुख्य बजार हुन सक्छन् । भारतपछि बंगलादेश अर्को निर्यातक मुलुक बन्न सक्छ ।

बंगलादेशले भुटानबाट फ्रि ट्रेड एग्रिमेन्टमार्फत शून्य भन्सार महसुलमा अलैंची आयात गर्दै आएको छ । नेपालले बंगलादेशमा साफ्टामार्फत ५ प्रतिशतमा निर्यात गर्न सक्नुपर्ने हो । तर, नेपालबाट निर्यात हुने अलैंचीमा बंगलादेशले ३५ प्रतिशत कर तोकेको छ । वैदेशिक व्यापारघाटा कम गर्न ठूलो भूमिका रहेको अलैंचीको निर्यातमा सरकारले पहल गर्न सक्दा कम मूल्यमा भारतमा बिक्री गर्न बाध्य छन् ।

नेपालमा ४३ वटा जिल्लामा अलैंची उत्पादन हुँदै आएको भनिए पनि अहिले ५३ वटा जिल्लामा उत्पादन हुने गरेको नेपाल अलैंची व्यवसायी संघले जनाएको छ । त्यसमध्ये ताप्लेजुङले मात्रै २७ प्रतिशत ओगटेको छ । त्यसपछि संखुवासभाले २१ प्रतिशत, पाँचथरले १२ प्रतिशत, इलामले १० प्रतिशत र खोटाङले ८ प्रतिशत ओगटेको छ भने बाँकी २२ प्रतिशत धनकुटा, तेह्रथुम लमजुङ, गोर्खा, दोलखा, रामेछाप, काभ्रे, कास्कीलगायतका जिल्लामा उत्पादन हुने गरेको छ ।

नेपालमा कोशी प्रदेशमा सबैभन्दा बढी अलैंची खेती हुँदै आएको छ । उक्त प्रदेशमा मात्रै १५ हजार ६९४ हेक्टर क्षेत्रफलमा अलैंची खेती हुने गरेको छ । जसमा सो प्रदेशबाट ७ हजार ६४४ मेट्रिक टन अलैंची उत्पादन भएको उल्लेख छ ।

१३ वर्षमा ६० अर्बको अलैंची निर्यात

नेपालको व्यापारघाटामा ठूलो भूमिका रहेको अलैंचीको निर्यात बढ्दै गएको देखिन्छ । नेपालले करिब १३ वर्षको अवधिमा ६० अर्ब मूल्य बराबरको अलैंची निर्यात गरेको छ । नेपालले आव २०६८/७९ देखि आव २०८०/८१ को मंसिरसम्ममा ५९ अर्ब ९० करोड ८६ लाख रुपैयाँ बराबरको अलैंची निर्यात गरेको छ ।

नेपालले आव २०६८/७९ मा ३ अर्ब ४९ करोड ६७ लाख रुपैयाँ, आव २०७९/७० मा ३ अर्ब ८४ करोड ९६ लाख रुपैयाँ, आव २०७०/७१ मा ४ अर्ब २७ करोड ३ लाख रुपैयाँ, आव २०७१/७२ मा ३ अर्ब ४३ करोड ८३ लाख रुपैयाँ, आव  २०७२/७३ मा ४ अर्ब ६१ करोड ४६ लाख रुपैयाँ र आव २०७३/७४ मा ३ अर्ब ८७ करोड ५७ लाख रुपैयाँको अलैंची निर्यात गरेको छ ।

त्यसैगरी, नेपालले आव २०७४/५५ मा ४ अर्ब ८४ करोड ९१ लाख रुपैयाँ, आव २०७५/७६ मा ४ अर्ब २८ करोड ४२ लाख रुपैयाँ, आव २०७५/७६ मा ४ अर्ब २८ करोड ४२ लाख रुपैयाँ, आव २०७६/७७ मा ४ अर्ब १ करोड ९२ लाख रुपैयाँ, आव २०७७/७८ मा ७ अर्ब २ करोड २४ लाख रुपैयाँ, २०७८/७९ मा ४ अर्ब ८१ करोड ३४ लाख रुपैयाँ, आव ७९/८० मा ८ अर्ब २७ करोड ६८ लाख रुपैयाँ र चालु आवको मंसिरसम्ममा ३ अर्ब ९ करोड ८६ लाख रुपैयाँको अलैंची निर्यात गरेको छ ।


अरिष्मा मोक्तान