किस्ताबन्दीमा बक्यौता बुझाउन ३० दिनभित्र प्राधिकरणमा आवेदन दिनुपर्ने



काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बक्यौता विद्युत महसुल रकम किस्ताबन्दीमा बुझाउनका लागि आवेदन दिन ३० दिनको समय तोकेको छ ।

मंगलबार सूचना प्रकाशन गर्दै प्राधिकरणले बक्यौता विद्युत महसुल रकम असुल उपर गर्न एक पटकका लागि बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने गरी विशेष व्यवस्था गरिएको भन्दै सूचना प्रकाशन भएको मितिले ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखि किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन आग्रह गरेको हो ।

प्राधिकरण सञ्चालक समितिको पुस १६ को बैठकले विभिन्न संरचनाहरूबाट विद्युत सेवा प्राप्त गरेका उपभोक्ताहरूसँग विगतदेखि रहेको बक्यौता विद्युत महसुल रकम असुल उपर गर्न एक पटकका लागि बढीमा ६० महिना सम्मको किस्ताबन्दीमा बुझाउन पाउने गरी विशेष व्यवस्था गरिएको सूचनामा उल्लेख गरिएको छ ।

नेपाल विद्युत प्राधिकरण र उद्योगीहरुबीच डेडिकेटेड र ट्रंकलाइनको महसुलबारे बिबाद रहँदै आएको छ । प्राधिकरणले उक्त महसुल उठाउनभन्दै फर्जी बिल काटेको उद्योगीहरुको आरोप छ । टीओडी मिटरको रेकर्ड प्राधिकरणले उपलब्ध गराए आफूहरु महसुल तिर्न तयार रहेको बताउँदै आएका छन् ।

प्राधिकरणका अनुसार ६१ वटा उद्योगको २२ अर्ब २४ करोड रूपैयाँ बक्यौता छ । बक्यौता नबुझाएका २४ उद्योगको प्राधिकरणले विद्युत् सेवा कटौती गरेको छ ।


क्लिकमान्डु