भीआईपी कक्षबाट बाहिर निकाल्थे सुन, १० हजारदेखि ४५ हजारसम्म पाउँथे विमानस्थलका कर्मचारी (बयानसहित)
काठमाडौं । मंसिर २१ गते मध्यारति दुबईबाट आएको विमानका यात्रु चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए । ठूलो परिणाममा सुन तस्करी भएपछि प्रमुख भन्सार अधिकृत मनिराम पौडेलको नेतृत्वमा छानबिन समिति गठन भएको थियो ।
क्रममा फ्लाइ दुबईबाट काठमाडौं आएका गोर्खाका चन्द्र घलेका साथबाट १४ किलो सुन बरामद भएपछि उनलाई सुन ल्याउन लगाउने गोरखाकै मिनबहादुर घले पक्राउ परे ।
छानबिन समितिले तयार गरेको प्रतिवेदनमा उल्लेख भए अनुसार विदेशबाट तस्करी भइ आएको सुन विमानस्थलमा कार्यरत कर्मचारीहरुको ‘सेटिङ’मा बाहिरिने गरेको पाइएको छ ।
समितिका अनुसार पटक पटक गरी मिन बहादुर घले, चन्द्र घले र कृष्णकुमार श्रेष्ठले गरी १३८ केजी सुन ल्याइ विमानस्थलबाट सेटिङ मिलाएर बाहिर ल्याउने गरेकोमा पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ केजी मात्र पक्राउ परेको देखिन्छ ।
एयरपोर्टबाट सुन बाहिर निकाल्न एयरपोर्टमा कार्यरत नागरिक उड्ययन कार्यालय, गौचरका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेकबहादुर तामाङ, सेवा निवृत्त भई करारमा कार्यरत रमेश देउला, एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेत समेतले भूमिका खेलेको समितिको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मिनबहादुर घलेले दुवईमा भारतीय मूलका अंकित अग्रवाल नाम गरेको व्यक्तिसँग सम्पर्क राखी नेपालमा सुन तस्करी गर्न चाँजोपाँजो मिलाउने गरेको देखिएको समितिले जनाएको छ ।
भरियाले विदेशबाट ल्याएको सुन एयरपोर्टबाट बाहिर निकालि सकेपछि रमेश देउला, राधाकृष्ण श्रेष्ठ र अनिल श्रेष्ठले काठमाडौंको टोखा नपा बानियाटारस्थित सूर्यदर्शन हाइटमा रहेको डिबि भन्ने दनबहादुर गुरुङको घरमा पुर्याउने गरेका थिए।
उक्त सुन मिनबहादुर घले र उनका साथी (प्लाटिनम कलेजका एक्ज्युकेटिभ चेयरम्यान) जीवनकुमार गुरुङले अंकित अग्रवालले भनेको स्थानमा लैजाने गरेका थिए ।
विमानस्थलबाट सुन बाहिर निकाल्ने कार्यमा रहेकाहरुसँग समितिले बयान लिएको छ । उनीहरुले दिएको बयान
१. विमानस्थलको एयर साइडमा कार्यालय सहयोगीका रूपमा कार्यरत रहेका रमेश देउलाको बयान
भाईचा पोडेको नाति,बुवा नजरमान पोडे र आमा जगतमाया पोडेको छोरा रमेश देउला हुँ । हाल म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर साईडमा कार्यालय सहयोगी (एयर साईडका कर्मचारीहरुलाई चिया पकाउने, एयर साईडमा मरेका जनावरहरुलाई उठाई हटाउने) काम गर्दछु । मेरो सम्पर्क नं.९८४……..८ हो । बरामद भएको सम्पर्क नं. ९८४……..८ रहेको आइएमइअइ नम्बर ८६७४५…..७१ र आइएमइअइ ८६७४५……८९ भएको मोवाइल फोन मेरो हो।
लेक बहादुर तामाङ्ग, शेरबहादुर बस्नेत र म लगभग २५-३० वर्ष देखि विमानस्थलमा सँगै काम गर्दै आएका छौं। नेपाल नागरिक उड्डयन प्राधिकरण मार्फत मैले २०३२ सालमा करारमा कार्यालय सहयोगिको रुपमा जागिरमा प्रवेश गरी २०३३ सालमा कार्यालय सहयोगिकै रुपमा स्थायी नियुक्ति लिई २०७३ सालमा रिटायर्ड भई पुनः सोही समयबाट हालसम्म करारमा कार्यालय सहयोगिको रुपमा कामकाज गर्दै आएको छु । मेरो काम विमानस्थलको एयर साईडका कर्मचारीहरुलाई चिया पकाउने, एयर साईडमा मरेका जनावरहरुलाई उठाई हटाउने हो ।
बाह्य मुलुकबाट अवैध रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने गरेको सुन भन्सार छली तस्करी गरी लैजाने काम काठमाण्डौं जिल्ला बानियाटार घर बताउने सम्पर्क नं. ९७६१८……१२ भएका डि.बी. गुरुङ, म, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयमा कार्यरत राधाकृष्ण श्रेष्ठ, शेर बहादुर बस्नेत र लेक बहादुरतामाङ मिलेर गर्ने गरेका थियौं ।
बरामद भएको अवैध सुनको सम्बन्धमा डि.बी.गुरुङले सुन लिई आउने यात्रुको दुबईबाट फ्लाईट भईसके पश्चात् फोन मार्फत सुन आउने मलाई जानकारी गराए पछी मैले, राधाकृष्ण श्रेष्ठ, लेक बहादुर तामाङ र शेर बहादुर बस्नेतलाई सोही जानकारी गराउने गर्दथें ।
बाह्य मुलुकबाट सुन लिई आउने यात्रुसँग अन्तर्राष्ट्रिय उडान तर्फको आगमन अध्यागमन एरियामा रहेको अपाङ्ग मैत्री शौचालयको साँचो पहिले नै हुने गरेको र यात्रुले अवैध रुपमा सुन लुकाई लिई आउने फ्लाईट र समयको बारे डि.बि. गुरुङ भन्ने दन बहादुर गुरुङले सुन लिई आउने यात्रुको दुबईबाट फ्लाईट भईसके पश्चात मलाई फोन मार्फत जानकारी गराउने गरेकोमा मैले राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङर शेर बहादुर बस्नेतलाई सोही जानकारी गराए पश्चात निज लेक बहादुर तामाङ र शेर बहादुर बस्नेतले मैले भने बमोजिमको फ्लाईटमा आएका यात्रुहरु मध्ये आगमन अध्यागमन एरियामा रहेको अपाङ्ग मैत्री शौचालयको ढोका खोली सुन लिई आएका यात्रुले भित्र सुन राखे नराखेको यकिन गरी यात्रु उक्त शौचालयमा सुन राखी यात्रु शौचालयबाट बाहिर निस्केपश्चात लेक बहादुरतामाङले यात्र्रुले अवैध रुपमा लिई आएको सुन उक्त एरियाबाट बाहिर निकाली अन्तर्राष्ट्रिय तर्फको भिअइपी कक्ष हुँदै भन्सार छली तस्करी गरी लिई गई राधाकृष्ण श्रेष्ठलाई दिने गरेको र राधाकृष्ण श्रेष्ठले उक्त सुन पाईसके पश्चात मलाई फोन सम्पर्क गरी हामी दुईजना भई डि.बि. गुरुङ भन्ने दन बहादुर गुरुङले भनेको स्थानमा गई यसरी भन्सार छली तस्करी गरेको सुन डि.बि. गुरुङ भन्ने दन बहादुर गुरुङलाई बुझाउने गर्दथ्यौ ।
अवैध रुपमा बाह्य मुलुकबाट लिई आएको सुन यात्रुले आगमन अध्यागमन एरियामा रहेको अपाङ्ग मैत्री शौचालयमा राखिसके पश्चात उक्त एरियाबाट लेक बहादुरतामाङले सो सुन भिअइपी कक्ष हुँदै भन्सार छली तस्करी गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय नजिकै रहेको शौचालयमा गई राधाकृष्ण श्रेष्ठलाई दिए पश्चात राधाकृष्ण श्रेष्ठले मलाई फोन मार्फत जानकारी गराउने र मैले निजलाई कान्तिपुर क्याफे अगाडी रहेको पार्कीङमा बोलाई निज राधाकृष्ण श्रेष्ठलाई पछाडी राखि कहिले काँही मेरो र कहिले काँही राधाकृष्ण श्रेष्ठको मोटरसाईकलमा डि.बि. गुरुङ भन्ने दन बहादुर गुरुङले भनेको ठाँउमा सुन दिनको लागि जाने गर्दथ्यौं।
डिबि गुरुङ भन्ने दन बहादुर गुरुङले सुन दिनको लागि हामीलाई कहिले बनकाली, कहिले धुम्बाराही बोलाउने गर्दथे ।
२. विमानस्थलमा प्लम्बरको रूपमा काम गर्ने शेरबहादुर बस्नेतको बयान
म छत्र ब. बस्नेतको नाति, अमर ब. बस्नेतको छोरा जिल्ला काठमाडौ, का.म.पा. साविक वडा नं. ८ जयबागेश्वरी बस्ने बर्ष ५४ शेरबहादुर बस्नेत हुँ। म प्लम्बर को काम गर्दछु। मेरो सम्पर्क नं. ९८६०…..४ हो । मैले पहिले देखि नै म प्लम्बिङ्ग को काम गर्ने गरेको थिएँ र हाल सम्म पनि त्रिभुवन विमानस्थलमा यसै सम्बन्धी काम गर्ने गरेको छु।
मंसिर १३ गते कृष्णकुमार श्रेष्ठसँग सँगसँगै रातको समयमा अध्यागमन तर्फको शौचालय तर्फ गएको सीसीटिभी फुटेजमा देखिएको व्यक्ति म नै हुँ । त्यसदिन विभिन्न कामले फोन आएको हुनाले कुराकानी गरेको हुँ, अन्य कामले हैन । आफ्नो पेशा सँग सम्बन्धी कामकै लागि फोन सम्पर्क गरेको हो ।
२०८०/०८/१३ गते विहान करिव ८:३० बजेको समयमा फ्लाई दुबई ल्याण्ड भईसके पश्चात मलाई त्रि.अ.वि.मा कार्यरत रमेश देउला सम्पर्क नं. ९८४…..०८ बाट सामान आयो भनी खबर आए पश्चात त्रि.अ.वि.को आगमन अध्यागमन तर्फको शौचालयसम्म सुन बोकी ल्याउने व्यक्ति आए नआएको एकिन गर्नको लागी खटिएको थिएँ । तत्कालीन समयमा मैले नचिनेको हाल यसै मुद्दाका अभियुक्त कृष्णकुमार श्रेष्ठले सुन बोकी आउने र ट्वाइलेटमा राखेर जाने भन्ने सुचनाका आधारमा त्यहाँआएको नआएको हेर्न कुरेर बसेको थिएँ । उक्त समयमा म लगायत सरसफाई अन्तर्गत काम गर्ने गणेश चेपाङ, कपिल ओझा, सकुन्तला कार्की र सुपरभाईजर शुसिला पाण्डे समेत उक्त एरियामा थियौं ।
त्यस वखत मैले नचिनेको तर हाल आएर नाम थाहा भएको कृष्ण कुमार श्रेष्ठ भन्ने व्यक्ति त्रि.अ.वि.को आगमन क्षेत्रमा अध्यागमन डेस्क नजिकै रहेको ट्वाईलेटमा प्रवेश गरेपछि हामी सबैजना उक्त ट्वाईलेट एरियामा गएका थियौं र त्यसपछि कृष्ण कुमार श्रेष्ठसँग सुन कति थियो थाहा भएन तर उनले पुरुष तर्फको अपाङ्ग मैत्री शौचालयको क्याविन भित्र प्रवेश गरी निजले लिई आएको सुनलाई उक्त शौचालयको भित्र पट्टी रहेको लक गर्न मिल्ने ढोका खोली राख्दछन् र निजसँगै उक्त ढोकाको चावी समेत हुने भएकाले ढोका खोली सुन राखेर चाबी बन्द गरेर जान्छन् ।
उनी निस्किएपछी म उक्त एरियाबाट वाहिर निस्कन्छु।टर्मिनल ड्यूटी अधिकृत कार्यालयका कर्मचारी लेक बहादुर तामाङ सोही शौचालयमा आइ उक्त सुन राखेको ढोका खोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन तर्फको VIP गेट खोली भीआईपी कक्ष हुँदै बाहिर निकाल्ने गर्दछन्। यसमा मेरो भुमिका रमेश देउलाले यात्रुको सामान ल्याएर शौचालयमा राखे नराखेको कुरा निगरानी राखे बापत निजसँग रु.१०,०००।– (दश हजार मात्र) बुझ्ने हो।
यस पटक पनि रमेश देउलाले मलाई रु. १०,०००।- (दश हजार) दिएका हुन्।
सुन तस्कर मिन बहादुर घलेले खटाएको व्यक्ति कृष्ण कुमार श्रेष्ठ फ्लाई दुवईबाट अवतरण भएपछि सिधै कपिल ओझाले आफु सँगै साथै लगि शौचालयमा लगेको ठिक साँचो हो, उक्त सुन शौचालयमा रेखदेख गर्ने जिम्मा हाम्रो हो, उक्त शौचालयमा लेक बहादुर तामाङआएर भि.आई.पि. कक्षबाट लगेर जान्छ ।हामिहरुलाई उ भि.आई.पि. को ढोका भित्र छिरेको मात्र थाहा हुन्छ, त्यस पछि के कसरी उक्त सुन लगेर जान्छ, त्यो हामिहरुलाई थाहा हुँदैन ।
३. विमानस्थलका कार्यालय सहयाेगी लेक बहादुर तामाङको बयान
म हर्क बहादुर तामाङ्गको नाति, राम बहादुर तामाङ्गको छोरा आमाको नाम हरीमाया तामाङ्ग र श्रीमतीको नाम कर्श तामाङ्ग भएको म लेक बहादुर तामाङ्ग (नागरिकता नं. ०६६६) हुँ।म त्रि.अ.बि नागरीक उड्ययन कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत छु।मेरो सम्पर्क नं.९८४….६ हो । म नागरिक उड्डयन प्राधिकरणमा२०४५ साल देखि कार्यरत छु । २०७४ साल देखि उक्त प्राधिकरणको त्रि.अ.बि कार्यालयमा खट्टिदै आएको छु।
मेरो मुख्य कार्य जिम्मेवारी सिफ्ट अनुसार भि.आई.पि. ढोका खोल्ने र बन्द गर्ने हो साथै टर्मिनल ड्युटी अफिसका सिनियर सरहरुले लगाएको अन्य प्रशासनिक काम समेत गर्दछु । मैले एक पटकमा चौध के.जी को दरले दुई पटकमा जम्मा २८ के.जी सुन अध्यागमन डेस्क नजिकको अपाङ्गमैत्री शौचालयबाट निकालेर हाम्रै कार्यालयका पाचौं तहका एसी मर्मत (एसी मेन्टेनेन्स) गर्ने कर्मचारी राधा कृष्ण श्रेष्ठलाई दिएको हुँ । यसरी अवैध रुपमा भन्सार छली गरेर सुन चोरी पैठारी गरेवापत रमेश देउलाले मलाई नगद रु. ४०,०००।- (चालिस हाजार मात्र) दिएका हुन् ।
मलाई उक्त सूचना रमेश देउला र दन बहादुर गुरुङ्ग (डि.बी गुरुङ्गले) ले दिने गर्दछन् । उनीहरुलेकती मितिको कुन एयरलाईन्सबाट कुन समयमा सुन आउँदैछ भन्ने जानकारी दिन्छन् ।तर ल्याउने व्यक्तिबारे मलाई थाहा हुँदैन । मिति २०८०।०८।२१ गते चन्द्र घलेले सुन बोकी आउने सुचना मलाई थाहा जानकारी थियो तर निज चन्द्र घलेले नै उक्त सुन बोकी ल्याउँदै छन् भन्ने बारे थाहा थिएन ।
दन बहादुर गुरुङ्ग (डि.बी गुरुङ्गले) ले फ्लाइ दुवइ बाट मान्छे आउँदैछ भनी जानकारी गराएका थिए । प्रतिवादी चन्द्र घले आउने दिन मिति २०८०।०८।२१ गते मेरो डियूटी थियो ।उक्त दिन मेरो नाइट सिफ्ट ड्युटी थियो। उक्त सुचना पाए पश्चात म त्रि.अ.बी को आगमन कक्षको अध्यागमन डेस्क नजिकको अपाङ्गमैत्री शौचालयमा गई उक्त अपाङ्गमैत्री शौचालय भित्रको ढोका खोली मिति २०८०।०८।२१ गते पक्राउ परेका चन्द्र घलेका साथबाट बरामद सुन राख्नका लागी बनाइएको गोजी भएको भोटो जस्तो कपडा लगाई निकालेर त्रि.अ.बि नागरीक उड्डयन कार्यालयको प्रशासन नजिकको शौचालय भित्र गई राधा कृष्ण श्रेष्ठलाई उक्त सुन सहितको भोटो दिने गरेको हो ।
निज राधा कृष्ण श्रेष्ठले कुन बाटोबाट उक्त सुन निकालेर बाहिर जान्छ मलाई थाहा जानकारी छैन । त्यस पश्चात उक्त सुनको व्यवस्थपन रमेश देउला र राधा कृष्ण श्रेष्ठले गर्ने गरेका हुन् । त्रि.अ.बि. को आगमन कक्षको अध्यागमन डेस्क नजिकको अपाङ्गमैत्री शौचालय भित्रको ढोकाको चाबी मलाई रमेश देउलाले दिएका हुन् । अपाङ्गमैत्री शौचालय भित्रको ढोकाको चाबी हाल मसँग छैन । मैले उक्त चाबी हराइसकें।
डि.बी गरुङ्गको पुरा नाम दन बहादुर गुरुङ्ग हो। उसको घर लमजुङ्ग हो । काठमाण्डौ उपत्यकामा दन बहादुर गुरुङ्ग बानियाटारमा बस्दछन् ।उसको सम्पर्क नम्बर मलाई थाहा छैन ।दन बहादुर गरुङ्गसँग मिलेर म र रमेश देउलाले मित्रनगर नयाँ बसपार्कमा मनास्लु मर्स्याङ्दी लज सञ्चालन गरेका थियौं ।
७. विमानस्थलका एयर कन्डिस्नर चलाउने राधा कृष्ण श्रेष्ठको बयान
म भाजुलाल श्रेष्ठको नाति,बुवा राम कृष्ण श्रेष्ठ र आमा सानुमाया श्रेष्ठको छोरा राधा कृष्ण श्रेष्ठ हुँ । हाल म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्रधिकरणमा वरिष्ठ सहायक (एयर कन्डिस्नर चलाउने) को रुपमा कार्यरत छु । मेरो सम्पर्क नं.९८४१…..० हो । मेरो घरमा हाल श्रीमती राजेश्वरी श्रेष्ठ र म बस्दछौ । छोरा रोमश श्रेष्ठ, बुहारी बिजेता महर्जन हाल अमेरिकामा बस्दछन् ।
मेरो सम्पर्क नं. ९८४…..२० रहेको आइएमइआइ नम्बर ३५८३…..६८५ भएको एलजी के ३० २०१९ मोवाइल फोन सनाखत गरिदिएको छुँ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण मार्फत मैले २०४६ सालमा अस्थायी नियुक्ति लिई एयर कन्डिस्नर मर्मत सम्भार गर्ने गरी २०५२ सालमा स्थायी नियुक्ति लिई हाल एयर कन्डिस्नर चलाउने वरिष्ठ सहायकको रुपमा कामकाज गर्दै आएको छु । मेरो काम विमानस्थलमा जडित एयर कन्डिस्नर चलाउने, मर्मत सम्भार गर्ने हो ।
डि.बि. गुरुङ भन्ने दन बहादुर गुरुङ, चन्द्र घले, मिन बहादुर घले, कृष्ण कुमार श्रेष्ठ लगायत विमानस्थलमा सरसफाईका कर्मचारीहरु सुशिला पाण्डे, गणेश चेपाङ, कपिल ओझालाई म चिन्दिन र निजहरुसँग मेरो कुनै नाता सम्बन्ध पनि छैन ।
लेक बहादुर तामाङ्ग, शेर बहादुर बस्नेत, रमेश देउला र म बिमानस्थलमा सँगसँगै काम गर्ने भएकोले निजहरुसँग राम्रो चिनजान छ र सँगै काम गर्ने साथीहरु हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भन्सार छली पास हुने गरेको साथै बरामद भएको अवैध सुन मेरो होईन । बाह्य मुलुकबाट अवैध रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने गरेको सुन भन्सार छली तस्करी गरी लैजाने काम म, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयमा कार्यरत रमेश देउला, लेक बहादुर तामाङ र अनिल श्रेष्ठ मिलेर गर्ने गरेका थियौं ।
सुन लिई आउने यात्रुहरुको बारेमा मलाई जानकारी हुदैनथ्यो, यात्रुले अवैध रुपमा लुकाई छिपाई लिई आएको सुन लेक बहादुर तामाङले मलाई दिने गर्दथे त्यस बाहेक अरु को-को संलग्न रहेका छन मलाई जानकारी भएन ।विमानस्थलबाट अवैध रुपमा भन्सार छली पास हुने गरेको साथै बरामद भएको अवैध सुनको सम्बन्धमा रमेश देउलाले बाह्य मुलुकबाट सुन नेपाल आउदै गरेको जानकारी मलाई गराउथे ।
उक्त सुन लिई आउने यात्रु विमानस्थलमा अवतरण भई निजले लिई आएको सुन लेक बहादुर तामाङले लिई सकेको मलाई फोन गरी जानकारी गराए पश्चात म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय नजिकै रहेको शौचालयमा गई लेक बहादुर तामाङलाई पर्खि बस्ने र लेक बहादुर तामाङले लिई आएको सुन अनिल श्रेष्ठले ढोका खोलिदिएको गोप्य बाटो हुँदै लिई रमेश देउला भएको ठाँउमा जाने गर्दथेँ ।
अवैध रुपमा यात्रुले लिई आएको सुन लेक बहादुर तामाङले मलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय नजिकै रहेको शौचालयमा बोलाई दिईसके पश्चात् मैले प्रहरीको कुनै पनि चेकजाँच नहुनेअनिल श्रेष्ठले खोलेको गोप्य बाटो हुँदै बाहिर निकाली म र रमेश देउला भई सम्बन्धित स्थानमा गई सम्बन्धित व्यक्तिलाई बुझाउने गर्दथ्यौं ।
म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालय नजिकै रहेको शौचालयमा गई बस्दथे र सोही समयमा अनिल श्रेष्ठले रेडिसन लाउन्ज पछाडीको गोप्य ढोका खुल्ला राख्ने र रमेश देउला समेत तल मलाई पर्खि रहेका हुन्थे ।
लेक बहादुर तामाङबाट मैले उक्त सुन लिईसके पश्चात म त्रिभुवन बिमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान तर्फ रहेको रेडिसन लाउन्ज छेउमा रहेको मैले सुन लिई आउने समयमा अनिल श्रेष्ठलाई खुल्ला राख्न भनेको आपतकालिन द्वार (साँचो एसी मेन्टेनेन्स अफिसमा हुने गरेको) हुँदै माथिल्लो माथी इक्विपमेन्ट तथा एसी राखिएको स्थान हुँदै उक्त भवनको उत्तर पुर्व तर्फको कुनाबाट सिंढी हुँदै सुनगाभा सगरमाथा जे.भि. सप्लायर्सको (सरसफाई) अफिसको छेउमा रहेको सिंढी हुँदै तल ओर्ली प्रस्थान एरियाको बाहिर रहेको सार्वजनिक शौचालय नजिकै रहेको बाटो हुँदै बाहिर निस्की टावर भवन नेपाल राष्ट्र बैकको एटिएम हुँदै जाँदै गर्दा मलाई पर्खिरहेका रमेश देउला मलाई देखि मेरो नजिक मोटरसाईकल लिई आए पश्चात निजको मोटरसाईकलमा बसी निज रमेश देउला र म भन्सार छली पैठारी गरी लिई आएको सम्बन्धित मानिस समक्ष पुर्याउन जाने गर्दथ्यौं ।
उक्त सुन बुझाउने मानिसलाई म चिन्दिन तर रमेश देउलाले भने बमोजिम हामि दुईजना भएर गोङ्गबुको एक घरमा गई एकजना महिलालाई उक्त सुन दिने गरेका थियौं ।अवैध रुपमा लिई आएको सुन ओसार पसारमा अरुको संलग्नता के कति पटक भएको थियो सो सम्बन्धमा मलाई जानकारी भएन । मैले त्यसरी लिई आएको सुन २ (दुई) पटकसम्म ओसार पसार गरेको छु ।
पछिल्लो समय मिति २०८०/०८/१३ गते भन्सार छली गरी लिई आएको सुन लिई रमेश देउला र म भएर गोंगबु स्थित एकजान महिलालाई दिएको हौं पहिलेको मिति मलाई एकिन भएन ।लेक बहादुरतामाङले दिएको अवैध सुन भन्सार छली तस्करी गरी मैले बाहिर निकाल्ने क्रममा मैले नै भने बमोजिम अनिल श्रेष्ठले एसी मेन्टेनेन्स अफिसबाट साँचो लिई त्रि.अ.वि.ना.उ.कार्यालयको छतबाट रेडिसन लाउन्ज पछाडी हुँदै अन्तर्राष्ट्रिय प्रस्थान कक्ष बाहिर रहेको ट्वाईलेटसँगै रहेको सरसफाईको अफिसमा निस्कने गोप्य बाटोमा रहेको ढोका खोल्न लगाउने गरेको हुँ । उक्त बाटोको ढोका खोल्ने काम मात्र निजले गर्ने गरेका थिए । उक्त काम गरे बापत मैले नै निजलाई नगद रु.१५,०००।– (पन्ध्र हजार मात्र) दिने गरेको थिएँ ।
उक्त कार्य गरे वापत मलाई रमेश देउलाले नगद रु.४५,०००।–(पैतालिस हजार मात्र) दिने गरेका थिए । उक्त रकम निजलाई को-कस्ले दिने गरेको र अन्य को कस्ले के कति रकम लिने गरेका छन सो सम्बन्धमा मलाई जानकारी भएन ।
४. विमानस्थलमा एसी मेन्टेनेन्सको काम गर्ने अनिल श्रेष्ठको बयान
म विगत १२ वर्ष बाट नागरिक उड्डयन प्राद्यिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ए.सी. मेन्टेनेन्सको काम गर्ने गरेको । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भन्सार छली पास हुने गरेको साथै बरामद भएको अवैध सुन आफ्नु नरहेको र उक्त सुन को कस्को हो समेत थाहा नभएको। उक्त सुन विमानस्थलबाट बाहिर निस्केपछि जिम्मा लिने ब्यक्ति चाँहि डि.बि. दाई भएको । बाह्य मुलुकबाट अवैध रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने गरेको सुन भन्सार छली तस्करी गरी लैजाने काम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयमा कार्यरत आफु, रमेश देउला, लेक बहादुर तामाङ र राधाकृष्ण श्रेष्ठ मिलेर मिलेर गर्ने गरेको।
आफुहरु मध्ये सुन पब्लिक शौचालयबाट ल्याएर चिलर प्लान्ट भएको हलमा राख्ने काम लेक बहादुर तामाङ्गले गर्ने गरेको र आफ्नो जिम्मेवारी भने सिनियर राधाकृष्ण श्रेष्ठले मौखिक रुपमा सुन राखिएको चिलर प्लान्ट भएको हलको ढोका खोल्न आदेश दिएपछि ढोका खोलिदने र त्यहाँबाट सामान निकालेपछि उक्त स्थान ईमर्जेन्सी एक्जिटको ढोका बन्द गरिदिने रहेको। राधाकृष्ण श्रेष्ठ र रमेश देउलाको जिम्मेवारी उक्त सुन चिलर प्लान्ट भएको हलबाट बाहिर निकाली डि.बि. दाईको घर बाँनियाटारसम्म पुर्याउने रहेको । चिलर प्लान्ट राखिएको हल हुँदै निकालिएको सुन जिम्मा लिने ब्यक्ति डि.बि. दाई रहेको।
निजको पुरा नाम थर बतन आफुलाई थाहा नभए पनी उनी त्यस्तै ५०-५५ बर्ष उमेरका मानिस रहेको ।उनीसँग चीनजान 1 महिना अघि निजले बाँनियाटारमा खाजा खान बोलाएको बेला भएको र आफु पनि एकपटक ए.सी. रुममा राखी ईमर्जेन्सी एक्जिट हुँदै निकालिएको मालबस्तु पुर्याउन निजको घरसम्म गएको हुँदा निजको घर बाँनियाटार भन्ने थाहा भयो। लेक बहादुर तामाङ्गले कहाँ को सँग बाट उक्त सुन ल्याएर त्यहाँ राख्थे त्यो बारे जानकारी नरहेको ।
सरसफाई कर्मचारीहरु शुशिला पान्डे, गणेश चेपाङ् र कपिल ओझाको बारेमा जानकारी नभएको तर शेर बहादुर बस्नेतले भने सहयोग गर्ने गरेका थिए। उनको जिम्मेवारी सुन चिलर प्लान्ट मा ल्याउन भन्दा अघि पब्लिक शौचालयमा राखिएको सुन रेखदेख गर्ने गरेको। चिलर प्लान्ट रहेको हल र ईमर्जेन्सी एक्जिटका ढोकाको चाबी ए.सी. रुममा रहने गरेको ।
उक्त ढोकाहरु खोले वापत रमेश देउलाले एकपटकको पन्ध्र हजार रूपैयाँ दिने गरेका थिए भने एकपटक सामान डि.बि. दाईको घरमा नै पुर्याउँदा भने रु तीस हजार प्राप्त गरेको भन्ने ब्यहोराको बयान दिएका छन् ।
५. विमानस्थलमा हाउस किपिङकाे काम गर्ने गणेश चेपाङको बयान
जित बहादुर प्रजाको नाति, बुवा डिल बहादुर प्रजा र आमा टिका कुमारी प्रजाको छोरो जिल्ला धादिङ, बेनिगाट रोराङ गा.पा. वडा नं. ९ स्थायी वतन भई हाल काठमाण्डौं जिल्ला तारकेश्वर न.पा. वडा नं. ९ बस्ने बर्ष ३० को गणेश चेपाङ हुँ ।
म हाल सिनामंगल स्थित सुनगाभा सगरमाथा श्रेष्ठ जे.भी. सप्लायर्स मार्फत विगत ७ वर्ष देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय, गौचरमा हाउस किपिङको काम गर्छु । बुवा, आमा, बहिनी वर्ष २२ को प्रज्ञा चेपाङ र म गरी ४ जनाको परिवार छौ । मेरो सम्पर्क नं.९८६९७५६९७७ र ९८०८४१६९१८ रहेको छ । मसँगै पक्राउ परेका मध्ये शुसिला पाण्डे मेरो सुपरभाईजर हो, शेर बहादुर बस्नेत र कपिल ओझा प्लम्बर हुन् उनीहरु सँगै विमानस्थलमा काम गर्ने भएको हुँदा निजलाई चिन्दछु ।
उक्त समयको सिसिटिभि फुटेज हेराउँदा हेरिपाएँ । उक्त दिन मेरो ड्यूटी आगमन अध्यागमन र भन्सार एरियामा विहानको ०६:०० बजेदेखि ११:३० बजेसम्म रहेको थियो । सि.सि. टिभिमा देखिएका मध्ये कपिल ओझा, कस्टममा पूर्ण कुमारी दिदि, शुशिला पान्डे। शुशिला मेडम र सकुन्तला मेडमको नम्बर मोवाईलमा सेभ छ तर मुखाग्र नभएकाले भन्न सक्दिन।उक्त समयमा ट्वाईलेटको सरसफाईको लागि म गएको हुँ । कृष्ण कुमार श्रेष्ठ के कुन बेला ट्वाईलेट गयो मलाई थाहा भएन।
त्यसदिन अन्य पुरुष सफाईकर्मी विदामा भएकाले मैले अध्यागमन र भन्सार एरिया दुबैको ट्वाईलेट सफा गर्नुपर्ने थियो। अन्य पुरुष सफाईकर्मी हाजिर भएका दिन अध्यागमन वा भन्सार एरिया कुनै एक स्थानको ट्वाईलेट सफा गरी अराईभलको फ्लोरमा पोछा लाउन जानुपर्थ्यो। त्यो दिन म मप लगाउन नभ्याउने कुरा मेरो सुपरभाइजर शुशिला पान्डे र सहकर्मी सकुन्तला कार्कीलाई भन्ने क्रममा कुराकानी गरेको हुँ ।
म र कपिल ओझा ट्वाईलेटबाट फोहोर लिएर निस्किएको ठिक साँचो हो।उनले पनि ट्वाईलेटमा पेपर र शोप राख्ने काम सकेकाले सँगै निस्किएका हौ। ट्वाइलेटमा जम्मा भएको फोहोर निकालेर गार्बेज बक्समा जम्मा गर्ने काम मेरो हो। उक्त दिन मैले ट्वालेटबाट निकालेको फोहोर स्टोर वा डष्टविन मध्ये एकठाँउ राखेको हुनुपर्छ। उक्त फोहोर थोरै भए डष्टविनमा र धेरै भए गार्बेज बक्समा प्याक गरी स्टोरमा राखिन्छ। त्यो दिन कहाँ राखे एकिन भन्न सकिन।
६. विमानस्थलमा प्लम्बरको काम गर्ने कपिल ओझाको वयान
भानुभक्त ओझाको नाति, बुवा माधव प्रसाद ओझा र ईमादेवी ओझाको छोरो जिल्ला सुनसरी, ईटहरी उ.म.न.पा वडा नं. 3 स्थायी वतन भई हाल भक्तपुर जिल्ला मध्यपुर थिमि न.पा. वडा नं. 1 बस्ने बर्ष 31 को कपिल ओझा हुँ । म हाल सिनामंगल स्थित सुनगाभा सगरमाथा श्रेष्ठ जे.भी. सप्लायर्स मार्फत विगत 4 वर्ष देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय, गौचरमा प्लम्बरको काम गर्छु । श्रीमती छोरा र म गरी 3 जनाको परिवार छौ। मेरो सम्पर्क नं. ९८४२५…७२ रहेको छ ।
पहिला म ईटहरीमा नै विजुली वेयरिङ्ग, प्लम्बिङ्ग र पेन्टरको काम गर्थे र हाल विगत ४ वर्ष बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्लम्बिङ्ग को काम गर्छु ।उक्त समयको सिसिटिभी फुटेज हेराउँदा हेरिपाँए । उक्त दिन मेरो ड्यूटी आगमन अध्यागमन र भन्सार एरियामा विहानको ०६:०० बजेदेखि ११:३० बजेसम्म रहेको थियो । ड्यूटीकै सिलसिलामा ट्वाईलेटमा पेपर राख्ने र धारा मर्मत गर्ने जिम्मेवारी भएकोले पेपर राख्ने काम गरेको हुँ । उल्लेखित व्यक्तिहरु शेर बहादुर बस्नेत, गणेश चेपाङ्ग, शुशिला पान्डे र सकुन्तला दिदि हुनुहुन्छ।
फ्लाई दुबईबाट आगमन भएका अवैध सुन लुकाई लिई आएका यात्रु कृष्ण कुमार श्रेष्ठ आगमन अध्यागमन एरियामा रहेको ट्वाईलेटमा जाने क्रममा तपाई समेत निजको पछिपछी ट्वाईलेटमा जानुको कारण के थियो ? उक्त कार्य पश्चात ट्वाईलेटबाट बाहिर निस्की तपाई लगायत शुसिला पाण्डे, शेर बहादुर वस्नेत, सकुन्तला कार्की र गणेश चेपाङ्ग समेत एकै ठाउमा भेला जम्मा भई लामो समय कुराकानी गर्नुको कारण शुसिला पाण्डे, शेर बहादुर वस्नेत, सकुन्तला कार्की र गणेश चेपाङ्ग समेतले कतिबेला खाजा खान जाने भनेर सल्लाहका लागि थियो ।
ट्वाईलेटमा जम्मा भएका फोहोर पहिला गार्बेज ब्यागमा जम्मा गरिन्छ। ट्वाइलेट भित्रको फोहोर गार्बेज ब्यागमा जम्मा गर्ने काम गणेश चेपाङ्गले गर्छ र अन्य स्थानको फोहोर जम्मा गर्ने काम महिला सफाईकर्मीले गर्छन। उक्त गार्बेज ब्यागलाइ हामीले सिस्टर भन्ने सकुन्तला दिदि र रमा दिदिले टावर र डेथ बडी निकाल्ने एरियाको बिचमा रहेको डर्फ एरियामा लगेर फाल्ने गर्नुहुन्छ र त्यहाँबाट फोहोरको गाडिले लैजान्छ। म त्यो दिन पहिला अध्यागमनको ट्वालेटमा पेपर राखेर त्यसपछि भन्सार एरियाको ट्वाईलेटमा पेपर राख्न गएको हुँ। म र गणेश चेपाङ्ग ट्वाईलेटबाट सँगै बाहिर निस्केर म बाँकी रहेको पेपर अफिसमा फिर्ता गर्न गएँ। उसले फोहोर कता लग्यो थाहा भएन।
६. विमानस्थलमा हाउसकिपिङको काम गर्ने सुशिला पाण्डेको बयान
म टेक बहादुर पाण्डेको नातिनी, प्रेम पाण्डेको छोरी जिल्ला अर्घाखाँची साविक डिभर्ना-५, हाल परिवर्तित सन्धिखर्क न.पा स्थायी वतन भई हाल जि. भक्तपुर मध्यपूर थिमि नगरपालिका वडा नं. १ लोकन्थली बस्ने बर्ष ३६ को शुसिला पाण्डे हुँ । म हाल सिनामंगल स्थित सुनगाभा सगरमाथा श्रेष्ठ जे.भी. सप्लायर्स मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय, गौचरमा हाउसकिपिङ (सरसफाई) सुपरभाइजरको रुपमा विगत ४ वर्ष देखि काम गरिरहेकी छु। मेरो सम्पर्क नं. ९८४१….२८, ९८४१….३२, ९७०२….१४ रहेको छ ।
म पहिला पहिला कलेज पढ्दा मार्केटिङ्ग गर्थें । पछि म मोडलिङ्ग पेशामा समेत आवद्ध भएँ । नाडा अटोको एमसी गरें । यस्ता कामहरु दिगो हुने नदेखेर हाल एरपोर्टमा काम गरिराखेकी छु। मिति २०८०।०८।१३ गते मेरो डियूटी समय बिहानको ६ बजे देखी ११:३० सम्मको थियो ।मिति २०८०।०८।१३ गते फ्लाइ दुवइ एयरलाइन्स बिहान ८:२० मा त्रि.वि.अ.विमानस्थलमा अवतरण भए पश्चातको तपाइको सिसिटिभीले कैद गरेका क्रियाकलापहरु मलाइ देखाउदा मसँगै रहेका अन्य सरसफाइका कर्मचारीहरु को को हुन् भन्ने सन्दर्भमा शेर बहादुर वस्नेत सकुन्तला कार्की कपिल ओझा र गणेश चेपाङ्ग र पूर्णकुमारी दिदि हुन्। उहाँहरुको सम्पर्क नम्बर मोवाईलमा सेभ छ तर मुखाग्र छैन। त्यसैले भन्न सक्दिन।
उल्लेखित ब्यक्तिहरु मध्ये चन्द्र घले, मीन बहादुर घले र कृष्ण कुमार श्रेष्ठलाई चिन्दिन । गणेश चेपाङ्ग, शेर बहादुर बस्नेत र कपिल ओझा लाई चिन्छु। म उनीहरुको सुपरभाईजर हुँ।तर त्यो दिन शेर बहादुर बस्नेतको डिउटी थिएन।उक्त समयमा मेरो फोन आएको हुँदा फोनमा कुरा गर्दै महिला शौचालयको छेउमा फोनमा बोल्दै गएको हुँ। त्यतिबेला को सँग फोनमा के कुरा गरेको हुँ बिर्सिएँ।मैले नियतबस सि.सि. टि.भि. छेकेर उभिएको होईन संयोगबस त्यस्तो भएको होला। हामी एकै ठाउँ उभिएर कामको विषयमा नै कुराकानी गरेका थियौं म उनीहरुको सरसफाई सुपरभाईजर भएकाले सकुन्तला कार्की गणेश चेपाङ्ग, शेर बहादुर वस्नेत र कपिल ओझा एकै ठाँउ बोलाई कामको निर्देशन गरेकी हुँ। सुन कसले ल्यायो कसले कता लग्यो मलाई जानकारी भएन ।
मेरो जिम्मेवारी सरसफाई सुपरभिजनको भएकाले मेरो कार्यक्षेत्र भित्र जतिबेला जहाँ पनि पुग्नुपर्छ। म कामको शिलशिलमा आवतजावत गर्दा संयोगवश त्यो समयमा त्यहाँ पुगेको हुँ। म नेपाली राहदानी प्रयोग गरेर सिङ्गापुर ईटाली लगायत अन्य देशमा घुम्नका लागि गएको छु।मेरो यात्रा विवरण तपाईहरुले अध्यागमन कार्यालयबाट लिन सक्नुहुन्छ।