सम्वर्धन सहकारीले ठग्यो बचतकर्ताको ६५ लाख‍, म्यानेजरले नै तिरेनन् ६२ लाख ऋण



काठमाडौं । बचतकर्ताको ६५ लाख १९ हजार ८७० रुपैयाँ ठगिको आरोपमा मुद्दा दर्ता भएको सम्वर्धन बचत तथा ऋण सहकारी संस्थाका म्यानेजर रोशन कुँवरले ६२ लाख रुपैयाँ ऋण लिएको पाइएको छ ।

सहकारीको बनस्थली सेवा केन्द्रका म्यानेजर कुँवर आफूले २० लाख रुपैयाँ र आमा रेखा कुँवरको नाममा ४२ लाख रुपैयाँ ऋण लिएको स्वीकार गरेका छन् ।

सहकारीको नामबाट बचतकर्ता ठगेर फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेपछि आफू र आमाको नाममा सहकारीबाट ६२ लाख रुपैयाँ ऋण लिएको स्वीकार गरेका हुन् ।

उनले लिएको ऋण समयमै फिर्ता नगर्दा बचतकर्ताहरुको रकम सहकारीले फिर्ता गर्न नसकेको हो ।

६४ बचतकर्ताको ६५ लाख १९ हजार ८७० रुपैयाँ ठगेर फरार रहेका ८ जना मध्ये संस्थाका सञ्चालक नवराज अधिकारी र कुँवर पक्राउ परेका छन् ।

संस्थाका अध्यक्ष दोलखा जिल्ला साविक पवटी गाविस हाल मेलुङ गाउँपालिका १ का दिनेश कालिकोटे, उपाध्यक्ष दोलखा जिल्ला साविकको पवटी गाविस २ हाल मेलुङ गाउँपालिका १ की देवी पाण्डे, सचिव दोलखा जिल्ला साविक पवटी गाविस हाल मेलुङ गाउँपालिका १ का प्रकाश लकाई, कोषाध्यक्ष दोलखा जिल्ला साविक पवटी गाविस हाल मेलुङ गाउँपालिका १ का साजन थापा, सञ्चालक समिति सदस्य ललितपुर जिल्ला साविक कालेश्वर गाविस १ का सुनिता गौतम र सञ्चालक समिति सदस्य दोलखा जिल्ला साविक पवटी गासिव २ हाल मेलुङ गाउँपालिका १ का चण्डिका खड्का फरार छन् ।

म्यानेजर कुँवर २०७७ असोज १६ गते देख‍ि सहकारीमा जोडिएका थिए । आफू संस्थाको सेवा केन्द्र बनस्थलीको म्यानेजर रहेको र संस्थामा १२ लाख रुपैयाँ बराबरको सेयर रहेको उनले बयान दिएका छन् ।

उक्त सेवा केन्द्रबाट हुने सम्पूर्ण कारोबारको रेकर्ड नियमित रुपमा केन्द्रीय कार्यालय पठाउने गरेको, सहकारीका अध्यक्ष कालिकोटे र केन्द्रीय कार्यालयको म्यानेजर तथा संचालक समिति सदस्य चण्डिका खड्काले हरेक हप्ता शाखाको कारोबार निरीक्षण गर्ने गरेको दाबी गरेका छन् ।

बनस्थलीमा रहेको सेवा केन्द्रले २०७९ को दसैदेखि बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि २०७९ फागुनदेखि उक्त सेवा केन्द्र बन्द भएको छ ।

दिनेश कालिकोटेको अध्यक्षतामा देवी पाण्डे उपाध्यक्ष, प्रकाश लकाई सचिव, साजन थापा कोषाध्यक्ष, सदस्यहरु सुनिता गौतम, चण्डिका खड्का र नवराज अधिकारी रहेको संचालक समिति रहेको छ ।


क्लिकमान्डु