विश्वमा चिनी निर्यातमा ब्राजिलको ४३ प्रतिशत हिस्सा, भारतबाट निकासीमा भारी गिरावट
काठमाडौं । विश्वमा सबैभन्दा बढी चिनी उत्पादन गर्ने ब्राजिलले विश्वको निर्यातमा करिब ४३ प्रतिशत हिस्सा ओगटेको छ । भारतमा चिनीसम्बन्धी गरेको एक अध्ययनअनुसार ब्राजिलले सन् २०२१/२२ मा विश्वको चिनी निर्यातमा ४२.९ प्रतिशत निर्यात हिस्सा ओगटेको उल्लेख छ ।
ब्राजिलले वार्षिक ६३ करोड ७० लाख मेट्रिक टन उखुबाट चिनी उत्पादन गर्दै आएको छ । ब्राजिलपछि विश्वमा सबैभन्दा बढी चिनी उत्पादन गर्ने देश भारत हो ।
भारतको उखु उत्पादनसँगै निर्यात हिस्सा पनि दोस्रो स्थानमा छ । भारतले विश्वको चिनी निर्यातमा १२.३ प्रतिशत हिस्सा ओगटेको छ । त्यसैगरी, थाइल्यान्डले ११.४, अष्ट्रेलियाले ५.७, ग्वाटेमालाले २.८, मेक्सिकोले २.५, ईयूले २.२, दक्षिण अफ्रिकाले १.७ र अन्य देशले १८.५ प्रतिशत निर्यात हिस्सा ओगटेका छन् ।
त्यसैगरी, इन्डोनेसियाले विश्वमा सबैभन्दा बढी चिनी आयात गर्छ । इन्डोनेसियाले आयातमा ९.७ प्रतिशत हिस्सा ओगटेको छ । त्यसैगरी विश्वको आयातमा चीनले ८.७, अमेरिकाले ५.८, बंगलादेशले ४.३, अल्जेरियाले ४.२, मलेसियाले ३.७, ईयूले ३.६, दक्षिण कोरियाले ३.४, नाइजेरियाले ३.४, यूएईले २.४ प्रतिशत र अन्य देशले ५०.८ प्रतिशत हिस्सा ओगटेका छन् । उक्त तथ्यांकले बजारको माग र आपूर्तिको अवस्था देखाउँछ ।
भारतले उच्च परिमाणमा चिनी उत्पादन गर्दै आए पनि आन्तरिक बजारमा अभाव हुन नदिन र मूल्य बढ्न नदिन निकासीमा प्रतिबन्ध लगाउँदै आएको छ । पछिल्लो पाँच वर्षमा भारतको निर्यात बढ्दै गए पनि यो वर्ष चिनी निर्यातमा प्रतिबन्ध लगाएका कारण निकासी घटेको छ ।
‘आन्तरिक बजारमा उत्पादन कम भएकाले मूल्य बढ्न नदिन सरकारले निर्यातमा प्रतिबन्ध गरेको थियो । जसले गर्दा निर्यामा प्रभाव परेको देखिएको हो,’ अध्ययनमा उल्लेख छ ।
भारतले वार्षिक ५ अर्ब अमेरिकी डलरबराबरको चिनी निर्यात गर्दै आएकोमा सन् २०२३/२४ मा निकासी ह्वात्तै घटेको छ ।
संयुक्त राष्ट्र संघको फुड कृषि तथा खाद्य संगठनका अनुसार विश्वका १२४ देशमा चिनी उत्पादन हुन्छ । त्यसमध्ये करिब ७५ प्रतिशत उखु उत्पादन भई प्रशोधन हुने गरेको छ । खण्डसरी र गुण पनि समावेश गर्ने हो भने भारतमा सबैभन्दा बढी चिनी उत्पादन हुने गरेको दाबी गरेको छ ।
भारतले वार्षिक ३५ करोड ५० लाख टन उखु उत्पादन गर्दै आएको छ । त्यसमा वार्षिक औसत ३ करोड टन चिनी उत्पादन गर्दै आएको जनाएको छ । भारतले वार्षिक उखु उत्पादन बढाउँदै लगेको छ ।
तथ्यांकअनुसार भारतले ५९ लाख हाराहारी क्षेत्रफलमा उखु उत्पादन गर्दै आएको छ । भारतमा उखु उत्पादन गर्ने मौसममा प्रतिक्विन्टल लागत १५७ भारतीय रुपैयाँ छ । सन् २०२२/२३ मा लागत ३.२८ प्रतिशतले बढेको जनाइएको छ ।
भारतका आन्द्र प्रदेश, असम, बिहार, छत्तिसगढ, गुजरात, हरियाणा, कर्नाटक, मध्य प्रदेश, महाराष्ट्र, पन्जाब, तमिलनाडु, उत्तर प्रदेश, उत्तराखण्ड, पश्चिम बंगाललगायतका राज्यमा ठूलो परिमाणमा उखु उत्पादन हुँदै आएको छ ।
सन् २०१६/१७ मा महाराष्ट्रलाई उछिनेर उत्तर प्रदेश चिनी उत्पादनमा पहिलो बनेको थियो । सन् २०१९/२० मा उत्तर प्रदेशबाट उत्पादन हुने चिनीको हिस्सा ३९.६ प्रतिशत थियो । त्यस्तै, तमिल नाडुमा भने पछिल्लो दुई दशकदेखि उच्पादनमा कमी आएको उल्लेख छ ।
भारतीय सुगर मिल्स एसोसिएसनले सन् २०२२/२०२३ मा ३ करोड ६५ मेट्रिक टन उत्पादन हुने अनुमान गरेको थियो । तर, महाराष्ट्र र कर्नाटकमा उत्पादन कम हुँदा अनुमानभन्दा कम उत्पादन भएको उल्लेख छ । सन् २०२२/२३ मा सुगर मिल्सले ११ खर्ब १३ अर्ब ६६ करोड भारतीय रुपैयाँको ३३ करोड ५३ लाख टन उखु खरिद भएको जनाएको छ ।
महाराष्ट्र र कर्नाटकमा कम पानी पर्दा ३.३ प्रतिशत अर्थात् ३ करोड १७ लाख मेट्रिक टन मात्रै उत्पादन हुने अनुमान गरिएको छ । उक्त क्षेत्रमा उत्पादन कम हुँदा बजारमा उच्च असर पर्ने अध्ययनले देखाएको छ ।
भारतमा सबैभन्दा बढी महाराष्ट्रमा उखु उपादन हुँदै आएको छ । भारतमा उत्पादन हुने उखुमध्ये तीन भागमा एक भाग हिस्सा ओगटेको महाराष्ट्रमा कम उत्पादन हुँदा बजारमा प्रत्यक्ष असर देखिने भएको छ ।
आन्तरिक बजारमा माग बढ्दै गएको र मौज्दात पर्याप्त नहुँदा घरेलु उपभोगका लागि पर्याप्त स्टक उपलब्ध भएकाले स्थानीय मूल्यमा धेरै वृद्धि नहुन सक्छ । किनभने भारतमा केही वर्षअघि मात्रै मूल्य बढाएको थियो । तर, अक्टोबरमा भारतको चिनी उत्पादनमा आएको गिरावटले वस्तुको निर्यात भने आधाले घटेको छ ।
निर्यात ५९ प्रतिशतले घट्यो, आयात उच्च
भारतको व्यापार तथा उद्योग मन्त्रालयका अनुसार सन् २०२२/२३ मा ५ अर्ब ७७ करोड १० लाख अमेरिकी डलरको चिनी निर्यात भएको थियो । उक्त वर्ष निर्यात २५.५८ प्रतिशतले बढेको थियो । साथै, सोही वर्ष आयात पनि उच्च भएको देखिन्छ । मन्त्रालयको तथ्यांकमा सन् २०२२/२३ मा ७३.१५ प्रतिशतले आयात बढेर २९ करोड ३० लाख अमेरिकी डलरको चिनी आयात गरेको थियो ।
तर, सन् २०२३/२४ मा भारतले सरकारले निर्यातमा प्रतिबन्ध लगाउँदा चार महिनाको अवधिमा ५९.२३ प्रतिशतले घटेको छ । भारतले अप्रिलदेखि जुलाईसम्ममा ८७ करोड ४० लाख अमेरिकी डलरको मात्रै निर्यात गरेको छ ।
निर्यात प्रतिबन्ध गर्दा आयात भने ह्वात्तै बढेको छ । भारतले चार महिनाको अवधिमा मात्रै ४० करोड ९० लाख अमेरिकी डलरको चिनी आयात गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा ९२६१.३९ प्रतिशतले बढी हो ।
विश्वबजारमा अहिले चिनीको मूल्य प्रतिकिलो भारतीय रुपैयाँबाट बढेर प्रतिकिलो ५९ रुपैयाँ पुगेको छ । तर, भारतीय बजारमा अहिले चिनीको मूल्य प्रतिकिलो ३८ भारतीय रुपैयाँ छ ।
भारत सरकारले उखु खेती गर्ने किसानलाई अनुदानको व्यवस्था गर्दै आएको छ । भारतले गन्ना–किसान योजनामार्फत सस्तो ब्याजदर लागू गरेको छ । त्यसैगरी, भारत सरकारले कृषकलाई प्रोत्साहन गर्नका लागि नेसनल साथै भारत सरकारले उचित र पारिश्रमिक मूल्य बढाएको छ । उचित पारिश्रमिक मूल्यसहित प्रतिक्विन्टल उखुको मूल्य १० प्रतिशतले बढाएर ३१५ रुपैयाँ तोकिएको छ ।
भारतले नेसनल बायोफ्युल पोलिसी र इथानोल ब्लेन्डेड पेट्रोल प्रोग्राम, अन्टोदया अन्ना योजना प्रोग्राम र क्यान एरियर्समार्फत अनुदान दिँदै आएको छ ।
भारतले किसानलाई अनुदानको व्यवस्था गर्दै आए पनि अहिले पनि मूल्यमा भने निकै समस्या छ । चिनी उत्पादनका लागि अत्यावश्यक उखुको मूल्यमा आन्तरिक उत्पादन, अन्तर्राष्ट्रिय चिनीको मूल्य र सरकारले लिएको नीतिले उच्च असर पारेको हो ।
किसानहरुले उखुको मूल्य बढाउनुपर्ने माग गर्दै आएका छन् । त्यसमा प्रशोधन गर्ने उद्योगले किसानले माग गरेको मूल्यमा खरिद गरी बजारमा बिक्रीमा समस्या आइरहेको उल्लेख छ ।
त्यसैगरी अन्तर्राष्ट्रिय बजारको मूल्यले पनि बजारमा समस्या आउने गरेको छ । अन्तर्राष्ट्रिय बजारमा चिनीको उच्च माग हुँदा मूल्य र निर्यात दुबैमा असर परेको पाइएको छ ।
भारतले आन्तरिक बजारमा मूल्य बढ्न नदिन र सहज आपूर्ति गर्नका लागि प्रतिबन्ध लगाउँदै आएको छ । निर्यातमा प्रतिबन्ध लगाउँदा विशेषगरी अमेरिका र बेलायतमा असर पुग्ने प्रतिवेदनमा उल्लेख छ ।
ती देशमा खानाको मूल्य उच्च भएको बेला झनै निर्यातमा प्रतिबन्ध गर्दा उच्च असर पुगेको जनाइएको छ । त्यति मात्रै नभएर भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाउँदा नेपालमा पनि उच्च असर पुगेको छ । नेपालमा चिनीको अभावसँगै मूल्य उच्च बढेको छ ।