मौद्रिक नीतिको समीक्षापछि करिब ३ सय अंक बढ्यो सेयर बजार, अब के होला ?



काठमाडौं । मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा उत्साह छाएको छ । पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले सेयर लगानीकर्ताको अपेक्षाभन्दा कम विषय सम्बोधन गरे पनि बजार ‘अप्रत्यासित’ ढंगले उकालो लागेको हो ।

मंसिर २२ गते शुक्रबार राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा गर्‍यो । लगानीकर्ता संगठनका प्रतिनिधिहरु खासै उत्साहित देखिएका थिएनन् । उनीहरुले समीक्षा सन्तोषजनक मात्रै रहेको प्रतिक्रिया दिए ।

खासगरी लगानीकर्ता संगठनका नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि अर्थमन्त्री डा. प्रकाशशरण महतसम्मलाई प्रत्यक्ष-अप्रत्यक्ष रुपमा भेटेर सेयर बजारका लागि खुकुलो नीति लिइदिन आग्रह गर्दै आएका थिए ।

अर्थमन्त्री महतले पनि विभिन्न फोरममा राष्ट्र बैंकको नीतिप्रति असन्तुष्टि जनाउँदै आएका थिए । उनले समीक्षाको अघिल्लो दिन राष्ट्र बैंक सञ्चालक समितिलाई नै डाकेर सेयर धितो कर्जाको सीमा हटाउन र १०० प्रतिशतमा झार्ने निर्देशन नै दिए ।

तर, समीक्षाले सेयर कर्जाको सीमा हटाएन । सेयर धितोकर्जामा लगाएको व्यक्तिगततर्फको १५ करोड र संस्थागततर्फको २० करोडको सीमा यथावत् राखियो । जोखिम भार पनि १५० प्रतिशतबाट १२५ प्रतिशतमा मात्र झारियो ।

५० लाखभन्दा बढी सेयर धितोकर्जाको जोखिम भार १५० प्रतिशत र ५० लाखभन्दा कमको १०० प्रतिशत रहेकोमा समीक्षामार्फत ५० लाखभन्दा बढीको कर्जाको जोखिमभार १२५ प्रतिशत बनाइएको हो ।

तर, समीक्षापछि आइतबार (मंसिर २४) सेयर बजारले निकै फरक गति लियो । तीनपटक सकारात्मक सर्किट लाग्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १११.२ अंकले उकालो लाग्यो । मंसिर २४ यताका १० कारोबार दिनमा नेप्से ८ दिन बढेको छ भने २ दिन घटेको छ ।

समीक्षा अवधिमा नेप्से परिसूचक १८५२.७७ अंकबाट २८९.१ अंकले बढेर बुधबार (पुस ४) २१४१.८७ अंकसम्म पुग्यो । दैनिक कारोबार रकममा उल्लेख्य सुधार भएको छ । बुधबार एक वर्षपछि ७ अर्बभन्दा माथिको कारोबार भयो ।

१० दिनमा सेयर लगानीकर्ताको सम्पत्ति ४ खर्ब १४ अर्ब रुपैयाँले बढेको छ । मंसिर २१ गते २८ खर्ब ६२ अर्ब २५ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण बिहीबार (पुस ५) सम्ममा बढेर ३२ खर्ब ७६ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ ।

सेयर बजारको वृद्धि मौद्रिक नीतिको समीक्षाको अर्को महत्वपूर्ण पाटोसँग पनि जोडिएको छ । ब्याजदर र सेयर बजारबीच विपरीत सम्बन्ध रहन्छ । ब्याजदर बढ्दा बजार घट्छ भने ब्याजदर घट्दा बजार बढ्छ । अहिले कर्जाको ब्याजदर लगातार घटिरहेको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार कर्जाको ब्याजदर घटेर कोरोना महामारीअघिकै अवस्थामा पुगेको छ । कोरोना महामारी नियन्त्रणमा लिन सरकारले २०७६ चैतदेखि लकडाउन घोषणा गर्‍यो । कर्जाको औसत ब्याजदर २०७६ पुस र माघमा समान ११.९४ प्रतिशत थियो भने फागुनमा ११.८ र चैतमा ११.७७ प्रतिशत थियो ।

त्यसपछि लगातार ओरालो लागेको औसत ब्याजदर २०७८ असारमा ८.४३ प्रतिशतसम्म झरेको छ । २०७८ साउनदेखि बढ्न थालेको ब्याज २०७९ माघ र फागुनमा सर्वाधिक १३.०३ प्रतिशतसम्म पुगेको थियो । त्यसपछि घट्न थालेको ब्याजदर कात्तिकमा १५ महिनायताकै न्यून ११.९६ प्रतिशतमा झरेको छ ।

बजार लगातार घटिरहेका बेला राष्ट्र बैंकले समीक्षामार्फत नीतिगत दर पुनरावलोकन गर्‍यो । समीक्षामार्फत राष्ट्र बैंकले बैंक दरलाई ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा र नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा झार्‍यो ।

मौद्रिक नीतिमार्फत नीतिगत दर घटाउँदा निक्षेपको ब्याजदर घटाउनुपर्ने दबाब बैंकहरुलाई सिर्जना भएको छ । निक्षेपको ब्याजदर घटाएपछि कर्जाको ब्याजदर पनि घटाउनुपर्ने हुन्छ । आगामी दिनमा कर्जाको ब्याजदर अझै घट्ने अपेक्षामा सेयर लगानीकर्ताको मनोबल बढेको विश्लेषकहरु बताउँछन् ।

सेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेल न्यून विन्दुमा रहेको बजारलाई अर्थतन्त्रको सुधारले बलियो टेवा दिएको बताउँछन् । ‘अहिले अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ, केही अघि ठूलो समस्याबाट गुज्रिएको अर्थतन्त्र अहिले विस्तारै लयमा फर्किएको छ, निक्षेप बढेको छ, कर्जाको माग पनि बढेको छ,’ उनले क्लिकमान्डुसँग भने, ‘सुध्रिँदो अर्थतन्त्र र घट्दो ब्याजदरको प्रभाव सेयर बजारमा देखिएको हो, बजारले दीर्घकालीन वृद्धिको बाटो समातेको महसुस मैले गरेको छु।’

अर्थतन्त्रमा सुधार आउँदा सेयर लगानीकर्ताको पनि मनोबल बढेको उनले बताए । ‘बजार न्यून विन्दुमा भएका बेला लगानीको जोखिम पनि कम रहन्छ,’ पौडेलले भने, ‘त्यसमाथि अर्थतन्त्र र ब्याजदरले सपोर्ट गरेको छ, यस्तो स्थितिमा लगानीकर्ताको कन्फिडेन्स बढ्नु स्वाभाविक हो, मलाई लाग्छ- बजारले अब बुलिस ट्रेन्ड समातेको हो ।’

अल्पकालमा अब बजार धेरै बढ्ने र थोरै घट्ने अवस्था देखिने उनको विश्लेषण छ । ‘चार-पाँच दिन बढ्ने, एक-दुई दिन घट्ने अथवा ९०-१०० अंक बढ्ने र १०-२० अंक घट्ने खालको ट्रेन्डमा बजार उकालो लाग्ने देख्छु म,’ उनले भने । सेयर बजारमा देखिने सुधारमा समग्र अर्थतन्त्र पनि सुधारको दिशामा छ है भन्ने संकेत गर्ने लगानीकर्ता पौडेलले टिप्पणी गरे ।

अर्का लगानीकर्ता छोटेलाल रौनियार पनि सेयर बजारले वृद्धिको दीर्घकालीन बाटो समातेको बताउँछन् । ‘अहिले अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएको छ, मुद्रास्फीति घटेको छ, रेमिट्यान्स आप्रवाह बढेको छ, ब्याजदर घटेको छ, राष्ट्र बैंकले  नीतिगत दर घटाएका कारण आगामी दिनमा ब्याजदर थप घट्ने आधार तयार भएको छ,’ उनले क्लिकमान्डुसँग भने ।

लामो समयदेखि बजार प्यानिक बन्दा तनावमा रहेका लगानीकर्तामा अर्थतन्त्रमा देखिएको सुधार र राष्ट्र बैंकले गरेको नीतिगत सुधारका कारण आशा जागेको उनको टिप्पणी छ । ‘दैनिक ५-७ अर्ब रुपैयाँको कारोबार हुनुलाई पनि लगानीकर्ताको मनोबल बढेको रुपमा लिन सकिन्छ,’ रौनियारले भने ।

अहिलेसम्म सेयर बजारमा ठूलो कर्जा पनि नगएको उनले बताए । अहिले बैंक तथा वित्तीय संस्थामा तरलता बढेको र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि निकै घटेकाले बैंकहरुले लगानीका लागि ठाउँ खोजिरहेको उनको भनाइ छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा वाणिज्य बैंकहरुले ६३ अर्ब ६० करोड रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् ।

एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनमा बैंक तथा बीमा कम्पनीहरुले सरकारविरुद्धको मुद्दा हारेपछि सेयर बजार घट्ने अनुमान गरिएको थियो । नेपाल इन्भेष्‍टमेन्ट मेगा बैंकसहित १६ वाणिज्य बैंक तथा बीमा कम्पनीले सकरारले भूतप्रभावी कानुन बनाएर कर लगाउन खोजेको दाबी गर्दै हालेको रिट सर्वोच्च अदालतले मंसिर २९ गते रिट खारेज गर्ने आदेश दिएको थियो ।

सर्वोच्चको आदेशपछि बैंक तथा बीमा कम्पनीहरुले १४ अर्ब रुपैयाँभन्दा बढी कर तिरेका थिए । त्यसपछि बजार खुलेको पहिलो दिन पुस १ गते कारोबारको सुरुवात समयमा तीव्र उतारचढाव देखिए पनि अन्तिममा बजार २७ अंकले बढेको थियो।

१० मा ८ दिन बढ्यो बजार

मंसिर २२ पछिका १० कारोबार दिनमा सेयर बजार ८ दिन बढेको छ भने २ दिन घटेको छ । सेयर बजार मंसिर २४ गते १११.२, मंसिर २६ गते ३६.८६, मंसिर २७ गते २.६, मंसिर २८ गते ६.५५, पुस १ गते २७.७५, पुस २ गते ३८.१४, पुस ३ गते ४५.९८ र पुस ४ गते ३५.३९ अंकले बढेको छ । मंसिर २५ गते १५.४ र पुस ५ गते भने बजार ३२.७७ अंकले ओरालो लागेको छ ।

कारोबार रकम

कारोबार रकममा पनि उत्साह देखिन्छ । मौद्रिक नीतिको समीक्षापछिका ९ दिनको कारोबार ३ अर्ब रुपैयाँभन्दा माथि छ । कारोबार रकमले बुधबार ७ अर्ब रुपैयाँ नाघेको थियो ।

सेयर बजारमा मंसिर २४ गते ९ मिनेटमात्र कारोबार हुन पाएकाले ४८ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएन । त्यसपछि मंसिर २५ गते ४ अर्ब ७८ करोड, मंसिर २६ गते ४ अर्ब २६ करोड, मंसिर २७ गते ३ अर्ब ८३ करोड, मंसिर २८ गते ३ अर्ब ८ करोड, पुस १ गते ५ अर्ब १० करोड, पुस २ गते ६ अर्ब ७५ करोड, पुस ३ गते ५ अर्ब ४८ करोड, पुस ४ गते ७ अर्ब र पुस ५ गते ६ अर्ब २७ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको छ ।

बजार पुँजीकरण

मौद्रिक नीतियताका १० दिनमा लगानीकर्ताले ४ खर्ब १४ करोड रुपैयाँभन्दा बढी कमाएका छन् । कुल बजार पुँजीकरण २८ खर्ब ६२ अर्बबाट बढेर ३२ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ ।

बजार पुँजीकरण मंसिर २४ गते ३० खर्ब २८ अर्ब, मंसिर २५ गते ३० खर्ब ४ अर्ब, मंसिर २६ गते ३० खर्ब ६१ अर्ब, मंसिर २७ गते ३० खर्ब ६५ अर्ब, मंसिर २८ गते ३० अर्ब ७६ करोड, पुस १ गते ३१ खर्ब १९ अर्ब, पुस २ गते ३१ खर्ब ७८ अर्ब, पुस ३ गते ३२ खर्ब ६१ अर्ब र पुस ४ गते ३३ खर्ब १६ अर्ब रुपैयाँ पुगेको छ ।


डीआर आचार्य