आईपीओ ल्याउन लागेको ह्याम्स अस्पतालको व्यापार १० प्रतिशतले घट्यो



काठमाडौं । आईपीओ जारी गर्ने तयारीमा रहेको हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)को व्यापार १० प्रतिशतले घटेको छ ।

सन् २०२२ को तुलनामा कम्पनीको व्यापार सन् २०२३ मा १०.१० प्रतिशतले घटेको हो । कम्पनी पब्लिक लिमिटेडमा गएपछिको पहिलो साधारण सभाले सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता सेयर जारी गर्ने निर्णय गरेको थियो ।

जुन जारी पुँजीको १५ प्रतिशत हो । प्रतिकित्ता एक सय रुपैयाँका दरले सर्वसाधारणमा सेयर जारी हुनेछ । अस्पतालले सेयर निष्काशनका लागि ब्रिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई समेत नियुक्त गरिसकेको छ ।

यसैमध्येबाट बढीमा ५ प्रतिशत सेयर कर्मचारीका लागि जारी गरिने साधारण सभाले निर्णय गरेको छ । बाँकी ८५ प्रतिशत सेयर स्वामित्व भने संस्थापक समूहको हुने अस्पतालले जनाएको छ ।

साधारण सभाले सेयरधनीहरूलाई १७.३८ प्रतिशत बोनस सेयर र ०.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । त्यसपश्चात कम्पनीको कुल पुँजी ६३ करोड ७५ लाख रुपैयाँ हुने जनाएको छ । तर, कम्पनीको व्यापार सन् २०२३ मा भने १५ करोड ७० रुपैयाँले कम भएको छ । सन् २०२२ मा १ अर्ब ५५ करोड ३० लाख रुपैयाँको कारोबार गरेको कम्पनीले सन् २०२३ मा १ अर्ब ३९ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ ।

त्यस्तै, कम्पनीले सन् २०२१ मा १ अर्ब ४३ करोड ८० लाख रुपैयाँ, सन् २०२० मा ६८ करोड रुपैयाँ र सन् २०१९ मा ३७ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।

एक सय शय्याको सुविधा दिँदै आएको उक्त अस्पताल धुम्बराहीमा छ । रामशरण भण्डारी र उनका परिवारको स्वामित्व रहेको अस्पतालले ८७ करोड ३७ लाख रुपैयाँको अल्पकालीन तथा दीर्घकालीन कर्जा लिएको छ ।

अस्पतालकाअनुसार पछिल्लो चार वर्षमा २२ प्रतिशतले सेवाग्राही बढेका छन् । साथै, सन् २०२१ को तुलनामा सन् २०२३ मा ६४ प्रतिशतले अस्पतालको क्षमता बढेको उल्लेख छ । त्यसैगरी, अस्पतालले सन् २०२३ मा २५ प्रतिशतले नाफा कमाएको जनाएको छ ।


क्लिकमान्डु