भारतले खानेतेल आयातमा भन्सार दर घटाउँदा नेपालको निर्यातमा ८६ प्रतिशतको गिरावट



काठमाडौं । भारत सरकारले खानेतेल र कच्चा पदार्थको आयातमा भन्सार दर घटाउँदा नेपालको निर्यातमा उच्च प्रभाव परेको छ । नेपालले तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात तथा प्रशोधन गरी निर्यात गर्दै आएकोमा भारत सरकारले खानेतेलको भन्सार दर घटाउँदा नेपालमा उच्च प्रभाव परेको हो ।

नेपालको वैदेशिक व्यापारमा ठूलो हिस्सा ओगटेको खानेतेलको आयातमा भारतले लचिलो नीति लिँदा नेपाली उद्योग संकटमा परेका छन्। भारतले आन्तरिक बजारमा खानेतेलको मूल्य उच्च बढेको भन्दै प्रशोधित भटमास, सूर्यमुखी तेल र पाम तेलको कच्चा पदार्थ आयातमा भन्सार दर घटाएको थियो । भारत सरकारले सन् २०२२ को मे देखि सन् २०२४ को मार्चसम्म लागू हुने गरी खानेतेलको कच्च पदार्थको आयातमा भन्सार घटाएको छ ।

भारतले प्रशोधित भटमास र सन्फ्लावर तेलको भन्सार दर ३२.५ प्रतिशतबाट घटाएर १७.७ प्रतिशतमा झारेको छ । त्यस्तै, प्रशोधित पामोलिन तेलमा लाग्दै आएको १७.५ प्रतिशत भन्सार दर घटाएर १२.५ प्रतिशतमा झारेको छ ।

त्यस्तै भटमास, सन्फ्लावर र पाम तेलको कच्चा पदार्थको आयातमा लाग्दै आएको ८.२५ प्रतिशत भन्सार दर घटाएर ५.५ प्रतिशत कायम गरिएको छ । भारतमा भन्सार दर उच्च भएको अवस्थामा नेपालबाट आयात गर्दा सस्तो पर्ने भएकाले माग पनि उच्च थियो । जसले गर्दा नेपाली उद्योगी मालामाल भएका थिए । तर, भारतले आफ्ना नागरिकलाई सहज र सस्तो मूल्यमा तेलको उपभोग गर्न पाउने वातावरणको व्यवस्था गर्दा नेपालको निर्यातमा ठूलो गिरावट आएको छ ।

भारत सरकारले प्रशोधित तेल र कच्चा पदार्थ तेलको आयातमा भन्सार महसुल घटाउँदा नेपालको निर्यात प्रभावित भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा भारतमा निर्यात हुँदै आएको तेल ८६.२१ प्रतिशतले घटेको छ ।

नेपालले गत आर्थिक वर्षको चार महिनाको अवधिमा १५ अर्ब ५५ करोड २६ लाख रुपैयाँको पाम, भटमास र सन्फ्लावर तेल निर्यात गरेको थियो । तर, चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब १४ करोड ४० लाख रुपैयाँको तेल निर्यात गरेको छ ।

नेपालले गत आवमा १० अर्ब २ करोड ६० लाख रुपैयाँको पाम तेल निर्यात गरेकोमा यो वर्षको सोही अवधिमा १ अर्ब ८८ करोड ५० लाख रुपैयाँको मात्रै निर्यात गरेको छ । जुन ८१.२ प्रतिशतले कमी हो ।

त्यस्तै, गत आवको चार महिनाको अवधिमा ५ अर्ब ३२ करोड २३ लाख रुपैयाँको भटमास तेल निर्यात गर्दै आएकोमा यो आवको सोही अवधिमा १४ करोड ४० लाख ८० हजार रुपैयाँको निर्यात गरेको छ । तथ्याङ्कअनुसार गत आवको तुलनामा चालु आवमा ९७.३ प्रतिशत कम निर्यात गरेको छ ।

साथै, नेपालले चालु आवको चार महिनाको अवधिमा ११ करोड ४९ लाख रुपैयाँ ८१ हजार रुपैयाँको सन्फ्लावर तेल निर्यात गरेको छ । जबकी गत आवको साही अवधिमा नेपालले २० करोड ४२ लाख रुपैयाँको सन्फ्लावर निर्यात गरेको छ । जुन ४३.७ प्रतिशतले घटेको छ ।

कम्पनीहरुको व्यापार घट्यो

भारतीय बजारमा तेलको माग उच्च हुँदा निर्यात गरी मालामाल भएका कम्पनीहरुको व्यापार सन् २०२२ को तुलनामा सन् २०२३ मा ह्वात्तै घटेको छ । कम्पनीहरुले कर्जाका लागि गराएको रेटिङअनुसार व्यापारमा कमी आएको देखाउँछ ।

कम्पनीहरुले भारत सरकारले भन्सार महसुल घटाउँदा निर्यात हुन छोडेको  जनाएको छ । भारतले भन्सार महसुल घटाउँदा नेपालबाट आयात गरी बिक्री गर्नेभन्दा सस्तो हुने भएकाले नेपालबाट निर्यात हुने तेलको हिस्सामा कमी आएको जनाएको छ ।

कुन उद्योगको व्यापार कतिले घट्यो ?

पशुपति खाद्य तेल उदोग प्रालिः शारडा र राठी ग्रुपको संयुक्त लगानी रहेको पशुपति खाद्य तेल उद्योग प्रालिले सन् २०२३ को ६ महिनाको अवधिमा २ अर्ब ५९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ । जबकी कम्पनीले सन् २०२२ मा ७ अर्ब ७८ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

भारतमा तेलको उच्च माग हुँदा कम्पनीले एकैवर्ष करिब ८ अर्बको व्यापार गरेको थियो । भारत सरकारले तेल आयातमा भन्सार दर घटाउँदा निर्यातमा कमी आई व्यापारमा प्रभाव परेको जनाएको छ । कम्पनीअनुसार सन् २०२३ मा वार्षिक ३३ प्रतिशतले निर्यात घट्ने अनुमान गरेको छ । साथै, सन् २०२३ को ६ महिनाको अवधिमा ४२ प्रतिशतले घटेको उल्लेख छ ।

‘भारत सरकारले तेलको भन्सार दर घटाउँदा नेपाली उद्योगीहरुले निर्यात गर्दा घाटा हुने देखिएको छ । जसले गर्दा उद्योगीहरुले कम मात्रामा मात्रै निर्यात गर्दै आएको छ,’ सार्वजनिक विवरणमा उल्लेख छ ।

कम्पनीले विभिन्न प्रकारका खानेतेल तथा वनस्पति घ्यू उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीले भटमास, सन्फ्लावर, पाम तेल र वनस्पति घ्यू पोस्टम्यान, हनुमान, हेल्लो र पशुपति ब्रान्डमा बिक्री गर्दै आएको छ ।

नन्दकुमार राठीको १३ प्रतिशत हिस्सा रहेको कम्पनीमा अन्य १९ जनाको स्वामित्व छ । जसमा शारडा र राठी परिवारका सदस्यहरु छन् । कम्पनीको अध्यक्ष श्रीनिवास शारडा हुन् ।

क्वालिटी आयल रिफाइनरी प्रालिः क्वालिटी आयल रिफाइनरी प्रालिको पनि व्यापारमा उच्च कमी आएको छ । सन् २०२२ मा ६ अर्ब ५० करोड ८० लाख रुपैयाँ व्यापार गरेको कम्पनीले सन् २०२३ को ११ महिनामा ४ अर्ब ८१ करोड ६० लाख रुपैयाँको व्यापार गरेको छ ।

सन् २०२२ मा भारतमा तेल उच्च निर्यात हुँदा व्यापारमा उछाल आएको जनाएको छ । तर, भारत सरकारले स्वदेशी उद्योगी व्यवसायीको हितमा नीति अबलम्बन गर्दा नेपाली कम्पनीहरुको व्यापार भने कमी आएको छ ।

कब्रा जी ग्रुपद्वारा सञ्चालित कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी वनस्पति घ्यू, भटमास, सनफ्लावर, पामोलिन, पाम, रेपसिड, ग्राउन्ड नट, कर्नलगायत तेल उत्पादन गरी नेपाली बजारमा बिक्री गर्दै आएको छ । कम्पनीले ११ महिनाको अवधिमा आम्दानी गरेकोमध्ये ५२ प्रतिशत निर्यातबाट भएको छ । सन् २०२२ मा निर्यातको हिस्सा ७३ प्रतिशत थियो ।

त्यस्तै, सन् २०२३ को ११ महिनाको अवधिमा आन्तरिक बजारबाट २ अर्ब २८ करोड ४० लाख रुपैयाँ व्यापार गरेको छ । कम्पनीले दैनिक ३२० मेट्रिक टन घ्यू तथा तेल उत्पादन गर्दै आएको छ ।

नारायणी आयल रिफाइनरी उद्योग प्रालिः नेपाली बजारमा त्रिशक्तिसहित अन्य ६ वटा ब्रान्डमा विभिन्न प्रकारका तेल बेच्ने नारायणी आयल रिफाइनरी उद्योग प्रालिको व्यापार सन् २०२३ मा करिब ८ अर्ब रुपैयाँमा सिमित हुने अनुमान गरेको छ । कम्पनीले सन् २०२२ मा १० अर्ब ९४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीको व्यापार घट्नुको मुख्य कारण भारतले लिएको नीतिले जनाएको छ । नेपाली बजारमा त्रिशक्ति, स्माइल, आरेग्य, श्री, निल्मानी, कुन्दर र निलकमल ब्रान्डमा विभिन्न प्रकारका तेल बिक्री वितरण गर्दै आएको कम्पनीले सन् २०२१ मा १० अर्ब ६५ करोड ९० लाख रुपैयाँ, सन् २०२० मा ८ अर्ब १६ करोड ९० लाख रुपैयाँ र सन् २०१९ मा ५ अर्ब ४० करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले व्यापार गरेकोमा निर्यातको हिस्सा १८ प्रतिशत छ । सन् २०२२ को पहिलो अर्धवार्षिकमा निर्यातको हिस्सा ५५ प्रतिशत थियो ।

देशभर होलसेल पसल, इटहरी र पोखरामा डिपो रहेको कम्पनीले विभिन्न देशबाट कच्चा पदार्थ आयात गरी नेपाली बजारमा बिक्री गर्नुका साथै निर्यात पनि गर्दै आएको छ । कम्पनीले विशेषगरी पश्चिम बंगाल, उत्तर प्रदेश, राजस्थान र दिल्लीमा तेल निर्यात गर्दै आएको छ ।

भारतले उपभोक्तालाई सहज र सस्तो मूल्यमा तेल प्रदान गर्ने उद्देश्यसहित भन्सार शुल्क घटाएसँगै नेपालबाट निर्यात हुने तेलमा भारी गिरावट आएको छ ।

‘नेपालबाट निर्यात हुने तेलको मूल्यको तुलनामा भारतमै प्रशोधन भएको तेलको मूल्य सस्तो भएपछि निकासीमा कमी आएको छ,’ रेटिङ एजेन्सीले उल्लेख गरेको छ । कम्पनीले वार्षिक करिब ११ अर्ब रुपैयाँको तेल निर्यात गर्दै आएको थियो ।

गणपति वनस्पति कम्पनीः सफारी ब्रान्डको तेल, घ्यू र साबुन बेच्ने गणपति वनस्पति कम्पनीको व्यापार १९ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२२ को पाँच महिनाको तुलनामा सन् २०२३ को सोही अवधिमा १९ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२३ को ५ महिनाको अवधिम ४ अर्ब १४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको छ ।  सन् २०२२ मा ४४ प्रतिशतले बढेर १२ अर्ब ३३ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सफरी ब्रान्डको वनस्पति घ्यू र तेल उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । यसका साथै, कम्पनीले साबुन, सर्फ, सोडियम सिलिकेट जार, टीना प्रिफर्म र पेट बोटल, कार्टुनजस्ता वस्तु उत्पादन गर्दै आएको छ ।

कम्पनीले वार्षिक १ लाख २० हजार मेट्रिक टन तोरी प्रशोधन गरी तेल उत्पादन गर्दै आएको छ भने १२ हजार ३ सय मेट्रिक टन साबुनजन्य सेग्मेन्टमा वस्तु उत्पादन गर्दै आएको छ । कम्पनीले प्रशोधन गरेको तोरीको तेल सफरी, सफरी हेल्थ, चक्र र रामदेव र लुगा धुने साबुन सफारी र लक्की ब्रान्डमा बजारमा बिक्री वितरण गर्दै आएको छ ।

लक्की ग्रुपद्वारा सञ्चालित कम्पनीमा अमित मोर, राजीव मोर र रिशीराज मोरको लगानी छ ।  बारा जिल्लाको सिमरामा रहेको कम्पनीले सन् २०२२ मा आम्दानी गरेकोमध्ये ५४ प्रतिशत निर्यातबाट गरेको जनाएको छ । तर, चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा भने निर्यात २६ प्रतिशतले घटेको कम्पनीले उल्लेख गरेको छ ।

भारत सरकारले यो वर्ष खानेतेलको कच्चा पदार्थको आयातमा भन्सार शुल्क घटाएको छ । त्यसैले त्यसको प्रत्यक्ष असर नेपाली उद्योगहरुको व्यापारमा देखिएको हो ।


अरिष्मा मोक्तान