किसानले अझै पाएनन् दुध बेचेको ६ अर्ब, आन्दोलन गर्ने चेतावनी



काठमाडौं । दुध खरिद गरेबापत किसानलाई भुक्तानी गर्न बाँकी रकम तत्काल उपलब्ध गराउन विभिन्न संघसंस्थाले सरकारसँग माग गरेका छन् । किसानको रकम तत्काल भुक्तानी गर्न उनीहरुले निजी उद्योगी र दुग्ध विकास संस्थान (डीडीसी) माथि दबाब बढाएका हुन् ।

नेकपा माओवादी केन्द्रसम्बद्ध अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) र केन्द्रीय दुग्ध सहकारी संघले दुधको पैसा उपलब्ध नगराए आन्दोलन गर्न चेतावनी दिएका छन् । महासंघका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरी निजी उद्योगी र डीडीसीलाई किसानलाई भुक्तानी गर्न बाँकी ६ अर्ब रुपैयाँ तत्काल भुक्तान गर्न चेतावनी दिएका छन् ।

राष्ट्रिय अर्थतन्त्रमा ९ प्रतिशत योगदान गर्ने दुग्ध क्षेत्र सहरको पैसा गाउँ पुर्‍याउने र ग्रामीण रोजगारीको सर्वोत्तम विकल्प हो । तर, समयमा भुक्तानी नपाउँदा किसान पलायन हुने जोखिम बढ्दै गएकाले तत्काला उपलब्ध गराउन सरकारसँग माग गरिएको छ ।

‘किसानले प्राप्त गर्नुपर्ने बक्यौता रकममध्ये करिब आधा रकम सरकारी स्वामित्वको डीडीसीको रहेको र केही समयदेखि डीडीसीकै उच्चस्तरका कर्मचारीको संलग्नतामा धुलो दुध, सीमा क्षेत्रमा कम गुणस्तर र नक्कली दुध आयात गरी नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने काम भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘स्वदेशी दुधलाई निरुत्साहित गर्दै मिल्क होलिडे गर्ने कार्य भइरहेको खबरले हामीलाई गम्भीर र आक्रोशित तुल्याएको छ ।’

डीडीसी र निजी क्षेत्रका दुध कम्पनीबाट किसानको अर्बौं रुपैयाँ भुक्तानी नगर्ने लज्जास्पद कार्यको घोर निन्दा तथा भर्त्सना गरिएको छ । महासंघका अध्यक्ष केसीले संस्थानलाई डुबाएर बेहाल बनाउने असक्षम तथा किसानमारा पदाधिकारी र संलग्न कर्मचारीलाई तत्काल बर्खास्त गर्न पनि सरकारसँग माग गरेका छन् ।

यस्तै, केन्द्रीय दुग्ध सहकारी संघले पनि विज्ञप्ति जारी गरी किसानको रकम तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेको छ । संघले दबाब सिर्जना गर्न आन्दोलनको घोषणासमेत गरेको छ । संघले किसानले भोगिरहेको मिल्क होलिडेको अवस्था तत्काल अन्त्य गर्न पनि सरकारसँग माग गरेको छ ।

नेपालभन्दा भारतमा प्रतिलिटर १५ रुपैयाँ सस्तोमा पाइने गुणस्तरहीन दुध र दुग्धजन्य पदार्थको आयातमा पूर्ण रोक लगाउन पनि संघले माग गरेको छ । ‘सरकारी र निजी उद्योगसँग स्टकमा रहेको पाउडर (धुलो) दुध र मख्खन (बटर) स्वदेशमा खपत हुन नसकेकाले कूटनीतिक पहल गरी अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने व्यवस्था मिलाउन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

दुध उत्पादन लागत बढेकाले अनुदान उपलब्ध गराउन तगा पशु आहारा, औषधिलगायतको मूल्य नियन्त्रणमा पनि सरकारले ध्यान दिनुपर्ने संघको माग छ । संघले मंसिर २८ गते पुल्चोकस्थित मन्त्री क्वाटरअगाडि ब्यानरसहित विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ । यस्तै २० र ३० गते माइतीघरमा घेराउ र धर्ना कार्यक्रम तय गरेको संघका महासचिव रामप्रसाद आचार्यले जानकारी दिए ।

डीडीसी भन्छ- ७५ करोड बाँकी

महाप्रबन्धक सञ्जीवकुमार झा भने किसानबाट दुध खरिद गरेबापत डीडीसीले कात्तिक मसान्तसम्म ७५ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको बताउँछन् । ‘पुरानो बक्यौता भुक्तानी गरिसकेका छौं,’ उनले भने, ‘बजारमा दुध र दुग्धजन्य पदार्थको माग निक्कै घटेकाले अहिले किसानलाई भुक्तानी गर्न असहज भएको हो ।’

बिक्री नभएका कारण संकलितमध्ये दैनिक ५० देखि ६० हजार लिटर दुध पाउडरमा परिणत गर्दै आएको डीडीसीले जनाएको छ । यसअघि उत्पादित ६८ करोड रुपैयाँको ५ सय टनभन्दा बढी पाउडर दुध र ३ सय ८० टन मख्खन बिक्री नभएर स्टकमा बसेको झाले बताए ।

अहिले थप परिमाणमा उत्पादन भइरहेको पाउडर र मख्खन भण्डारण गर्नसमेत समस्या भएको उनको भनाइ छ । डीडीसीसँग ५ सय टन क्षमताको मात्रै कोल्ड स्टोरसहितको भण्डारण गृह छ ।

अहिले बिहे तथा व्रतबन्धको सिजनमा समेत बजार माग १४ प्रतिशतले घटेको डीडीसीले जनाएको छ । बढी बिक्री हुने सिजनमै आर्थिक मन्दीका कारण बजार हिस्सा गुमेपछि किसानलाई भुक्तानी गर्न नसकिएको महाप्रबन्धक झाले प्रस्टोक्ति छ ।


क्लिकमान्डु