राष्ट्र बैंकको खुद आयमा ११२ प्रतिशतको वृद्धि, सरकारी खातामा २५ अर्ब



काठमाडौं । नेपाल राष्ट्र बैंकको खुद आय ११२ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनअनुसार विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्यांकन लाभ-हानी समायोजनअघिको खुद आय अघिल्लो वर्षको तुलनामा ११२.८१ प्रतिशतले बढेर ६० अर्ब ४८ करोड २४ लाख रुपैयाँ कायम भएको हो ।

कात्तिक २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त नाफाबाट विभिन्न आवश्यक कोषहरुमा छुट्ट्याउनुपर्ने रकम विनियोजन गरी बाँकी बचत रकम २५ अर्ब रुपैयाँ सरकारलाई उपलब्ध गराउने निणर्य गरेको छ ।

राष्ट्र बैंकको खुद सञ्चालन आम्दानी ८६.५७ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले ६६ अर्ब ९२ करोड ७१ लाख ३३ हजार रुपैयाँ कमाइ गरेको छ ।

खुद सञ्चालन आयमा खुद ब्याज आम्दानीको हिस्सा ९३.४९ प्रतिशत छ भने विदेशी विनिमय खरिद बिक्रीबाट ३.६३ प्रतिशत आम्दानी गरेको छ । यसबाहेक अन्य आम्दानी २.८८ प्रतिशत छ ।

राष्ट्र बैंकको खुद ब्याज आम्दानी नै ८६.०९ प्रतिशतले बढेको छ । राष्ट्र बैंकले ६२ अर्ब ५७ करोड २५ लाख ४८ हजार आम्दानी गरेको छ भने विदेशी विनिमयबाट २ अर्ब ४३ करोड २६ लाख र अन्यबाट १ अर्ब ९२ करोड १९ लाख रुपैयाँ कमाएको छ ।


क्लिकमान्डु