आइएमई सबैभन्दा बढी आयकर तिर्ने रेमिट्यान्स कम्पनीका रुपमा सम्मानित



काठमाडौं । समग्र रेमिट्यान्स कम्पनीमध्ये आइएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ ।

राष्ट्रिय कर दिवस २०८० का अवसरमा बिहीबार काठमाडौंमा आन्तरिक राजस्व विभागद्वारा आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. प्रकाशशरण महतबाट आइएमई ग्रुपका प्रबन्ध निर्देशक र आइएमई लिमिटेडका संस्थापक तथा सञ्चालक हेमराज ढकालले उक्त सम्मान ग्रहण गरेका हुन् ।

आर्थिक वर्ष २०७८/७९ मा विभिन्न १६ विधामा सर्वाधिक आयकर तिर्ने कम्पनीहरूमध्ये  रेमिट्यान्सतर्फ आइएमई लिमिटेडले सबैभन्दा बढी आयकर बुझाउन सफल भएको थियो ।

सन् २००१ मा स्थापित आइमईले नेपालको समग्र रेमिट्यान्स क्षेत्रलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । आइएमईलाई बैंकिङ सञ्जालमार्फत विदेशी मुद्रा नेपाल भित्र्याएर औपचारिक अर्थतन्त्रको विकासमा उल्लेख्य योगदान गरेको मुख्य श्रेय जान्छ । यसैको सम्मान स्वरूप विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सम्मानहरूबाट आइएमई सम्मानित हुँदै आएको छ ।

साधारण सेयर निष्कासन गर्ने तयारी गरिरहेको आइएमई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रूपमा यसअघि पनि पटक-पटक सम्मानित हुँदै आएको छ ।


क्लिकमान्डु