सयपत्री फूल र माला आयात गर्न केन्द्रले दियो अनुमति, जिल्ला प्रशासनले लगायो रोक



काठमाडौं । तिहारमा संघीय सरकारअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले भारतबाट सयपत्री फूल र माला आयात गर्न इजाजत दिँदै गर्दा चितवनस्थित जिल्ला प्रशासन कार्यालय भने स्वदेशी किसानको पक्षमा उभिएको छ ।

तिहारमा भारतबाट वैध र अवैध रुपमा हुन लागेको फूल र माला आयात नियन्त्रण गर्ने र नियमन गर्ने निर्णय गरी चितवन प्रशासन संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयसहित केन्द्रको विरुद्धमा उभिएको हो ।

चितवन प्रशासनले स्वदेशमा गरिने फूल खेती, फूल उत्पादक कृषक तथा फूल व्यवसायलाई संरक्षण र प्रोत्साहन गर्ने उद्देश्यले बाहिरी मुलुकबाट फूल र माला आयात नगर्न बिहीबार सूचना जारी गरेको छ । सूचनाको अवज्ञा गर्नेमाथि प्रचलित कानुनअनुसार कारबही गर्नेसमेत सूचनामा उल्लेख छ ।

‘नेपालमा हुने पुष्प खेती, पुष्प कृषक र पुष्प व्यवसायलाई संरक्षण र प्रोत्साहन गर्न छिमेकी राष्ट्रबाट हुने वैध तथा अवैध आयात नियन्त्रण र नियमन गर्ने निर्णय गरिएको छ,’ सूचनामा भनिएको छ, ‘तसर्थ आउँदै गरेको चाडपर्व, सार्वजनिक सभा समारोह, मेला महोत्सव तथा अन्य कार्यक्रममा प्लास्टिकजन्य फूलगुच्छा, मालालगायतका सामग्रीको प्रयोग तथा बिक्री वितरणलाई पूर्णरुपमा नियन्त्रण गरी स्थानीयस्तरमा उत्पादित फूल तथा कृषि उपजको प्रयोग गर्नु/गराउनु हुन जिल्लास्थित सार्वजनिक निकाय, राजनीतिक दल, उद्योग व्यवसायी, नागरिक समाजलगायत जिल्लावासीमा अनुरोध छ ।’

स्वदेशी किसानले उत्पादन गरेको सयपत्री फूलको ३० लाख माला बजारमा ल्याउने तयारी भइरहँदा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले पछिल्लो एक साताभित्र २५ लाख सयपत्री फूलको माला आयात गर्न अनुमति दिएको छ ।

तिहारमा सरकारले ४ लाख ५० हजार किलो सयपत्रीको माला आयात गर्न अनुमति दिएको हो । एक किलोमा ५ वटा माला हुन्छ । ४ लाख ५० हजार किलोमा २५ लाख सयपत्री फूलको माला आउँछ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय र केन्द्रले स्वदेशी किसान र किसानले उत्पादन गरेको उत्पादनको पक्षपोषण गर्नुका साटो भारतबाट सयपत्री फूलको माला आयात गर्न कात्तिक १५ गते ९ वटा अनुमतिपत्र जारी गरेको थियो । एउटा अनुमतिपत्र बराबर ५० हजार किलो माला १२ करोड ५० लाख रुपैयाँमा आयात हुँदैछ ।

स्रोतका अनुसार आयात गर्न अनुमति दिइएको २५ लाखमध्ये बिहीबार बिहानसम्म १५ लाख माला आयात भइसकेको छ । बाँकी माला पनि आयात भइरहेको भन्सार विभागले जनाएको छ ।

विभाग स्रोतका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट आयात गर्न अनुमति दिइएको विषयमा मन्त्रालयबाट हालसम्म कुनै पनि प्रकारको नीतिगत जानकारी प्राप्त नभएकाले भारतबाट सयपत्री फूल र माला आयात भएर उपत्यकासहित देशभरका ठूला बजारमा भित्रिने क्रम जारी छ ।

नेपाली किसान र फूल व्यवसायीले भारतबाट वैध र अवैध रुपमा आयात भएको सयपत्री फूल र मालाका कारण आफूहरुको बजार खोसिएको गुनासो गरेका छन् ।

तिहारमा ३५ लाख सयपत्री फूल मालाको माग छ । यसमध्ये स्वदेशी किसान र व्यवसायीले ३० लाख माला तयार गरी बजारमा ल्याउन लागेको अवस्थामा किसानको संरक्षणको जिम्मेवारी बोकेको संघीय मन्त्रालयमातहतकै केन्द्रले किसानको हितविरुद्ध भारतबाट माला आयात गर्न अनुमति दिएको हो ।

केन्द्रको निर्णयविरुद्ध संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले समेत सयपत्री फूलको माला आयात रोक्ने सवालमा कुनै पहल गरेको छैन ।

चितवन प्रशासनले जस्तै अन्य केही जिल्ला प्रशासन कार्यालय र स्थानीय तहहरुले पनि केन्द्रको निर्णयविरुद्ध विदेशी फूल र माला आयात नगर्ने निर्ण गरेका छन् ।

एक साताअघि पनि वैध रुपमा भारतबाट १ करोड सयपत्री फूलको माला उपत्यकासहित पोखरा, चितवनलगायतका सहरमा भित्र्याइएको छ । ती माला काठमाडौं, पोखरा, चितवनलगायतका चिस्यान केन्द्रमा भण्डारण गरी राखिएका छन् ।


क्लिकमान्डु