आयात प्रोत्साहन गर्दै सरकार, २५ लाख सयपत्रीको माला आयात गर्न अनुमति, नेपाली फूलको बजार गुम्दै



काठमाडौं । नेपाली किसानबाट पर्याप्त परिमाणमा फूल उत्पादन भइरहेको अवस्थामा सरकारले २५ लाख सयपत्री फूलको माला आयात गर्न अनुमति दिएको छ ।

फूल आयातको लागि अनुमति दिने कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले पछिल्लो १ साताभित्र भारतबाट सयपत्री फूलको माला आयात गर्न कात्तिक १५ गते ९ वटा अनुमतिपत्र जारी गरेको हो । प्रति अनुमतिपत्र बराबर ५० हजार किलोका माला बजार मूल्यअनुसार १२ करोड ५० लाख रुपैयाँमा आयात हुन थालेको छ ।

यसरी हेर्दा तिहारको मुखमा सरकारले ४ लाख ५० हजार किलो सयपत्रीको माला आयात गर्न अनुमति दिएको हो । एक किलोमा ५ वटा माला हुन्छ । ४ लाख ५० हजार किलोमा झण्डै २५ लाख सयपत्री फूलको माला आउँछ ।

स्वदेशी किसानले तिहारमा ३० लाखभन्दा बढी संख्यामा सयपत्री फूलको माला बजारमा ल्याउने तयारी गरेका छन् । स्वदेशी किसानले सयपत्री फूलको माला बजारमा ल्याउने तयारी गरिरहँदा भारतबाट आयात हुने मालाले स्वदेशी मालाको बजार गुम्ने जोखिम बढेको छ ।

नेपाल फ्लोरिकल्चर एशोसिएसन (फ्यान) का अध्यक्ष मिनबहादुर तामाङले भारतबाट माला आयात भए नेपाली किसान पुष्प खेती र व्यवसायबाट पलायन हुने खतरा उत्पन्न भएको बताए ।

स्वदेशमै सयपत्री फूलको उत्पादन पर्याप्त परिमाणमा हुने भएकाले यो वर्ष पनि भारतबाट फूलसहित प्लास्टिकको मालाको आयात र विक्री वितरणमा प्रतिवन्ध लगाउनु पर्ने नेपाली किसानहरुले सरकारसँग माग गरेका थिए ।

यसका लागि फ्यानको अगुवाईमा नेपाली पुष्प किसान र व्यवसायीहरुले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र गृह मन्त्रालयका अधिकारीहरुसँग पटक पटक छलफल गरेका थिए ।

‘तर सरकारबाट कुनै पनि सुनुवाइ भएन । पटक पटक छलफल र ज्ञापन पत्र बुझाउँदा बुझाउँदै पनि सरकारले नै भारतबाट आयात गर्न अनुमति दिएको हो,’ तामाङले भने, ‘हाम्रो सरकार स्वदेशी किसानलाई प्रोत्साहन गर्नुभन्दा भारतीय आयातित पुष्प र किसानलाई प्रोत्साहन गर्ने नीति लियो । भारतबाट माला आयात भए नेपाली किसानको मालाको बजार गुम्ने र उनीहरु विस्थापित हुने खतरा उत्पन्न भएको छ । ’

बजारको मागभन्दा बढी माला सस्तो मूल्यमा आयात हुँदा नेपाली किसानले वर्ष दिन मेहनत गरी तिहारको लागि उत्पादन गरेको सयपत्री फूलको बजार खोस्न सरकार नै लागि परेको पुष्प किसानहरुले आरोप लगाएका छन् । स्वदेशी पुष्प खेती र व्यवसायबाट ४४ हजार सर्वसाधारणले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । ४८ जिल्लाका १ हजार १ सय १६ जना किसानले व्यवसायिक रुपमा सयपत्रीसहित सबै प्रकारका फूलको खेती गर्दैआएका छन् ।

नेपालमा वार्षिक ६ अर्बभन्दा बढीको फूलको व्यापार हुने गरेको छ ।

स्वदेशमा तिहारको समयमा ३५ लाख गोटा सयपत्री फूलको मालाको माग हुन्छ । यसमध्ये ८० प्रतिशतका दरले ३० लाख गोटाको हाराहारीमा नेपालकै किसानले उत्पादन गरी बजार धान्दै आएका छन् । सरकारले अपुग हुने ५ लाख गोटा मात्रै आयात गर्न अनुमति दिनुभन्दा २५ लाख गोटाको लागि आयात अनुमति दिँदा स्वदेशी किसानले उत्पादन गरेको ३० लाख गोटा मालाले बजार नपाउने अवस्था सिर्जना भएको एशोसिएसनले जनाएको छ ।

भारतबाट आयात हुने सयपत्री फूलको प्रतिमाला ५० देखि ५५ रुपैयाँमा बजारमा बिक्री हुन्छ भने नेपालमा उत्पादन भएको माला ६० देखि ७५ रुपैयाँमा बिक्री हुँदै आएको छ ।

५२ दिनमा ५ करोड ६९ लाख ८० हजार गोटा माला आयात

तिहारको मुखमा सयपत्री मालाको आयात वाहेक पछिल्लो डेढ महिना (भदौ ३१ गतेदेखि कात्तिक ८ गतेसम्म) को अवधिमा छुट्टै ५ करोड ६९ लाख ८० हजार गोटा सयपत्री फूलको माला नेपालमा आयात हुनुका साथै खपत भएको छ ।

आयात भएको यो फूल कुरीमा आएको छ । २८ लाख ४९ हजार कुरी (परिमाण) मा यो फूलको माला भारतबाट आयात भएको हो । एक कुरीमा २० वटा माला हुन्छ । एउटा मालाको ५० रुपैयाँको दरले हिसाव गर्ने हो भने २ अर्ब ८४ करोड ९० लाख रुपैयाँबराबरको भारतीय मालाले नेपालमा व्यापार गरेको छ ।

आयात र बिक्री बितरणमा प्रतिवन्ध तर बजारमा पाइन्छ प्लास्टिक माला

प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री बितरण र भण्डारणमा पूर्ण रुपमा प्रतिवन्ध लागे पनि राजधानीसहित देशभरका बजारमा यस्ता सामाग्री खुलेआम बिक्री बितरण भइरहेका छन् ।

वातावरण संरक्षण ऐन २०७६ को दफा १५ को उपदफा (६) अनुसार सरकारले गत वर्षको साउन १२ गते राजपत्रमा सूचना प्रकाशित गरी प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री बितरण र भण्डारणमा पूर्ण रुपमा प्रतिवन्ध लगाएको थियो ।

‘कानूनले प्रतिवन्ध गरेपनि देशभरका बजारमा अहिले पनि यस्ता वस्तुको बिक्री बितरण खुलेआम रुपमा भइरहेको छ,’ तामाङले भने, ‘सरकारको कमजोर अनुगमन नीतिका कारण तिहारको मुखमा प्लास्टिकजन्य पुष्प र गुच्छाको व्यापार निक्कै फस्टाएको छ।’


राजेश बर्मा