अर्थतन्त्रमा देखिएको समस्याको प्रभाव ठूला निर्माण कम्पनीमा, कुन कम्पनीले कति गरे आम्दानी ?



काठमाडौं । अर्थतन्त्रमा देखिएको संकुचनले अधिकांश क्षेत्र प्रभावित भएका छन् । बजारमा वस्तु तथा सेवाको माग निकै कम हुँदा व्यवसायीहरु मर्कामा परिरहेका छन् । समयमै सम्पन्न गरेको आयोजनाको रकम भुक्तानी नहुँदा आयोजनाको काम अगाडि बढ्न नसकेको व्यवसायीहरु बताउँदै आएका थिए ।

निर्माण व्यवसायीहरुले आयोजना अगाडि बढ्न नसक्दा समस्या परेको बताए पनि ठूला निर्माण व्यवसायीबाहेक अन्य निर्माण व्यवसायीहरुको आम्दानीमा कमी आएको पाइँदैन ।

ठूला एक/दुई वटा निर्माण कम्पनीबाहेक अन्य निर्माण कम्पनीहरुको आम्दानी उच्च भएको तथ्यांक छ । व्यवसायीहरुले डेढ वर्ष अघिदेखि नै समयमै काम सम्पन्न भएको रकम समयमै भुक्तानी नभएको, बैंक तथा वित्तीय संस्थाले बढाएको ब्याजदरका कारण निर्माण कार्य ठप्प भएको भन्दै विभिन्न चरणमा आन्दोलन गरेका थिए । साथै, अर्थतन्त्रमा देखिएको समस्याले समयमै सम्पन्न हुन नसकेको आयोजनाको म्याद थप हुनुपर्ने माग गर्दै उनीहरुले सरकारलाई दबाब दिएका थिए ।

व्यवसायीहरुले आयोजना अगाडि बढाउन नसकेको आफूहरुलाई मार परेको दाबी गरिरहे पनि उनीहरुको आम्दानी भने उच्च देखिएको छ । तर, ठूला आयोजनामा काम गर्दै आएका केही व्यवसायी कम्पनीको आम्दानीमा भने कमी आएको छ ।

देशका ठूला आयोजनामा काम गर्दै आएका कम्पनीहरुको आम्दानीमा अर्थतन्त्रमा देखिएको संकुचनले कारोबार बढ्न नसकेको उल्लेख छ । तर, ‘क’ वर्गकै निर्माण व्यवसायी भए पनि साना आयोजनामा काम गरिरहेका कम्पनीहरुको व्यापार भने उच्च छ । सरकारले समयमै भुक्तानी गर्न नसकेको अवस्थामा पनि केही कम्पनीहरुको कारोबार उच्च पाइएको हो ।

कुन निर्माण कम्पनीको अवस्था कस्तो ?

टुण्डी कन्स्ट्रक्सनः देसकै दोस्रो ठूलो निर्माण कम्पनी टुण्डी कन्स्ट्रक्सन प्रालिको आम्दानीमा कमी आएको छ । कम्पनीले वार्षिक ३ अर्ब बढी आम्दानी गर्दै आएकोमा गत वर्ष भने ३ अर्बभन्दा कम व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा २ अर्ब ८४ करोड २७ लाख रुपैयाँ (अपरिष्कृत) आम्दानी गरेको छ । कम्पनीले सन् २०२२ मा ३ अर्ब १२ करोड ६९ लाख रुपैयाँ । सन् २०२१ मा ३ अर्ब १३ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

त्यस्तै, कम्पनीले कोरोनाले उच्च प्रभाव परेको समयमा पनि २ अर्ब ४३ करोड ६१ लाख रुपैयाँको कारोबार गरेको थियो । साथै, सन् २०१९ मा ३ अर्ब २४ करोड ७४ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

देशका विभिन्न ठूला आयोजनामा काम गरिरहेका टुण्डी कम्पनीसँग हाल १८ अर्ब बराबरको ठेक्का रहेको छ । उक्त आयोजना भने पूरा हुन बाँकी छ । ऋषीप्रसाद सुवेदीको २८ प्रतिशत, लक्ष्मीदेवी सुवेदीको १२ प्रतिशत, सुशिल सुवेदी र सुमन सुवेदीको १८/१८ प्रतिशत र मन्जु सुवेदीको ६ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि १२ अर्ब ६५ करोड ६४ लाख रुपैयाँको रेटिङ गराएको छ ।

सगरमाथा ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनी प्रालिः क वर्गको निर्माण कम्पनी सगरमाथा ड्रिलिङ एण्ड कन्स्ट्रक्सन कम्पनी प्रालिको आम्दानीमा पनि उच्च प्रभाव पारेको देखिएको छ । कम्पनीले सन् २०२३ को ९ महिनाको अवधिमा ३२ करोड ३८ लाख रुपैयाँको मात्रै कारोबार गरेको छ । जबकी कम्पनीले सन् २०२२ मा ६१ करोड ९७ लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीको अझै तीन महिनाको विवरण बाँकी नै भएकाले आम्दानी भने बढ्ने देखिन्छ । त्यस्तै, सन् २०२१ मा ४९ करोड ८० लाख रुपैयाँ, सन् २०२० मा ४० करोड ६६ लाख रुपैयाँ र सन् २०१९ मा ३३ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले विशेषगरी खानेपानी आयोजनामा काम गर्दै आएको छ । कुमारप्रसाद गौतमको ५१ प्रतिशत र सागर गौतमको ४९ प्रतिशत हिस्सा रहेको कम्पनीले २ अर्ब १० करोड ४२ लाख रुपैयाँ ऋणको लागि रेटिङ गराएको छ ।

हिमालयन ब्यूल्डर्स एण्ड इन्जिनियर प्रालिः ‘क’ वर्गको निर्माण कम्पनी हिमालयन ब्यूल्डर्स एण्ड इन्जिनियर प्रालिको व्यापारमा पनि कमी देखिएको छ । निजी क्षेत्रका विभिन्न आयोजनामा काम गर्दै आएको कम्पनीले सन् २०२३ को ९ महिनाको अवधिमा १ अर्ब ७ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । सन् २०२२ मा १ अर्ब ६२ करोड रुपैयाँको कारोबार गरेको थियो। त्यस्तै, सन् २०२१ मा १ अर्ब ५३ करोड १० लाख रुपैयाँ, सन् २०२० मा १ अर्ब ४९ करोड ९० लाख रुपैयाँ र सन् २०१९ मा १ अर्ब ३२ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीअनुसार बजारमा देखिएको तरलता अभाव र अर्थतन्त्रको सुस्तताका कारणमा कारोबारमा कमी आएको जनाएको छ । जनकदत्त खनाल प्रबन्ध निर्देशक रहेको कम्पनीले १ अर्ब ६१ करोड रुपैयाँको ऋणको लागि रेटिङ गराएको छ ।

सारास ब्यूल्डर्स प्रालिः सन् २०१७ मा स्थापना भएको ‘सी’ वर्गको कन्स्ट्रक्सन कम्पनीको व्यापारमा पनि कमी आएको पाइएको छ । कमपनीले सन् २०२३ मा ५ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२२ मा ६ करोड ८७ लाख रुपैयाँ, सन् २०२१ मा ८ करोड २६ लाख रुपैयाँ, सन् २०२० मा ७ करोड ७४ लाख रुपैयाँ र सन् २०१९ मा ९ करोड २९ लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनी सार्वजनिक क्षेत्रको सडक, पुल र भवन निर्माणमा संलग्न छ । कम्पनीले स्थानीय तहको आयोजनामा जोइन्ट भेन्चरमा काम गर्दै आएको छ । रमेशकुमार कुँवर र विरेन्द्रकुमार कुँवरको ५०/५० प्रतिशत हिस्सा रहेको कम्पनीले ५७ करोड २० लाख रुपैयाँको रेटिङ गराएको छ । साथै, कम्पनीले अन्य विभिन्न आयोजनाको निर्माण कार्य भइरहेको जनाएको छ ।

सिनर्जी ब्यूल्डर्स प्रालिः अर्जुन भट्टराईको शत प्रतिशत स्वामित्व रहेको सिनर्जी ब्यूल्डर्स प्रालिको आम्दानी भने बढेको छ । ‘क’ वर्गको निर्माण कम्पनीले भवन निर्माण, सडक आदिमा काम गर्दै आएको कम्पनीले सन् २०२३ मा ५२ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२२ मा ५२ करोड २० लाख रुपैयाँ, सन् २०२१ मा ४२ करोड ७० लाख रुपैयाँ र सन् २०२० मा २६ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीअनुसार सन् २०२३ को जुलाईसम्ममा सार्वजनिक खरिद गरेकोमध्ये ७० प्रतिशत आयोजनाको काम भइरहेको छ । सन् १९९४ देखि निर्माण क्षेत्रमा काम गर्दै आएको कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि १ अर्ब ९८ करोड ४० लाख रुपैयाँको रेटिङ गराएको छ ।

धर्मा एस निर्माण सेवा प्रालिः सन् २०१५ मा काभ्रेपलाञ्चोकमा दर्ता भएको ‘क’ वर्गको निर्माण कम्पनीले एकै वर्षमा ४५ करोड रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२३ मा एकै वर्ष ४५ करोड रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले सन् २०२२ मा ३४ करोड ४० लाख रुपैयाँ र सन् २०२१ मा १५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । सडक, भवन, खानेपानी आयोजनामा काम गर्दै आएको कम्पनीले जोइन्ट भेन्चरमा काम गर्दै आएको छ ।

कम्पनीले सन् २०२३ मा ३.१६ प्रतिशतले खुद नाफा कमाएको छ । धर्मलाल तामाङ प्रबन्ध निर्देशक रहेको कम्पनीले दीर्घकालीन कर्जाका लागि ८० करोड रुपैयाँको रेटिङ गराएको छ ।

भेदालय कन्स्ट्रक्सन प्रालिः ‘डि’ वर्गको निर्माण कम्पनी भेदालय कन्स्ट्रक्सन प्रालिले सन् २०२३ को ९ महिनाको अवधिमै २७ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ । जुन हालसम्मकै उच्च हो । कम्पनीले सन् २०२२ मा २२ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । साथै, सन् २०२१ मा १ करोड ८० लाख रुपैयाँको व्यापार गरेको उल्लेख छ ।

सन् २०२१ मा स्थापना भएको कम्पनीमा जयराम अर्यालको स्वामित्व छ ।

कम्पनीसँग हाल ९० करोड ७० लाख रुपैयाँ बराबरको आयोजनामा काम गरिरहेको छ । जुन पूरा हुन बाँकी छ । त्यस्तै, कम्पनीले दीर्घकालीन र अल्पकालीन गरी १ अर्ब ५० करोड रुपैयाँको रेटिङ गराएको छ ।

सिम्रन कन्स्ट्रक्सनः कास्की जिल्लाको विभिन्न क्षेत्रमा सडक, पुल र भवनमा काम गर्दै आएको कम्पनीले एकै वर्ष ९ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा विभिन्न आयोजनामार्फत् ९ करोड ३० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले सन् २०२२ मा २ करोड २० लाख रुपैयाँ र सन् २०२१ मा ४ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो । ‘बी’ वर्गको कम्पनीले जोइन्ट भेन्चर्ससँगै एक्लै पनि विभिन्न आयोजनामा काम गर्दै आएको छ ।

कम्पनीसँग हाल ३२ करोड रुपैयाँको आयोजना छ । उक्त आयोजना कम्पनी आफ्नै र जोइन्ट भेन्चरमा रहेको उल्लेख छ । त्यस्तै, कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ३ करोड रुपैयाँको रेटिङ गराएको छ ।

साकुरा पावर कन्स्ट्रक्सन प्रालिः निर्माण क्षेत्र र हाइड्रो मेकानिकल कार्यमा संलग्न साकुरा पावर कन्स्ट्रक्सन प्रालिको व्यापार पनि सन् २०२३ मा बढेको छ । अर्थतन्त्रमा देखिएको समस्यामा कम्पनीले सन् २०२३ मा २५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२२ मा २३ करोड ६० लाख रुपैयाँ र सन् २०२१ मा ८ करोड २० लाख रुपैयाँको व्यापार गरेको छ । धादिङ बेनिघाटमा कार्यालय रहेको कम्पनीमा योगेन्द्रप्रसाद कंडेलको ५० प्रतिशत शेयर र बाँकी शेयर दिपेन्द्र पौडेल र भवानी कंडेलको छ ।

कम्पनीसँग अहिले ५९ करोड ४० लाख रुपैयाँको आयोजना बुक छ । उक्त आयोजनामा काम भइरहेको कम्पनीले जनाएको छ। त्यस्तै, कम्पनीले दीर्घकालीन र अल्पकालीन कर्जाको लागि ७३ करोड २४ लाख रुपैयाँको रेटिङ गराएको छ ।

अर्घाखाँची इन्जिनियस र ब्यूल्डर्स कम्पनीः अर्घाखाँची इन्जिनियर र क्यूल्डर्स कम्पनीले सन् २०२३ मा १५ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ । जबकी कम्पनीले सन् २०२२ मा ७ करोड ९० लाख रुपैयाँको मात्रै कारोबार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२१ मा १९ करोड रुपैयाँको कारोबार गरेको थियो ।

‘क’ वर्गको निर्माण कम्पनीले जोइन्ट भेन्चरका साथै एक्लै विभिन्न आयोजनामा काम गर्दै आएको छ । कम्पनीले सन् २०२३ मा २ करोड ७० लाख रुपैयाँ नाफा कमाएको छ । सन् २०२२ मा १ करोड ७० लाख रुपैयाँ नाफा कमाएको थियो ।

त्यस्तै, कम्पनीसँग हाल ७४ करोड २० लाख रुपैयाँको आयोजना छ । इन्जिनियर सागर भुसाल प्रबन्ध निर्देशक रहेको कम्पनीले १ अर्ब ऋण लिने भएको छ ।


अरिष्मा मोक्तान