रित्तो हुन छाड्यो काठमाडौं: पहिलेभन्दा भिडभाड कम, तर शून्य छैन चहलपहल
काठमाडौं । प्रायः दसैं भन्न साथ काठमाडौं रित्तो हुन्छ भनिन्छ । हुन पनि हन्थ्यो । आजभन्दा १५ वर्षअघिको समय हेर्ने हो भने दसैंको समयमा काठमाडौंका सडकमा गाडीहरुको चहलपहल पाउन मुस्किल थियो । बिजयादशमीको दिन टिका लगाएर मानिसहरु आवतजावत गरेतापनि नवमीलगायतका दिनमा भने सडक खाली हुन्थ्यो ।
तर, अहिले भने काठमाडौंको अवस्था फेरिएको छ । दसैंको समयमा काठमाडौंको अवस्थामा डेढ दशकअघि र अहिलेको अवस्थाले यो परिवर्तन देखाउँछ । काठमाडौंमा सडकहरु सुनसान त छन् । तर, चहलपहल भने पहिलेको जस्तै शून्य छैन । सडकमा सोमबार नवमीको दिनमा पनि सार्वजनिक यातायात देखि नीजि सवारीहरुको चहलपहल देखिएको छ । एकाध रुपमा सार्वजनिक सवारी साधन र नीजि सवारीहरु सडकमा गुडिरहेका छन् ।
डेढ दशकअघिको समय र अहिलेको समय तुलना गर्दा काठमाडौंको अवस्था निकै फेरिएको देखिन्छ । काठमाडौंमा मानिसको जनसंख्या र बसाईसराईमा आएको परिवर्तन, गाडीहरुको संख्यामा भएको बृद्धिजस्ता कुराहरुले दसैंको समयमा काठमाडौं पूर्ण रुपमा रित्तो हुन छाडेको हो ।
काठमाडौं रित्तो हुन छाड्नु र पातलै रुपमा भएपनि चहलपहल हुनुको कारण भने विविध छन् । प्रमुख रुपमा त सरकारले करिब डेढ दशकअघिबाट दसैंको बिदालाई भारी कटौती गरेको छ । अहिले सरकारी कार्यालयहरुलाई सिमित दिनहरुका लागि बिदा दिईन्छ । त्यस्तै विद्यालयदेखि शिक्षण संस्था, नीजि कार्यालयहरुमा पनि सिमित संख्यामा बिदाहरु दिने गरिन्छ । जसले गर्दा टाढा घर भएकाहरु दसैंको समयमा पनि उपत्यका छाडेका छैनन । यसले पनि दसैंमा चहलपहललाई केही पालतै भएपनि निरन्तर राखेको छ ।
त्यस्तै, पछिल्लो दशकमा काठमाडौंमा मान्छेको बसाईंसराईं उच्च भएको छ । सेवासुविधा, रोजगारी तथा देशका प्रमुख प्रशासनिक क्षेत्रहरु रहेको राजधानीको शहर भएका कारण पनि काठमाडौंमा मान्छेको बसाईंसराईं बढेको छ। यसले गर्दा पनि दसैंको समयमा मान्छेको उपस्थिति उत्तिकै मात्रामा बढाएको छ ।
यति मात्रै होईन, सडकहरु रित्तो नहुनुको कारण नीजि सवारी साधनको प्रयोगमा आएको बृद्धि पनि हो । प्रमुख रुपमा काठमाडौं भित्र नीजि सवारी साधनको प्रयोग बढ्दै गएको छ । सार्वजनिक सवारी साधनको उपलब्धता नभएतापनि नीजि सवारी साधनहरु चलाएरै पनि मान्छेहरु दसैंको समयमा काठमाडौंका सडकमा निस्किएका छन् । यसले पनि सडकलाई पूर्ण रुपमा सुनसान बनाउन सकेको छैन । सडक सुनसान त छ, तर रित्तो छैन । सवारीसाधनहरुको आवातजावतदेखि मान्छेको चहलपहल पनि भईरहेको छ ।