एनआरएनए निर्वाचन: सिस्टम ह्याक भएको भन्दै साइबर क्राइममा उजुरी, परराष्ट्रले गर्ला त खारेज ?



काठमाडौं । सिष्टम ह्याक गरी बद्री केसी गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा निर्वाचित भएको भन्दै विवाद चुलिएको छ ।

११औं महाधिवेशनबाट डा बद्री केसी निर्वाचित भएको घोषणा भएपछिको तनाब बढेको हो । पराजित उम्मेदवारहरुले सिस्टम ह्याकको आरोप लगाउँदै मतपरिणाम अस्वीकारको घोषणा गरेका छन् ।

अध्यक्षका अन्य दुई उम्मेदवार आरके शर्मा र महेश श्रेष्ठले अनलाइन भोटिङ प्रणाली ह्याक गरेर चुनावमा धाँधली गरिएको भन्दै परिणाम अस्वीकार गर्ने घोषणा गरेका हुन् ।

निर्वाचन समितिले निर्वाचनमा बद्री केसी १३७८ मत ल्याएर विजयी भएको घोषणा गरेको छ । अन्य दुई प्रतिस्पर्धीहरु आरके शर्माले १२८१ र महेश श्रेष्ठले १२२५ मत प्राप्त गरेका छन् । डा. केसी एमालेनिकट हुन् ।

काठमाडौंबाट झरेको मत शून्य देखिएको भन्दै उम्मेदवारहरुले मत परिणाममाथि शंका गरेको जनाइएको छ । काठमाडौंबाट ८०० भन्दा धेरैले मत खसालेका थिए । उम्मेदवार आफैंले आफैंलाई भोट नहाल्ने अवस्था हुन नसक्ने भन्दै घोषणा गरिएको मत परिणामप्रति पराजित उम्मेदवारहरुले आक्रोश व्यक्त गरेका हुन् ।

महासचिवका उम्मेदवार बुद्धि सुवेदीले निर्वाचन अपेक्षा गरेअनुसारको नभएको र भेरो भोटिङ अनलाइन कम्पनी रसियन कम्पनी भएको र अस्ट्रेलियामा दर्ता रहेको तर यो कम्पनीले ह्याक गरेर नतिजा निकाल्ने भएकाले विश्वास नलागेको बताए ।

उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको मत नेपालबाट खसेको शून्य मत रहेकाले पनि प्रमाण स्वतःसिद्ध हुने उनको भनाइ छ ।

साइबर क्राइममा समेत यस विषयमा निवेदन हालेको उनले जानकारी दिए ।

परराष्ट्र मन्त्रालयले निर्वाचन प्रक्रियालाई स्थगत गर्नु र मान्यता नदिनु भन्ने परिपत्र गरिसकेको उनको दाबी छ । तर निर्वाचित पक्षले भने पराजित पक्षले मतको सम्मान गर्न नसकेको आरोप लगाएको छ । उक्त पक्षले पुन: मतदान भए पनि आफूहरुलाई स्वीकार हुने बताएको छ ।


क्लिकमान्डु