धितोपत्र बोर्डले आफ्नो कमिसन घटाएर सेयर लगानीकर्तालाई दियो राहत
काठमाडौं । नेपाल धितोपत्र बोर्डले आफुले लिँदै आएको कमिसन घटाएर लगानीकर्तालाई राहत दिएको छ । बोर्डले बुधबार कमिसन १० प्रतिशतले घटाएको हो ।
लगानीकर्ताले ब्रोकरलाई दिने कमिसन १० प्रतिशतले घटेको छ भने ब्रोकरले सेबोनलाई दिने शुल्क १० प्रतिशतले घटाएको बोर्ड स्रोतले जनाएको छ । लगानीकर्ताले सेबोनलाई दिने कमिसन पनि ७ प्रतिशतले घटेको छ ।
बोर्डले यसअघि २०७७ पुस १० गते संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्रीमा लिने ब्रोकर कमिसन घटाएर माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत कायम गरेको थियो ।
हाल ५० हजार रुपैयाँसम्मको कारोबारमा ०.४० प्रतिशत, ५० हजारदेखि ५ लाखसम्मको कारोबारमा ०.३७ प्रतिशत, ५ लाख भन्दामाथि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत, २० लाख भन्दामाथि १ करोडसम्मको कारोबारमा ०.३० प्रतिशत र १ करोड भन्दामाथि जतिसुकैको कारोबारमा ०.२७ प्रतिशत ब्रोकर कमिसन लाग्दै आएको छ ।
लगानीकर्ताले तिरेको कमिसनबाट ब्रोकरलाई २० प्रतिशत र त्यसैबाट सिडिएससीलाई २५ प्रतिशत कमिसन जाने गरेको छ । यस्तै अहिले सेयर लगानीकर्ताले धितोपत्र बोर्डलाई छुट्टै ०.०१५ प्रतिशत कमिसन तिर्ने गरेका छन् ।