गैरआवासीय नेपालीसँग सहकार्य गर्न निजी क्षेत्र तयार छ: महासंघ अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र गैरआवासीय नेपालीसँग सहकार्य गरेर काम गर्न तयार रहेको बताएका छन् ।

अन्तर्राष्ट्रिय बागलुङ समाजले सोमबार राजधानीमा आयोजना गरेको बागलुङको विकास र समृद्धिमा विदेशमा रहेका बागलुङेको भूमिका विषयक अन्तर्क्रियामा अध्यक्ष ढकालले गैरआवासीय नेपालीले विदेशमा सिकेको सीप र पुँजीलाई स्वदेशमा परिचालन गर्नुपर्ने बताए ।

‘उद्यमशीलता  विकास गर्न लगानी आवश्यक छ,’ उनले भने, ‘विदेशमा रहेका नेपालीसँग सहकार्य गरेर काम गर्न निजी क्षेत्र तयार छ ।’ गैरआवासीय नेपालीले विभिन्न परियोजनामा लगानी गरेको स्मरण गर्दै उनले मुलुकका लागि थप लगानी भित्र्याउन आग्रह गरे ।

नेपालको निजी क्षेत्रको नेतृत्वमा रहेका ढकालले आफ्नो गृह जिल्ला बागलुङको विकासमा पनि सहकार्य गर्न तयार रहेको बताए । आफू बागलुङको विकट गाउँमा जन्मिएर अहिलेको अवस्थासम्म आएको जानकारी गराउँदै उनले बागलुङेहरुले विदेशमा गएर सफलता प्राप्त गरेको बताए ।

‘विश्वका विभिन्न मुलुकमा गएर बागलुङेहरु स्थापित भएका छन्,’ ढकालले भने, ‘अब गृहजिल्लामा पनि लगानी गर्न आवश्यक छ ।’


क्लिकमान्डु