ऐतिहासिक उचाइमा अमेरिकी डलरको मूल्य



काठमाडौं । अमेरिकी डलरको मूल्यले ऐतिहासिक उचाइ कायम गरेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज १ अमेरिकी डलरको बिक्री दर १३३ रुपैयाँ ४४ पैसा पुगेको छ । यसअघि भदौ १ गते डलरको मूल्य सर्वाधिक १३३ रुपैयाँ ३४ पैसा थियो। खरिद दर भने १३२ रुपैयाँ ८४ पैसा छ ।

भदौ १ पछि ६ गतेसम्म लगातार डलर १३३ रुपैयाँमाथि रह्यो । भदौ ७ गते भदौ १९ सम्म १३३ रुपैयाँभन्दा तल रहेको डलरको मूल्य भदौ २० गते १३३ रुपैयाँ १७ पैसा पुगेको थियो । भदौ २१ गते १३३ रुपैयाँ ३२ पैसा कायम भएको डलर आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

भारतीय रुपैयाँ कमजोर बन्दै जाँदा नेपाली रुपैयाँ सस्तिएको हो । आज एक डलर बराबर ८३.०२७ भारतीय रुपैयाँ कायम भएको छ । ई महिनाअघि असार २५ गते एक डलर बराबर ८२.५२५ भारतीय रुपैयाँ थियो । अहिले भारतीय केन्द्रीय बैंक मूल्यवृद्धि बढ्ने प्रक्षेपण गरिरहेको छ । भारतमा आयात पनि बढेको छ । आयात बढ्दा विदेशी मुद्रा सञ्चिति घट्छ । परिणामतः डलरको माग बढेर भारु कमजोर भएको हो । नेपाली र भारतीय मुद्राबीच स्थिर विनियम दर छ अर्थात् १०० भारतीय रुपैयाँका लागि १६० नेपाली रुपैयाँ तिर्नुपर्छ ।

डलरको मूल्य बढ्दा सामान आयात गर्न महँगो पर्ने हुन्छ । निर्यात उच्च दरमा बढाउन सक्ने हो भने डलरको मूल्य बढ्दा फाइदा हुन्छ । तर, उत्पादन बढ्न नसक्दा आयातमा चाप बढ्दो छ ।

आर्थिक वर्ष २०७९/८० मा नेपालमा १६ खर्ब ११ अर्बको आयात भएको छ भने १ खर्ब ५७ अर्ब रुपैयाँको मात्र निर्यात भएको छ । निर्यात कमजोर भएका कारण डलरको मूल्य बढ्दा नेपाललाई बढी नोक्सानी हुन्छ ।

नेपाली अधिकांश उद्योग पनि विदेशी कच्चापदार्थमा आधारित छन् । विदेशबाटै कच्चा पदार्थ ल्याएर सामान उत्पादन गर्नुपर्दा उत्पादित सामानको मूल्य बढी पर्छ । त्यसको भार उपभोक्तामा पर्नेछ । डलर बढ्दा विदेशी ऋणको साँवाब्याज भुक्तानीमा पनि नेपाली रुपैयाँ बढी खर्च हुन्छ । डलर बढ्दा रेमिट्यान्स आप्रवाह भने बढ्नेछ ।


क्लिकमान्डु