आयातलाई बढावा दिने सरकारको नीतिले कर्जा दुरुपयोग भएको हो: अग्रवाल



काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले आयातलाई बढावा दिने सरकारको नीतिले कर्जा दुरुपयोग भएको बताएका छन् ।

अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजनाको शुभारम्भ कार्यक्रममा परिसंघ अध्यक्ष अग्रवालले ९० प्रतिशत कर्जा निजी क्षेत्रमा गएको र त्यसको दुरुपयोग भएको आरोप लागेको भन्दै त्यसमा आफूहरुको असहमति रहेको बताए ।

सरकारको नीति नै आयातलाई बढावा दिने भएकाले यस्तो अवस्था आएको उनले बताए । ‘सरकारको नीति राजश्व मुखी हुनु भएन् । नीति उत्पादनमुखी हुनुपर्यो । उत्पादनमुखी हुँदा कर्जा उत्पादनशील क्षेत्रमा बढ्छ । दीगो हुन्छ । सरकारको राजश्व पनि दीगो हुन्छ । आयात क्षणिक हो भन्ने कुरा राज्यले बुझ्नु पर्यो,’ उनले भने ।

मुलुकको अर्थतन्त्र मन्दीमा रहेको र निजी क्षेत्रको मनोबल घट्दो रहेको उनले बताए । ब्याज दर उच्च हुँदा लगानी थप्ने वा नयाँ लगानीका योजना अगाडि बढ्न नसकेको उनले बताए ।

यसको असर सरकारको राजस्वमा परिरहेको भन्दै उनले भने, ‘यस्तै अवस्था रहे रोजगारीमा पर्ने जोखिम छ । त्यसैले अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने अति आवश्यक छ । चालु आर्थिक वर्षका लागि सार्वजनिक भएको मौद्रिक नीतिले अर्थतन्त्रलाई चलायमान गर्न सक्ने देखिँदैन् ।’

मुलुकको विद्यमान चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई निकास दिन सक्ने भनेको बजेटको प्रभावकारी कार्यान्वयन भएको उनले बताए । प्रभावकारी बजेट कार्यान्वयनबाट पूँजीगत खर्च बढ्छ, त्यसले अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्ने उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंक पनि आफ्नो मौद्रिक उपकरणहरुको माध्यमबाट अर्थतन्त्र चलायमान बनाउन लचक बन्न आवश्यक रहेको उनले बताए ।

अनौपचारिक क्षेत्रमा रहेका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिलाई समेत सामाजिक सुरक्षा कोषमा समेट्ने गरी सामाजिक सुरक्षा योजना शुभारम्भ गरेकोमा उनले सरकारलाई धन्यवाद दिए ।


क्लिकमान्डु